न्वारन गर्ने गुरुले नै नाम बिगारिदिए !

आइतबार, ३० साउन २०७३, ०९ : ५४ डा. बलदेव शर्मा अधिकारी , Kathmandu
न्वारन गर्ने गुरुले नै नाम बिगारिदिए !

सामान्यतया व्यक्तिवाचक नाम सम्बन्धित व्यक्तिले जस्तो राख्न चाहन्छ, त्यस्तै लेख्ने गरिन्छ । देवताका गुरु बृहस्पतिले संसारका मानिसलाई मन पर्ने बोली अर्थात् ‘चारु वाक्’ बोलिदिए । कालान्तरमा उनको त्यो बोली नास्तिक दर्शनका रूपमा ‘चार्वाक दर्शन’ भनियो भन्ने किंवदन्ती पाइन्छ । ‘चारु वाक्’ शब्द नै अपभ्रंशवश ‘चार्वाक’ हुन पुग्यो । कालान्तरमा त्यो शब्द सर्वस्वीकार्य पनि भयो । राजर्षिबाट देवर्षि हुन पुगेका कौशिक अर्थात् हाम्रै देशको कोशीक्षेत्रका महर्षि संस्कृत भाषाका धुरन्धर थिए, तर पनि उनले आफ्नो नाम ‘विश्वामित्र’ चलाए । विश्वामित्रको अर्थ विश्व+अमित्र=विश्वामित्र हुन्छ । सम्भवतः उनी आफूलाई विश्वका अमित्र नै मान्थे । संस्कृतका व्याकरण–शिरोमणि पाणिनिले विश्वामित्रलाई विश्वका अमित्र भन्न चाहेनन् । पाणिनिले आफ्ना सिद्धान्तलाई थाती राखेर ‘विश्वामित्र’ शब्दका लागि एउटा छुट्टै सूत्र बनाइदिए ।
    नेपाली भाषामा राखिएका नाम हेर्ने हो भने पाणिनिहरूलाई सूत्र बनाउँदा–बनाउँदै थला पर्नुपर्ने अवस्था छ । कतिवटा नामका लागि सूत्र बनाउने ? मेरै एक जना शालीन र आज्ञाकारी शिष्यको नाम अनिरुद्र सिलवाल राखिएको रहेछ । ‘अनिरुद्र’सँग न त रुद्रको साइनो छ, न त अनिकै । उनको नाम ‘अनिरुद्ध’ हुनुपर्ने थियो । अ+निरुद्ध= अनिरुद्ध । निरुद्ध शब्दको अर्थ रोकिएको भन्ने हुन्छ भने ‘अनिरुद्ध’को अर्थ चाहिँ नरोकिएको । भगवान् श्रीकृष्णका चतुर्थ व्यूह तथा नातिका रूपमा अवतरित रूपलाई अनिरुद्ध भनिएको हो । नाम जुराउनेको उद्देश्य पनि यही हो, विद्यालयका गुरुले बाठा पल्टिएर ‘अनिरुद्र’ बनाइदिएछन् । आँखा नदेख्ने नेत्रलाल, कान नसुन्ने कर्णकान्त, निरक्षर सरस्वती, निर्धन लक्ष्मी इत्यादि नामको लेखाजोखा गरेर साध्य छैन । आदरणीय साहित्यकार तथा राजनीतिज्ञ ‘प्रदिप नेपाल’को नाम ‘प्रदीप नेपाल’ हुनुपथ्र्यो । उहाँकै दलमा ‘प्रदीप ज्ञवाली’ दृष्टान्त हुनुहुन्छ । म एक दिन एउटा संवैधानिक निकायको कार्यालयमा पुगेँ । हृदय चुँडियो ।
     वरिष्ठ अधिकृतमध्ये एकजनाको नाम ‘चुरामणि’ राखिएको रहेछ । उहाँको नाम पक्कै पनि चूडामणि हुनुपर्छ । नजिकै अर्का एक जनाको नाम ‘सालिक राम’ लेखिएको देखेँ । उहाँको नाम ‘शालिग्राम’ हुनुपर्छ । नेपालको गण्डकक्षेत्रमा भगवान् विष्णु शिलाका रूपमा रहनुभएको छ । जालन्धरकी सती पत्नी वृन्दाको श्रापले उहाँलाई ढुङ्गो बन्नुपरेको कथा हामीले स्वस्थानीमा पनि सुनेकै छौँ । अधिकांश नेपालीका घरघरमा पूजा गरिने पाञ्चायन देवता शालिग्राम हुन् । उहाँहरू दुवै जनाले सल्लाह गरेर नाम बिगार्नुभएको पक्कै होइन । एक दिन देख्नुपर्दा त म झण्डै बिरामी परेको थिएँ । उहाँहरूले दिनदिनै अशुद्ध नाम लेख्नुपर्दा कति पीडा सहनुभएको होला ? व्यक्तिवाचक नाममात्रै शुद्ध लेखिने हो भने पनि नेपाली भाषाको लेखनमा २० प्रतिशत शुद्धता आउला भन्ने मेरो अनुमान हो ।
    अङ्ग्रेजी अथवा अन्य कुनै भाषाको नाम राख्नेले जसरी लेख्छन्, लेखून् तर संस्कृत भाषाको नाम लेख्ने त शुद्ध लेखिदिऊन् ! मेरो व्यक्तिगत आग्रह मात्र होइन होला । अरूलाई पनि बिझाएकै हुनुपर्छ, अशुद्ध नामहरूले । आजको मेरो बिन्ती विद्यालयका गुरुबा, गुरुमा तथा गाउँ विकास समिति वा नगरपालिकामा नाम पञ्जीकरण गर्ने दायित्व पाउनुभएको जोजो हुनुहुन्छ, उहाँहरू सबैप्रति लक्ष्यित छ । बच्चा वा बच्चाका आमाबाबुलाई जानकारी नहुनु आश्चर्य नहोला । शिक्षित व्यक्तिले त जानकारी लिनै पर्ने हो । जानकारी नभएको खण्डमा नेपाली अथवा संस्कृतका शब्दकोश पल्टाइदिए भइहाल्थ्यो । उहाँहरूले अलिकति दुःख गरिदिँदा नेपाली शब्दको शुद्ध लेखनमा उल्लेखनीय सुधार आउला ।

Leave A Comment