हट्यो जोखिम शिल्पाको

शुक्रबार, ०६ मङि्सर २०७६, ०८ : २२ शुक्रवार
हट्यो जोखिम शिल्पाको

बहुविवाहको अभियोग खेपेकी अभिनेत्री शिल्पा पोखरेलले बल्ल राहत पाइन्। श्रीमान् छवि ओझाकी पहिलो श्रीमतीको उजुरीपछि लुकेर प्रहरी हिरासत छले पनि अदालतमा मुद्दा दायर भएपछि  जेल जाने जोखिम थियो।

तर काठमाडौं जिल्ला अदालतले छविकी जेठी श्रीमतीले पहिल्यै अंश लिएर छुट्टै बसेको भन्दै उनलाई तत्काल तारेखामा छाड्न आदेश दिएपछि उनी जेलको जोखिमबाट तत्कालका लागि जोगिइन्।

फिल्म निर्माता ओझासँग खटपट भएसँगै उनले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेलगत्तै एकाएक छविकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको जाहेरी दिएकी थिइन्। साउनको पहिलो साता काठमाडौं जिल्ला अदालतले फिल्म निर्माता ओझा र अभिनेत्री पोखरेललाई पक्राउको आदेश दिएलगत्तै उनी लुकेर बसेकी थिइन्। उनी उच्च अदालत हुँदै सर्वोच्च पुगेर पक्राउ पुर्जी रोक्न खोजे पनि सर्वोच्चले खुला गरेको थियो।

अहिले आएको थुनछेक बहसको आदेश मात्र हो। मुद्दाको अन्तिम टुंगो भने लागेको छैन तर प्रारम्भकै अदालतले अंश लिएर बसेको आधारमा टेकेर तारेखमा मुक्त गरेकाले शिल्पामाथिको बहुविवाहको अभियोग पुष्टि हुने सम्भावना भने कम छ। नेपालको विद्यमान कानुनले छोडपत्र नभए पनि अंश लिएर श्रीमती लामो समय अलग्गै बसेको अवस्थामा अर्को विवाहको अनुमति दिन्छ।

Leave A Comment