फुटबलमा छिर्‍याे डिस्को काण्ड

शुक्रबार, ०६ मङि्सर २०७६, ०१ : ०७ शुक्रवार
फुटबलमा छिर्‍याे डिस्को काण्ड

विश्वकपको छनोट खेलका लागि अखिल नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सागको क्लोज क्याम्पका लागि कुपण्डोलको सांग्रिला ब्लु होटलमा राखेको थियो। उनीहरु एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गर्थे र होटलमा बस्थे।

छनोट खेलका लागि शनिबार भुटान जानु पर्ने थियो। त्यसैले शुक्रबार बेलुका ७ बजेतिर कपडाहरु ल्याउनुपर्‍याे भन्दै फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशी होटलबाट निस्किए।

घरमा आवश्यक सामान लिन गएका खेलाडी फर्किएनन्। शनिबार बिहान बिदाइको कार्यक्रम तय भइसकेको थियो। नेपाली राष्ट्रिय टोलीका यी चार खेलाडी बिहान २ बजेतिर लड्खडाउँदै एन्फा कम्प्लेक्स सातदोबाटो पुगे। उनीहरु मदिरामा झुम्म थिए। केहीको गोडामा चोट पनि लागेको थियो।

अन्तर्राष्ट्रिय प्रतियोगितामा फुटबल टिमले प्रायः लज्जास्पद हार व्यहोर्दै आए पनि पछिल्लो समय प्रदर्शन केही सुधारिएको थियो। मंगलबार भुटानमा कुबेतविरुद्ध खेल तय भएको थियो। खेल नेपालमै हुनुपर्ने भए पनि रंगशालाको काम नसकिँदा भुटान सरेको थियो। खेल अधिकारी सबै खेलको तयारीमा रहँदा राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीको हालत भने त्यस्तो थियो।

होटलबाट हराएका चार खेलाडी घाइते भएर, मदिराले धुत हुँदै बिहान मात्र आएको सूचना एन्फाका अधिकारीले पाएसँगै हंगामा सुरु भयो। हार जित आफ्नो ठाउँमा। राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने टोलीको अनुशासनहिनताको पराकाष्टै देखाएपछि तत्काल उपलब्ध एन्फा पदाधिकारीहरुको बैठक बस्यो र जोखिम मोल्दै यी चारै खेलाडीलाई भुटान जाने टिमबाट बर्खास्तीको निर्णय भयो।

भुटान उड्न ठिक्क परेका उनीहरु अनुशासनहिनताका कारण नेपालमै रोकिएनन् मात्रै थप कारबाहीको जोखिम मोलेर बसेका छन्। जानकार स्रोतका अनुसार यी चारजना खेलाडीमध्ये विमल मदिरा प्रिय हुन्। उनी प्रायः नाइट क्लबहरु पुगिरहन्छन्।

उनी यस अगाडि पनि नाइट क्लबमा गएर लफडा गरेको केसमा परेका थिए। गत वर्ष एसिएन गेमको तयारीको क्रममा होस्टलमा रहेको बेला विमलसहितका राष्ट्रिय टोलीका खेलाडी यसैगरी ठमेलका डिस्को पुगेका थिए। गत वर्ष विमलसँगै अञ्जन विष्ट, विशाल राई र हेमन्त थापा मगर क्याम्पबाट अनधिकृत रुपमा निस्किएर ठमेलको नाइट क्लब गएर मदिरा पिएर एन्फा कम्प्लेक्स फर्किएको खुलेको थियो।

मदिराले मात्तिएर होस्टल पुगेका उनीहरुले होहल्ला गरेपछि घटना बाहिर आएको थियो। लगत्तै एन्फामा खेलाडीको व्यवहारबारे छलफल भएको थियो। तर कुनै कारबाही भने भएन। समयमै खेलाडीले उल्लंघन गरेको अनुशानबापत सचेत नगराउँदा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानु अगाडि तोकिएका खेलाडी नलिई उड्नुप-यो।

जानकारका अनुसार शुक्रबार ठमेल जाने योजना पनि विमल र अञ्जनले बनाएका थिए। दुवैको योजनाअनुसार चारैजना खेलाडी ठमेल गए। केही समय घुमघाम गर्ने भनेर बराल्लिएका उनीहरु मदिराको मातसँगै एकपछि अर्को लाउन्ज बार छिर्दै हिँडे। अन्तमा उनीहरु ठमेलको एलओडी लाउन्जमा पुगेका थिए। त्यहीबाट उनीहरु एन्फा कम्प्लेक्स हिँडेका थिए।

अध्यक्ष कुर्दै एन्फा
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा भुटानमा रहेकाले यी चार खेलाडीलाई थप के कारबाही गर्ने भन्ने निर्णय भइसकेको छैन। अहिले उनीहरुलाई टिमबाट बाहिर राखिएको मात्र हो। एन्फा अधिकारी उनीहरुमाथि थप कारबाहीको मुडमा देखिएका छन्। यसका लागि अध्यक्ष आउन जरुरी छ। एन्फाका एक अधिकारीका अनुसार पटक–पटक गम्भीर रुपमा अनुशासन उल्लंघन गरेकाले यस पालि कडै कारबाहीको पक्षमा एन्फाका पदाधिकारी छन्। तर कस्तो कारबाही गर्ने त्यो अध्यक्षको मुडमा भर पर्ने एक अधिकारीले बताए।

म्याचफिक्सिङले डुबाएको साख
यस अगाडि अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्स गरेको अभियोगमा नेपाली फुटबल टिमका क्याप्टेन सागर थापासहित कारबाहीमा परेका थिए। प्रहरीले उनीहरुलाई पक्राउ गरेर राष्ट्रद्रोह विरुद्धको मुद्दामा अनुसन्धान गरेको थियो। विशेष अदालतले प्रारम्भमा धरौटीमा छाडेकोमा पछि राष्ट्रद्रोहको अभियोगबाट सफाइ दिए पनि उनीहरु राष्ट्रिय टिममा फर्कन भने सकेनन्। म्याच फिक्सिङ काण्डले राष्ट्रिय टोलीको मनोबल निक्कै खस्किएको थियो। अहिले जम्दै गरेका चार खेलाडीको अनुशासनहीन व्यवहारले राष्ट्रिय टोलीका सदस्यको साख थप छर्‍याे।

Leave A Comment