सजिलो छैन कोरिया जान

बिहिबार, २७ साउन २०७३, १२ : ०८ रुद्र खड्का , Kathmandu
सजिलो छैन कोरिया जान

उदयपुर, कटारीकी माया राईलाई यस पटक अवश्य कोरिया जान पाइएला भन्ने लागेको थियो । पछिल्लो चार वर्षदेखि कोरियन भाषा सिकेर पटकपटक भाषा परीक्षामा सहभागी भएकाले उनले धेरै अनुभव पनि बटुलिसकेकी थिइन् ।
‘पहिलाभन्दा यस पटकको भाषा परीक्षामा राम्रोसँग लेखेकाले पास हुने आशा थियो,’ ३२ वर्षीया राईले भनिन्, ‘नतिजा प्रकाशनपछि खोजी गर्दा त नामै फेला परेन ।’ चौथो प्रयासमा पनि असफल भएपछि राईले अब कोरियाको विकल्प खोज्ने सोच बनाएकी छिन् ।
सिन्धुली, महादेवस्थानकी संगीता माझीको पनि यसपालि कोरिया जाने सपना पूरा भएन । २६ वर्षीया माझीले कोरिया जान पाइने आशाले एक वर्षदेखि काठमाडौँमा बसेर कोरियन भाषा सिकेकी थिइन् । अघिल्लो साता कोरियाको मानव संसाधन विकास विभागले प्रकाशित गरेको नतिजामा उनको पनि नाम समावेश छैन । ‘एक वर्षदेखि काठमाडौँ बस्दा र कोरियन भाषा सिक्दा करिब ८० हजार रुपैयाँ खर्च भएको थियो,’ माझीले भनिन्, ‘सुरुमा नाम कसो ननिस्केला भनेर प्रयास गरियो । अहिले ठूलो लगानी डुबेको देख्दा किन प्रयास गरियो होला भन्ने लागिरहेको छ ।’ भाषा सिक्नका लागि र काठमाडौँमा बस्दा खर्च भएको रकम गाउँमै कुनै पेशा वा व्यवसायमा लगाएको भए उपलिब्धमूलक हुँदो रहेछ भन्ने यतिखेर उनलाई लागिरहेको छ । ‘ठूलो रकम डुबेकाले अझै एक पटक पुनः कोरियन भाषा परीक्षामा सहभागी हुनुपर्ला,’ उनले भनिन्, ‘त्यति गर्दा पनि भएन भने गाउँमै फर्केर केही काम गर्ने सोच बनाएकी छु ।’
कोरिया जान पाइने आशाले ६० हजारभन्दा बढी युवायुवती भाषा परीक्षामा सहभागी भए पनि निकै थोरै मात्र उत्तीर्ण भएको कोरियाको मानव संसाधन तथा विकास विभागले नतिजा प्रकाशन गरेपछि यतिखेर हजारौँ युवायुवती निराश छन् । ६० हजार ३ सय ७५ भाषा परीक्षामा सहभागी भएकोमा यस पटक उक्त परीक्षामा ३५ सय १७ जना मात्र उत्तीर्ण भए  । ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकाहरू पनि सबै कोरिया जान पाउने सम्भावना हुँदैन । सन् २०१७ का लागि कोरियाले नेपालबाट कृषि, पशुपालन तथा उद्योग क्षेत्रमा काम गर्न ३१ सय युवायुवतीलाई लैजाने कोटा तोकेको छ ।
कोरियन सरकारले तोकेको कोटाअनुसार सबैलाई त्यहाँका रोजगारदाता कम्पनीले लैजान्छन् भन्नेबारे पनि कुनै ग्यारेन्टी नभएको उनको भनाइ छ । एक पटक भाषा परीक्षामा उत्तीर्ण भएकाहरूलाई कोरियन रोजगारदाताले दुई वर्षसम्म नबोलाए भाषा परीक्षा उत्तीर्ण गर्नुको कुनै अर्थ हुँदैन । तर, पछिल्लो केही वर्षयता कोरिया जान पाइने आशाले हजारौँ युवायुवतीले कोरियन भाषा सिक्नकै लागि हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । ईपीएस शाखाका अनुसार केही वर्ष अघिसम्म अलि धेरै नै युवायुवतीलाई प्राथमिकता दिने गरेको कोरियाले पछिल्ला वर्ष कोटा घटाउँदै लगेको छ ।
बास्तोलाका अनुसार कोरियाले यतिखेर नयाँ युवायुवतीको साथै विगतमा त्यहाँ काम गरेर फर्केकाहरूलाई पनि लैजान थालेकाले कोटा केही घटेको देखिएको हो ।  ‘नयाँको साटो पहिले कोरिया गइसकेकाले पुनः अवसर पाउँदा देशका लागि भने खासै घाटा हुँदैन,’ उनले भने । सन् २००७ यता कोरियामा करिब ४३ हजार युवायुवती गइसकेका छन् । यो वर्ष भाषा परीक्षामा उत्तीर्ण भएकासहित विगतका वर्ष उत्तीर्ण भएका करिब सात हजार युवायुवती भने अझै कोरिया जान बाँकी छन् । ‘यो वर्ष उत्तीर्ण भएकाहरूले अर्को वर्ष कोरिया जान पाउँछन् भने अघिल्लो वर्ष उत्तीर्ण भएर पनि जान नपाएका युवायुवती चाँडै जालान् भन्ने आशा छ,’ बास्तोलाले भने । कोरिया जानका लागि भाषा परीक्षा आधारभूत आवश्यकता र मापदण्ड हो । भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्य प्रक्रियाको काम अघि बढाइन्छ ।  
असारको पहिलो साता लिइएको परीक्षाको फारम संकलन गत वैशाखमा गरिएको थियो । सन् २००७ देखि सुरु गरिएको कोरियाको कृषि, पशुपालन तथा उद्योगमा  काम गर्न बर्सेनि ठूलो संख्याका युवायुवतीको आकर्षण रहँदै आएको छ । सन् २०१७ का लागि कोरियाले ३१ सय युवायुवतीलाई कृषि, पशुपालन र उद्योगमा काम गर्न लैजाने कोटा तोकेको छ । भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरू कोरिया जान पाउनेछन् ।
भाषा परीक्षामा ९० प्रतिशत वा सोभन्दा बढी नम्बर ल्याउनेहरू उत्पादनमूलक र ८६ प्रतिशत वा सोभन्दा बढी ल्याउने कृषि क्षेत्रको काम गर्न कोरिया जान पाउनेछन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको स्वास्थ्य, सीप परीक्षण र रोजगार आवेदन दिने कार्य आउँदो असोजदेखि सुरु हुने ईपीएस कोरिया शाखा प्रमुख बास्तोलाले बताए । कोरिया जान ठूलो संख्याका युवायुवतीको आकर्षण देखिएपछि देशका १० स्थानबाट फारम संकलन गरिएको थियो भने काठमाडौँ र पोखरामा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको थियो । फारम बुझाउनैका लागि कैयन युवायुवतीलाई घण्टौँ लाइनमा बस्नु परेको थियो । फारम बुझाउने बेला उनीहरूले प्रतिव्यक्ति २४ अमेरिकी डलर अर्थात् २५ सय रुपैयाँ तिर्नु परेको थियो । भाषा परीक्षामा उत्तीर्ण युवायुवतीको नामावली रोस्टर सूचीमा प्रकाशित भएपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्ने अहिलेको प्रचलन हो  ।
भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने सरकारी कर्मचारी बताउँछन् । कोरिया जानका लागि  १८ देखि ३९ वर्षको उमेर तोकिएको छ । कोेरिया जान पाइने आशाले अधिकांश युवायुवतीले हजारौँ रुपैयाँ खर्च गरी कोरियन भाषा परीक्षा सिकेका थिए । ६० हजार आवेदकमध्ये ३१ सयलाई छान्नु पर्दा निकै प्रतिस्पर्धा भएको ईपीएस शाखाका कर्मचारी बताउँछन् । बास्तोलाका अनुसार पछिल्लो समयमा कोरियन रोजगारदाताले नयाँ कामदारभन्दा पनि अनुभवीलाई जोड दिन थालेकाले कोटा घटेको हो । हालसम्म ईपीएस प्रणालीमार्फत कोरिया गएकामध्ये सात हजारजति युवायुवती निर्धारित समय सकेर स्वदेश फर्केका छन् । फर्केकामध्ये करिब दुई हजार पुनः कोरिया गएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २०१८ का लागि आउँदो डिसेम्बरदेखि पुनः प्रक्रिया सुरु हुने बताइएको छ ।
३५ सय जानै बाँकी
अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका झण्डै ३५ सय युवायुवती कोरिया जान पाएका छैनन् । भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरियाका रोजगारदाताले कामदारको माग नगर्दा उनीहरू कोरिया जान पाउने÷नपाउने अन्योल भएको हो । ईपीएस कोरिया शाखा प्रमुख बास्तोलाका अनुसार सन् २०१५ का लागि ८ हजार ४ सय ९० जना युवायुवतीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म रोजगारदाताले नबोलाए त्यस्ता युवायुवतीको नाम रोस्टरबाट हट्छ । कोरियामा महिनाको कम्तीमा सवा एक लाख रुपैयाँ पारिश्रमिक पाइने भएकाले युवायुवतीको आकर्षण कायमै छ ।

‘अनुभवीलाई प्राथमिकता’


डिल्लीराम बास्तोला
ईपीएस कोरिया शाखा प्रमुख

पछिल्लो समयमा कोरियन रोजगारदाताले पहिले नै त्यहाँ काम गरेर फर्केकालाई छनोट गर्न थालेका छन् । जसले गर्दा नयाँ कोटा केही घटेको देखिन्छ । यसको अर्थ कोरियाले नेपालका युवायुवतीलाई कम प्राथमिकता दियो भन्ने होइन । विगतमा जसरी कोरियाले नेपाली युवायुवतीलाई मन पराएको थियो । अहिलेको क्रम पनि त्यही नै हो ।
ईपीएस सुरु भएयता करिब सात हजार युवायुवती फर्केको अनुमान छ । तीमध्ये कोरियामा पुनः दुई हजारजति गएको पाइन्छ । शायद भाषा र भौगोलिक अवस्थाबारे जानकार भएकाले होला कोरियन रोजगारदाताले अनुभवीलाई जोड दिने गरेको पाइन्छ । कम लागतमा कोरिया जान पाइने र त्यहाँ गएपछि ठगीमा पर्ने सम्भावना कम हुनुको साथै महिनामा एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने भएकाले पछिल्ला वर्ष ठूलो संख्याका युवायुवतीको चासो देखिन्छ । यसपालिकै कुरा गर्दा ६० हजार आवेदकमध्ये ३५ सय १७ मात्र उत्तीर्ण भए । त्यसमा पनि कोरियाले तोकेको कोटा ३१ सय मात्र हो । जसरी बजारमा कोरिया मोह देखिन्छ, यथार्थमा कोरिया जान त्यति सहज छैन । कोरिया जानका लागि निरन्तर भाषाको अभ्यास गर्नुपर्छ । कोरियन भाषा जानेर मात्र हुँदैन । प्रतिस्पर्धामा अब्बल हुन सक्नुपर्छ । ६० हजारबाट ३५ सयमा पर्नु भनेको सानो प्रतिस्पर्धा होइन । यतिखेर कोरिया जान इच्छुक युवायुवतीको संख्या हेर्दा लाग्छ– अब ख्यालख्यालैमा कोरिया जान पाउने सम्भावना छैन । यथार्थ नबुझी यसमा लाग्यो भने लगानी, समय र मेहनत उपलब्धिविहीन हुन बेर लाग्ने छैन ।

Leave A Comment