रियालिटी चेक : मञ्चमा रुवाबासी

शुक्रबार, ०६ मङि्सर २०७६, ०८ : ५० शुक्रवार
रियालिटी चेक :  मञ्चमा रुवाबासी

भ्वाइस अफ नेपालको लाइभ राउण्ड सुरु भएसँगै दुई प्रतिस्पर्धी बाहिरिए। लाइभ राउन्डको तेस्रो एपिसोडमा कोच दीपको समूहमा रहेकी रजनी रिदम राई बाहिरिइन्। उनको प्रस्तुति बलियो नै थियो। यसअघि उनी पर्फर्मर अफ दि डे घोषित भएकी थिइन्। फिल्मी गायनमा जमेकी उनीबाट प्रस्तुतिमा कुनै त्रुटि भएको पनि थिएन तर दर्शकहरुको साथ नपाउँदा कम भोट आयो र उनी प्रतिस्पर्धाबाट बाहिरिनु प-यो।

उनी प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा हुँदा भ्वाइसको मञ्चमा आँशुको भेलै बग्यो। उनले चारै कोचसँगै आफ्ना प्रतिस्पर्धीलाई समेत रुवाइन्। कोच आस्था राउत त हरेक एपिसोडमा रोएकी नै हुन्छिन्। उनलाई खुसी हुनु र आँसु झार्नुमा कसैले प्रतिस्पर्धा नै गर्न सक्दैनन्। तर यस पटक भने कोच राजु लामा पनि उनीसँगै मञ्चमै गएर रोए। कोच र अन्य प्रतिस्पर्धी रुन थालेपछि रजनी आफैँ फकाउन थालिन्। रजनी आउट भएकोबारे कोच दीपसँग कार्यक्रम सञ्चालकले सोधेकोमा उनी प्रतिक्रियाविहीन बने र भने, ‘नो वर्ड्स् !’

लाइभ राउन्डको तेस्रो एपिसोडमा शशिका राईले ‘टाकन टुकन, ट्याक्क’ गाइन्। कोच आस्थाले उनलाई आफ्नो टिमको सिङ्गिङ् नाइटिङ्गेल भनिन्। अरु कोचले पनि बेस्ट गाउने गायिका भनेर प्रशंसा गरे। अर्का प्रतिस्पर्धी बलबहादुर राजवंशीले ‘म यस्तो गीत गाउँछु’ गाए। कोच आस्था टिममा रहेकी यान्की याल्मोले पप गीत गाइन्। त्यस्तै सञ्जय महतले ‘सम्झी बस्छु’ गाए।

अघिल्लो राउन्डमा गीत बिर्सेका सनिष श्रेष्ठले यो पटक ब्याटल राउन्डभन्दा राम्रो गाए। उनको गायनमा सुधार आएको देखियो। गत साता लाइभ राउन्डमा गीत गाउँदा–गाउँदै शब्दै भुलेका सनिषले लाइभ राउन्डको तेस्रो एपिसोडमा सबैको मन जिते।

आरिफ राउफले कोच राजु लामाको ‘तिमीलाई देखेर’ बोलको गीत गाएका थिए। आफ्नै गीत गाएको देखेर कोच राजु छक्क परे। गीत सुन्दै बेला बेला मुस्कुराइरहे। आरिफको सबैले तारिफ पाए। अकी प्रतिस्पर्धी गीता शर्माको गायन पनि अरुको भन्दा कम थिएन। उनले ‘तिमीले बाटो फेरेउ अरे’ बोलको गीत गाएकी थिइन्। कोच राजुको टिममा रहेकी अञ्जु राना मगरले एड्रियन प्रधानको ‘मुटु भरिभरि’ बोलको गीत गाएकी थिइन्।

भोटको आधारमा शशिका राईसमेत आउट भइसकिन्। उनको स्वर निखारिदै आएको थियो तर दर्शकबाट साथ पाइनन्।

रामको शिरमा कोचको टोपी
राम लिम्बु आफ्नो गायकीबाट दर्शकको मन जित्न सफल भइरहेका छन्। यस पटक पनि उनले फरक रुपमा आफूलाई चिनाउन सफल भए। विदेशीले सिमाना मिचेको बेला उनले  देशभक्ति गीत ‘जसो गर जे गर जतासुके लैजाऊ मलाई’ बोलको गीत गाएका थिए।

कालापानीको सिमानाबारे विवाद भइरहेको बेला उनले दर्शकको मन छुने गीत छानेका थिए। कोच प्रमोदले रामको गायनले प्रफुल्ल हुँदै गोजीबाट ढाका टोपी झिकेर रामको शिरमा लगाइदिए। सबै कोच कुर्सीबाटै उठेर तारिफ गरे। यति मात्र होइन, चन्द्र र सूर्य अंकित झण्डा र भेस्ट लगाएका रामले अडियन्सबाट वान्स मोर पाइरहे। यो एपिसोडमा उनी नै ‘पर्फर्मर अफ द डे’ घोषित भए। उनी दोस्रो पटक यसरी विभूषित भइसके।

मेचुको अभिनय
प्रतिस्पर्धी मेचु धिमालले स्टेजमा अभिनय गरेर कोच र दर्शकको ध्यान तान्ने प्रयास गरिन्। मेचु गीतको तालमा ताल मिलाउन छड्के डोको बोकेर स्टेजमा आएकी थिइन्। गाउँले भूमिकामा देखापरेकी मेचुले घाँस दाउरा मात्रै कति गर्नु हौ, यसो माया प्रेमका पनि कुरा गरौँ न भन्दा कोचसँगै अडियन्सले पनि ताली बजाए।

यति मात्र हो र ? गीत गाउँदै स्टेजमा नै नाचेर उनले सबैलाई मख्ख पारिन्। उनले पुर्वेली लोकगीत ‘आकासैमा चिल हो कि बेशारा’ बोलको गीत गाएकी थिइन्। कोचहरुले उनलाई भर्सटायल गायिका भनेर प्रशंसा गरे।

लाइभ राउडको चौथो प्रस्तुति भने अलि झुर थियो। यस एपिसोडमा तीन कोचका तीन जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए। प्रमोदको टिमबाट राम लिम्बु, मेचु धिमाल र बलबहादुर राजवंशीले प्रस्तुति दिए। यसमा मेचुको ड्रेसको प्रशंसा भएको थियो। राम लिम्बुको प्रस्तुति राम्रै थियो भने बलबहादुरले कोच प्रमोदकै ‘झुमा झुमा’ बोलको गीत गाए।

कोच राजुको टिमबाट सनिश श्रेष्ठले ‘के यो माया हो’ बोलको गीत गाएका थिए। अञ्जु राना मगरले ‘मेरी आमा’ बोलको गीत गाइन्।

कोच राजुकै टिमकी गीता शर्माले ‘उकाली चढौँला’ बोलको गीत गाइन्। उनको गायन बिस्तारै निखारिदै गएको देखिन्छ। कोच दीपले उनलाई मनिला सोताङको  भन्दा राम्रो गाएको भन्दै प्रशंसा गरे।

आस्थाको टिमबाट यान्की याल्मोले ‘हवाइ जहाज’ बोलको गीत प्रस्तुत गरिन्। ब्याटल राउन्डदेखि आफूले यान्की खोजेको आज पाएँ भन्दै कोच प्रमोदले प्रशंसा गरे। यतिसम्म त ठीकै थियो। कोच आस्था राउत दौडेर स्टेजमा नै पुगेर यान्कीलाई बोकेर घुमाइन्। यस राउन्डमा उनै पर्फर्मर अफ द डे बनिन्।
शशिका राईको प्रस्तुति राम्रै थियो। आरिफ राउफले ‘मैले गीत छोडी आएँ’ गाउँदै अभिनय गर्दा हेर्न लायक थियो।

Leave A Comment