कामुक सपनाले निकाल्छ स्वप्नदोष

शनिबार, २९ साउन २०७३, ११ : २५ डा. सुबोधकुमार पोखरेल , Kathmandu
कामुक सपनाले निकाल्छ स्वप्नदोष

म १९ वर्षको भएँ । राति सुतेको समयमा सपनामा राम्री युवतीसँग सम्भोग गरेको देख्छु । यस्तो सपना हप्तामा दुईतीन पटक देख्छु । सपनामा यौनसम्पर्क गरेको देखेको कारण होला, बिउँझदा वीर्य स्खलित भएको हुन्छ । यो कस्तो समस्या हो ? यसबाट कसरी जोगिन सकिन्छ ?
सी

तपाईंको उमेरका अधिकांश युवालाई यस्तो हुने गर्छ । यो कुनै रोग होइन । यो त एउटा शारीरिक प्रक्रिया हो । सपनामा सम्भोग गरेको देखेर वीर्य निस्कने भएकाले यसलाई स्वप्नदोष भनिन्छ । स्वप्नदोषको अर्थ निदाएको बेलामा विनासम्भोग क्रिया वीर्य स्वतः स्खलित हुनु हो । तपाईंको हकमा पनि यस्तै भएको हो । धेरैजसो स्वप्नदोष कामुक सपनाको कारणबाट नै हुन्छ । विवाह नगरेका युवा तथा लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेकामा स्वप्नदोष हुने गर्छ । स्वप्नदोष सामान्य प्राकृतिक प्रक्रिया भएकाले डराउनुपर्दैन । यसको उपचारका लागि चिकित्सककहाँ जान पनि आवश्यक छैन । यस्तो समस्या भएकाले राति पिसाब रोकेर बस्नु हुँदैन ।  कब्जियत छ भने तुरुन्त उपचार गर्नुपर्छ । किनभने, कब्जियतले पनि स्वप्नदोषको मात्रालाई बढाउन सघाउँछ । विवाह भएपछि हुने नियमित सम्भोगले यो समस्या आफैँ हटेर जान्छ । हस्तमैथुनले पनि यसलाई हटाउन मद्दत गर्छ । अश्लील साहित्य नपढ्नु, ब्लू फिल्म नहेर्नु, स्त्रीहरूको सम्पर्कमा धेरै नबस्नु, प्रेम र यौनसम्बन्धी कल्पना नगर्नु स्वप्नदोषबाट बच्ने उपाय हुन् ।

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? सेक्स गरेमा योनी खुकुलो हुन्छ भनेको सुनेको छु । वास्तविकता के हो ?
के

महिलाले विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए÷नआएको वा दुखे÷नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे÷नफाटेको, पछाडिसम्म खुले÷नखुलेको आधारमा यौनसम्पर्क भए÷नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।
माथि उल्लेखित सोच गलत हुन् । खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन । त्यस्तै पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।
यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ । यो सबैले बुझेको कुरा भयो ।
जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो । यसका लागि एउटा उदाहरण दिँदा कुरा बुझ्न अझ सजिलो होला । ठूलो गाँस खाना खाएर मुख वा खाएको कुरा पेटसम्म लैजाने खाद्यनली खुकुलो वा ठूलो हुन्छन् र ? हुँदैनन् नि । त्यसैले यौनसम्पर्कपछि योनी खुकुलो हुँदैन ।

मेरी श्रीमतीलाई सेक्समा रुचि नै छैन । उनलाई के भएको होला ?
एम

यौन पहिले इच्छाबाट सुरु हुन्छ, यौन इच्छाले एराउजल (उत्तेजना) गराउँछ र त्यसपछि अग्र्याजम (चरमोत्कर्ष) मा पु¥याउँछ भन्ने विचार व्याप्त छ । पुरुषका हकमा यो कुरा सत्य भए पनि महिलाका हकमा यसो नहुन सक्छ । महिलामा शारीरिक चाहनाबाटै यौनको सुरुवात नहुन सक्छ । यौनको शारीरिक चाहना यौन गतिविधि सुरु भएपछि मात्र पनि हुन सक्छ । धेरै महिलाले सेक्स गर्दा अग्र्याजममा नपुगे पनि आफू सन्तुष्ट भएको बताउँछन् । यौन समस्या मुख्यतया चार प्रकारका हुन्छन्, यौन इच्छाको समस्या, यौन उत्तेजनाको समस्या, सम्भोग सुखको समस्या र यौन पीडाको समस्या ।
जब कुनै महिला कुनै पनि यौन गतिविधिमा संलग्न हुन चाहन्नन्, उनलाई यौनको कल्पना या विचार आउँदैन भने उनमा यौन इच्छाको समस्या रहेको हुन्छ । यो चिन्ताको विषय हो । यौन उत्तेजनाले शरीरमा भौतिक र भावनात्मक परिवर्तन ल्याउँछ । रक्तचाप, मुटुको धड्कन, सास र शरीरको तापक्रम बढ्नु, स्तन र योनीमा रक्तप्रवाह बढ्नु र योनी चिप्लो हुनु तथा फुल्नु यौन उत्तेजनाका लक्षण हुन् । केहीकेही महिलामा यौन उत्तेजनाका यी संकेत देखिँदैनन् । सम्भोग सुखको अनुभव नभए पनि महिलालाई पुरुषको प्रेम र निकटताले सन्तुष्टि दिन सक्छ । यौन सम्पर्क हुँदा महसुस हुने दुखाइलाई यौन पीडा भनिन्छ । अधिकांश महिलाले जीवनको कुनै न कुनै विन्दुमा यौन पीडा भोगेका हुन्छन् । तर, यौन पीडा अत्यधिक र सधैँ भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।
महिलामा यौन इच्छा जगाउन या बढाउन उनको प्रेमी या पतिसँग आत्मीय सम्बन्ध हुनुपर्छ । कुनै पनि समस्यामा खुलेर कुरा गर्नुपर्छ । सम्भोगमा भन्दा आत्मीयतामा बढी ध्यान दिनुपर्छ । यौन ज्ञान र सम्भोग कला महिलाका यौन समस्या हटाउन उपयोगी हुन्छन् । विभिन्न सम्भोग आसन प्रयोग गर्नु, पर्याप्त फोरप्ले गर्नु, तातो पानीले स्नान गर्नु, सम्भोगअघि पिसाब फेर्नु आदि उपाय अपनाएर सम्भोग पीडा घटाउन या हटाउन सकिन्छ । यी प्रयासहरूले यौन समस्या समाधान भएनन् भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

 

 

Leave A Comment