प्रणयमग्न वातावरण

सोमबार, ३१ साउन २०७३, ०९ : ४९ भर्तृहरि , Kathmandu
प्रणयमग्न वातावरण

चुन पोतेर सेतो भएजस्तै निर्मल किरणद्वारा प्रकाशमान् भएका चन्द्रमा, प्रियतमा सुन्दर मुख र अत्यन्त सुगन्ध आउने चन्दनचूर्ण आदि देख्नासाथै मनलाई प्रसन्न पार्ने फूलका माला यी सबै चिजहरूले केवल प्रेमीजनको मनलाई हलचल पारिदिन्छन् । वैरागीहरूको मन भने यी चिजबाट हलचल हुँदैन । अत्यन्त तीव्र रूपले कामेच्छालाई बढाउने, मालती फूलहरू ढकमक्क फुल्दा चारैतिर सुवास फैलिएको, कालो–कालो बादलले ढाकिरहेको अथवा अग्ला र पुष्ट स्तन भएकी बैँसालु युवतीको रूप लिएको यो वर्ष ऋतुले कसको मनलाई हर्षित पारेको छैन र ? वर्षायाममा सबैको कामेच्छा जागेर आउँछ र सबै मानिस खुशी रहन्छन् ।
बादलले ढाकिरहेको आकाश, कोमल घाँसहरू उम्रिरहेको जमिन, नयाँ नयाँ कदम फूलको बासनाले सुगन्धित तुल्याइएको र हावा लागिरहेको एवं मयुरको मिठो बोली गुन्जिरहने बगैंचाले सुखी दुःखी सबैखाले प्राणीलाई रतिक्रीडातर्फ उत्कण्ठित तुल्याउँछन् ।
आकाशभरि टम्म घना बादल लागेको अनि चारै दिशालाई बादलै बादलले ढाकिरहेको देखिन्छ । पानी दर्कने आशा राखिरहेका र नाच्नका लागि उल्लासपूर्ण रूपले तम्सिरहेका मयुरले खचाखच भरिएका पहाड देखिन्छन् । जमिन पनि भर्खरै टुसाएका घाँसले स्वच्छ मनोरम देखिन्छ । यस्तो स्थितिमा बटुवाले कता कहाँ के हेर्ने हो ? किनभने, बाटोमा देखिएका यी सबै वस्तुले कामोद्दीपन जगाउँदै उसलाई सताइरहन्छन् ।
वर्षा ऋतुका रात अँध्यारा हुन्छन् । कामोद्दीपनले गर्दा आफ्नो प्रेमीसँग स्वच्छन्द भई रमण गर्न सुन्दरीहरू अति नै इच्छुक हुन्छन् । चुक घोप्टेको जस्तो अँधेरो रातको समयमा बाक्लो गरेर कालो बादलले आकाश ढाकिएर गड्याङगुडुङ गर्दै मेघ गर्जनको आवाजसहित अविरल रूपले पानी परिरहेको बेलामा पनि सुन्दरीहरू प्रेमीको साथ सहवासको आनन्द लिन पैदल हिँड्छन् । हिँडिरहेको बेला अचानक सुनजस्तो पहेँलो रङको बिजुली चम्कन्छ । त्यसको प्रकाशले उज्यालो भई सबै स्पष्ट देखिन्छ । बिजुली चम्केको उज्यालोले प्रेमीको घरतर्फ जाने बाटो सजिलैसँग देख्न सकेको हुनाले सुन्दरीहरू हर्षित हुन्छन् । तर आफू लुकीछिपीकन प्रेमीकहाँ जान लागेको कुरा आफूलाई चिन्ने अरू मानिसले थाहा पाएकाले आफ्नो पोल खुल्छ कि भन्ने चिन्ताले उनीहरूको मनमा भय पनि पैदा हुने गर्छ ।
 

Leave A Comment