जेएनयुको घटनामा चित्त दुख्ने बौद्धिकले नदेखेको त्रिचन्द्रको घटना

बिहिबार, २४ पुष २०७६, ०६ : ५१ प्रजु पन्त
जेएनयुको घटनामा चित्त दुख्ने बौद्धिकले नदेखेको त्रिचन्द्रको घटना

भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकावधारी प्रवेश गरेर शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीलाई कुटेपछि भारतका विद्यार्थी मात्रै हैन नेपालका पूर्व प्रधानमन्त्रीदेखि प्रबुद्ध वर्गसमेत आन्दोलित देखिए । 

सामाजिक सञ्जाल जेएनयुको घटनाको निन्दाले भरियो । बौद्धिक वर्ग माइतिघरमा भेला भएर भारतीय सत्ता निरंकुशतातर्फ अगाडि बढेको भन्दै घटनाको निन्दा गरे । भेलामा सहभागीहरुले ‘दमनले प्रजातन्त्रलाई गिज्याइरहेछ, हामी जेएनयु सँगै छौँ, हामी अहितवादको विपक्षमा छौँ’ भन्ने नारा लेखिएको पम्पप्लेट बोकेका थिए । 

शैक्षिक संस्थाभित्र पढाउने प्राध्यापक, पढ्ने विद्यार्थी नै असुरक्षित हुनु निन्दनीय र घृणित काम हो । यस्ता घटना जहाँ भए पनि विरोध गर्नैपर्छ । जो जो माइतिरघर पुगेरै विरोध गरे, अनि जो माइतिघर नपुगे पनि सामाजिक सञ्जालमार्फत जेएनयुका विद्यार्थीको पक्षमा उभिए राम्रो गरे ।

यो घटनाले भारतमा विद्यार्थीहरु आन्दोलित छन् । जेएनयुका विद्यार्थीले सत्ताधारी दल भारतीय जनता पार्टी निकट विद्यार्थी संगठनका नेताहरुको संलग्नतामा घटना भएको दाबी गरिरहेका छन् । तर मुखमा मास्क लगाएर आएका उनीहरु को थिए खुलेको छैन ।
०००
नेपालको पुरानो विश्वविद्यालयमध्येकै एक त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपाने मंसिर ९ मा जेएनयुमा कुटिएझँै कुटिए । कुटाइ खानुको कारण शुल्क थियो । शुल्क बढाउने तयारी गरेको भन्दै त्रिचन्द्रकै केही विद्यार्थी नेताले उनलाई लछारपछार पारे । घाइते हुने गरी कुटे । उनी उपचारका लागि अस्पतालमा हुँदा कालोमोसो दलेर जुत्ताको माला लगाएको उनको तस्बिरसहितको ब्यानर क्याम्पस परिसरमा झुण्डिएको थियो । कुटपिटबाट घाइते भएका न्यौपाने उपचारपछि घरमा आराम गरिरहेका छन् । उनी क्याम्पस आएका छैनन् ।

जेएनयुमा कुटपिट गर्ने को थिए भन्ने अन्योलझँै न्यौपाने कुटिएको घटनामा अन्योल छैन । उनलाई क्याम्पस हाताभित्र लछारपछार पार्दै कुटेको दृश्य क्याम्पसकै क्लोज सर्किट टेलिभिजनमा कैद भएको थियो । जुन फुटेज शुक्रवारसँग पनि सुरक्षित छ ।

उनलाई कुट्नेहरु सत्ताधारी दल नेकपाको विद्यार्थी संगठन अखिलमा आबद्ध थिए । त्रिचन्द्रका इकाइ संयोजक गोविन्द थपलिया, अखिलका नेता मनराज थापा ५० जनाको समूहले कुटेकोमा थपलिया र थापा पक्राउ त परे तर अभद्र व्यवहारको फितलो अभियोगमा धरौटी तिरेर मुक्त भए । अन्यको त खोजी नै भएन । धरौटीमा छुटेका विद्यार्थी नेता अहिले पनि शानले त्रिचन्द्रमै हिँडिरहेका छन् । 

उनीहरुलाई संगठनले सो घटनाबारे सामान्य सोध्ने कष्टसमेत गरेको छैन अहिलेसम्म । प्राध्यापकलाई गुण्डाशैलीमा कुट्ने विद्यार्थी नेताहरु आबद्ध संगठनका प्रमुख ऐन महर हाकाहाकी भन्छन्, ‘कारबाही हुन्न ।’ सायद आफ्नो पृष्ठभूमिका कारण होला शुक्रवारसँगको कुराकानीमा उनी विद्यार्थी नेताको आवरणमा गुण्डागर्दी गर्ने विद्यार्थी नेताको संरक्षणमा उत्रिए ।

क्याम्पस प्रमुख न्यौपाने भने क्याम्पस कसरी जाने त्रासमा देखिए ।
बौद्धिक वर्गको दोहारो चाला

जेएनयुमा भएको घटना जति निन्दनीय हो त्रिचन्द्रमा भएको घटना पनि उत्तिकै निन्दनीय हो । जेएनयुमाझ त्रिचन्द्रमा पनि सत्ताको दम्भमा एक प्राध्यापक कुटिएका थिए विना कारण । तर न्यौपाने कुटिँदा मौन रहेकाहरुको चित्त जेएनयुको घटनामा कुँडियो । यता वास्तै भएन ।

पूर्व प्रधानमन्त्री या बौद्धिक वर्गको त कुरै छाडौं सो घटनाबारे नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय, प्रमुख प्रतिपक्षी दलको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कुनै नेता बोलेनन् । न्यौपानेले न न्याय पाए न कसैको साथ र सहयोग ।


‘अखिलले कारबाही गर्दैन’ 

ऐन महर 
अखिल संयोजक 
त्रिचन्द्रका क्याम्पस प्रमुखलाई अखिलका विद्यार्थीले कुटेका थिए । अखिलले ती विद्यार्थीलाई कारबाही ग¥यो कि गरेन ?
पहिलो कुरा त अखिलका विद्यार्थीले कुटपिट गर्दैनन्, गरेका होइनन् ।

सिसिटिभी फुटेज हेर्दा अखिलको झण्डा देखिन्छ । पक्राउ परेर धरौटीमा छुटेका तपाईंकै संगठन आबद्ध हुन् । अनि कसरी हैन भन्न सक्नुहुन्छ ?
उहाँहरुलाई प्रहरीले समात्यो । अहिले पनि मुद्दा लडिरहनुभएको छ । क्याम्पस प्रमुखले अखिलका विद्यार्थीलाई आरोप लगाए । इकाइ अध्यक्षले जिम्मेवार भएर घटनाको जिम्मा लिनुभयो । कानुनबमोजिम रिहा हुनुभयो । त्यो त कानुनबमोजिम कारबाही गरेको हो नि । १५ हजार धरौटीमा रिहा गरेको हो नि । 

अखिलको संयोजक हुनुहुन्छ, घटना नै भएको छैन भन्नुभयो । सिसिटिभीको फुटेजको कुरा गरेपछि मात्र स्विकार्नुभयो । क्याम्पस प्रमुखलाई कुट्ने विद्यार्थीलाई संयोजकको हैसियतले कारबाही गर्नु पर्दैन ?
अखिलको नेतालाई कारबाही गर्ने हटाउने भन्दा पनि क्याम्पस चिफलाई हटाउनुपर्ने हो । उहाँले विद्यार्थी संगठनसँग सल्लाह नगरिकन ६ हजार शुल्कलाई १४ हजार बनाउने निर्णय गर्नुभयो  । क्याम्पसलाई  लुट्ने ठाउँ बनाउन पाइन्छ ? क्याम्पस चिफलाई कुट्ने नियतले हैन । आन्दोलन गर्दा घ्याच्च घुच्च हुन्छ । 

सिसिटिभी फुटेज हेर्दा बकाइदा अखिलका झण्डा बोकेकाहरुले लछार्दै पछार्दै क्याम्पस प्रमुखलाई कुटेको देखिन्छ । त्यो घच्याकघुचुक मात्र हो ?
त्यसरी बुझ्न भएन । जिल्ला  प्रशासन कार्यालयलाई सोध्नु न के–के भएको हो भन्ने  कुरा त । 
त्यो घटना भइसकेपछि प्रहरीले पक्राउ गर्यो । कानुनबमोजिम कारबाही गरोस् । पक्राउ गर्न पाइँदैन भनेर मैले त भनेको छैन नि । आफ्नो मान्छे पक्राउ गर्दा नेविसंघ, तरुण दलले विज्ञप्ति निकाले पक्रनै पाइँदैन भनेझँै हामीले भनेको त छैन नि । 

विपक्षी पार्टीले आन्दोलन गर्ने सन्दर्भमा सरकार प्रमुखलाई कुट्यो भने यही जवाफ दिने ?
तपाईंले कुरा बुझ्नु भएन । कानुनबमोजिम कारबाही होस् । भनेकै छौँ नि । 

गैर कानुनी काम गर्नेलाई तपार्इंको संगठनले कारबाही गर्छ कि संरक्षण त्यो भन्नु न ?
ती त्रुटिहरु भएका छन् भने त प्रहरीले कारबाही गर्छ नि ।

प्रहरीले पक्राउ गरेर धरौटीमा छुटे । अब तपाईको संगठनले गर्छ कि गर्दैन ?
आन्दोलनमा कहिलेकाहीँ तलमाथि हुन्छ । साना–तिना कमीकमजोरी हुन्छन् । पहिला माओवादीको नाममा धेरै मान्छे मरे । अहिले कारबाही गर्छु भनेर हुन्छ ।

भनेपछि अहिलेको अवस्था माओवादीको सशस्त्र द्वन्द्वको समय जस्तै हो ?
होइन । आन्दोलन गर्नुभयो । तपाईंको रुचि के हो म बुझ्दिन । बंगाएर लेख्न पर्छ भन्ने हो भने म बुझ्दिन । कुरा सोझै छ । परिणाम मात्रै हेर्न भएन । विद्यार्थी संगठनसँग कुनै पनि सल्लाह नगरिकन एकैपटक ६ हजारबाट भर्ना फि १४ हजार बनाउनुभयो । त्यो विषयमा पटक–पटक क्याम्पस चिफलाई भन्दा पनि नमानेपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । आन्दोलनको विभिन्न चरणहरु हुन्छन् । अलि कडा रुपमा प्रस्तुत हुँदा  क्याम्पस चिफलाई क्याम्पसबाट बहिस्कार गरेका हुन् । 

केही कुरा चित्त बुझेन भने कुट्ने नै हो त ?
पुलिसले त समात्यो । गोविन्द थपलियाले कुटेको हैन । उनी त नेतृत्वको हिसाबले जिम्मेवारी लिएका हुन् । 

विद्यार्थी संगठनमा लाग्दैमा कुट्न पाइन्छ ? 
पाइँदैन । कुरा छोट्याउनुस् म मिटिङमा छु । 

क्याम्पस प्रमुख कुट्नेलाई अखिलले कारबाही गर्छ कि गर्दैन ?
अहिले हुँदैन । भोलि कानुनले कारबाही गरेपछि मात्रै संगठनले कारबाही गर्छ । उनीहरु विद्यार्थीको हकहितका लागि लडेका हुन् ।

Leave A Comment