फिल्म साउथ एसियामा बाङ्लादेश उत्कृष्ट

बिहिबार, ०५ मङि्सर २०७६, १२ : २८ शुक्रवार
फिल्म साउथ एसियामा बाङ्लादेश उत्कृष्ट

हरेक दुई वर्षमा आयोजना गरिने फिल्म साउथ एसियाको पछिल्लो संस्करणले बाङ्लादेशको ‘ब्याम्बो स्टोरिज’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित गरेको छ। साहिन डिल्ली रियाजद्वारा निर्मित निर्देशित सो डकुमेन्ट्रीले बाँस व्यापारबाट जीविकोपार्जन गर्ने मानिसको कथाले निर्णायकसँगै दर्शकको मन यति छोयो कि रामबहादुर ट्रफीसहित दुई हजार डलर पुरस्कारसमेत हात पा-यो।

भारतीय फिल्मकर्मी अमित महन्तीको भारतको नागाल्याण्ड आसपासका आदिवासी, सशस्त्र युद्ध र परिवर्तित जीवनमा आधारित रहेको ‘स्क्र्याचेज अन स्टोन’ रनर अप घोषित भयो। यसले एक हजार अमेरिकी डलर पुरस्कार जित्यो।

महोत्सवमा उत्कृष्ट डेब्यु निर्देशक पुरस्कार एक हजार डलरसहित ‘आफ्टर प्रेयर्स’ डकुमेन्ट्रीका लागि इटालीका निर्देशक सिमोनी मेस्ट्रोनीले पाए। भारत र इटालीको संयुक्त निर्माणमा बनेको सो डकुमेन्ट्री कश्मीरबासीको आशा र निराशालाई प्रस्तुत गरेको थियो।

पत्रकार कुन्द दीक्षित संयोजक रहेको निर्णायक समितिमा श्रीलंकाका सुमाथी शिवमोहन र भारतीय कलाकार आयशा अब्राहम सदस्य थिए।

महोत्सवमा प्रदर्शित तीन भारतीय डकुमेन्ट्रीले स्पेशल मेन्सन पाएका थिए, जसमा हेमन्तकुमार गाबाको ‘एन इन्जिनियर्ड ड्रिम’, सुप्रियो सेनको ‘स्विमिङ थ्रु द डार्कनेस’ र जेसी अल्कको ‘परिया डग’ थिए। बालबालिकाको मुद्दामा केन्द्रित अफगानस्तानका निर्देशक अबोजार अमिनीको ‘काबुल, सिटी इन द विन्ड’ डकुमेन्ट्रीले युनिसेफ अवार्डसहित एक हजार अमेरिकी डलर जित्यो।

नेपालका आशीष लिम्बु र देवेन राईले बनाएको ‘द विन्टर ट्याप’ र भारतकी ऐश्वर्या ग्रोवरले बनाएको ‘मेमोरिज अफ साइरा एन्ड सलिम’लाई पाँच सय डलरको उत्कृष्ट विद्यार्थी डकुमेन्ट्री संयुक्त रूपमा दिइयो।

दुई वर्षयता बनेका दक्षिण एसियाका सम–सामयिक विषयहरूमा केन्द्रित तीन सय डकुमेन्ट्रीमध्ये उत्कृष्ट ६३ डकुमेन्ट्री प्रदर्शन भएका थिए। महोत्सवमा ५१ वटा डकुमेन्ट्री उत्कृष्ट पुरस्कारको लागि प्रतिस्पर्धामा थिए।

महोत्सवको यो १२ औं संस्करणमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान र म्यानमार लगायतका देशबाट २५ सयभन्दा बढी डकुमेन्ट्री प्राप्त भएका थिए। महोत्सवको आयोजना हिमाल साउथ एसियाले गरेको थियो।

Leave A Comment