सुगम संगीतमाथि बहस

शनिबार, २९ साउन २०७३, १० : २१ शुक्रवार , Kathmandu
सुगम संगीतमाथि बहस

द हिडन ट्रेजरले नेपाली सुगम संगीतमाथि बहस थालेको छ । आइतवार राजधानीस्थित सर्वनाम थिएटरमा ‘नेपाली सुगम संगीतः विगत र वर्तमान’ शीर्षकमा अन्तरक्रिया गरियो । पहिलेका स्रष्टा, गायक, संगीतकारका रचनालाई नयाँ पुस्तासँग साक्षात्कार गराउने पहल सुरु गरिएको छ ।

अन्तरक्रियामा नयाँ पुराना पुस्ताका संगीतकर्मीले यो पहल सांगीतिक फाँटमै नौलो भएको बताएका थिए । अन्तरक्रियामा गीतकार यादव खरेल, गायिका लोचन भट्टराई, गायक सत्यराज आचार्य, संगीतकार राजु सिंह वक्ताका रूपमा सहभागी थिए ।

मिस नेपाल प्रतियोगिता गर्दै आएको संस्था हिडन ट्रेजरले ‘सुगम संगीतको अविरल यात्रा’ नामक कार्यक्रम थाल्ने भएको छ । कार्यक्रमको पहिलो शृंखलामा गीतकार यादव खरेल प्रस्तुत हुनेछन् । कार्यक्रम आगामी साउन ३१ र ३२ मा हुनेछ ।

एउटा गीतमा गायकको मात्र वर्चश्व र अग्रता रहने माहोल हटाउँदै त्यसका सर्जकलाई स्रोता र दर्शकमाझ चिनाउन यसले सघाउने हिडन ट्रेजरका सीइओ गोपाल कक्षपतिले जानकारी दिए । ‘गीतको सुरुवात शब्दबाट हुन्छ,’ उनले भने, ‘तर, सबभन्दा पछाडि भरिने स्वरमात्र अगाडि छाउँछ । शब्दको महŒवलाई सम्मान गर्नैपर्छ भनेर लुकेका सर्जकका पक्षमा कार्यक्रम गर्न लागेका हौँ ।’

शब्द र संगीत ठूलो कि गायकको स्वर ठूलो ? यस विषयमा कहिल्यै बहस भएन । तर, अब त्यसको सुरुवात पनि यस कार्यक्रमले गर्नेछ । सेतुराम, मेलवादेवी हुँदै सुरु भएको नेपाली सुगम संगीतको आयामले २००७ सालको राजनीतिक परिवर्तनसँगै नयाँ बाटो लियो ।

२०२० सालपछि नारायणगोपाल, नातिकाजी, शिवशंकर, गोपाल योञ्जनजस्ता संगीत साधकको उदय भयो । ‘मैले २०१६ सालमा रेडियो नेपालमा सांगीतिक कार्यक्रम चलाउँदा पनि गीतकारको नाम भनिँदैन थियो,’ यादव खरेलले भने, ‘गायकहरूको नाममात्र रेडियोमा बोलिन्थ्यो ।’

तीस र चालिसको दशकमा नेपाली फिल्म निर्माणले तीव्रता पायो । त्यसमा अधिकतम रूपमा स्रष्टा, गायक र संगीतकारले आफ्नो कला पस्के । त्यसपछि नयाँ धारका रूपमा ५०, ६० र ७० को दशक उदायो । जसमा रामकृष्ण ढकाल, सत्यराज÷स्वरूपराज आचार्य, यम बराल, राजेशपायल राई, उदय मनिलालगायत स्वरका धनीहरूको जन्म भयो । जसले अहिलेसम्म पनि आफ्नो लय छाडेका छैनन् ।

‘उहिलेको गीतसंगीतमा एउटा गीत रेकर्ड गर्न कलकत्ता जान पाउँदा ठूलै चिट्ठा परेझैँ हुन्थ्यो,’ खरेलले थपे, ‘अहिले सिर्जनाको स्वरूप र संरचना सबै परिवर्तन भएको छ । अब त्यतिबेलाको गीत नयाँ पुस्ताले गाउँदा कस्तो गाउँछन् । कसरी त्यसलाई बुझ्छन् र व्याख्या गर्छन् त्यो बुझ्नुपर्ने बेला आएको छ ।’

    हिडन ट्र«ेजरले लुकेका स्रष्टामात्र हैन विगत र वर्तमानका सर्जकबीच सम्बन्ध कायम गर्न खोज्नु सराहनीय भएको संगीतकार राजु सिंहले उल्लेख गरे । गायिका लोचन भट्टराईले नेपाली सांगीतिक फाँट ‘हिँड्दै छ पाइला मेट्दै छ’को स्थितिमा रहेको दाबी गरिन् ।

‘अरू देशमा तीन सय वर्ष पुरानो कविता पढिन्छ, पाँच सय वर्ष पुरानो गीत गाइन्छ,’ उनले विदेशी चलन बताइन्, ‘पुर्खाको सिर्जना गाउनु र सुनाउनु गौरवान्वित मानिन्छ । तर, यहाँ कुनै जमघटमा जाँदा आफैँले गाएको गीतबाहेक अरू केही देख्दैनन् ।’

मोतीराम भट्टको उदाहरण दिँदै उनले यदि भट्टले भानुभक्त आचार्यको नेपाली छन्दको रामायण प्रकाशित नगरिदिएको भए नेपालको ठूलो कृति त्यसै हराउने अवस्थामा पुग्ने उल्लेख गरिन् ।

सर्जकले एउटा कोठामा बसेर लेखेको गीत र संगीतकारले एउटा कोठामा भरेको संगीतलाई स्रोतामाझ पु¥याउने काम गायकले गर्ने सत्यराज आचार्य सुनाउँछन् । त्यसले गर्दा पनि गायक अगाडि आउँछन् तर सर्जकको सम्मान गर्ने चलन भने बसिनसकेको उनले बताए । अन्तरक्रियालाई सर्वनामका अशेष मल्लले सहजीकरण गरेका थिए ।

 

Leave A Comment