महराको जेल यात्रा

सोमबार, २५ कार्तिक २०७६, ०१ : २८ शुक्रवार
महराको जेल यात्रा

पहिला समातिएलान् कि यत्तिकै सेलाउला भन्ने अन्योलका बीच दसैँअगाडि सरकारी निवासबाटै झ्याप्पै समातिए प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा। तर उनी प्रहरी हिरासतमा बसेनन्, बिरामी बनेर नर्भिक अस्पतालको बेडमा बिताए हिरासतका दिन।
अन्योल भने कायम थियो, ‘जेल जालान् कि धरौटीमा छुट्लान् ?’

तिहार सकिएलगत्तै काठमाडौं जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहस पछिको आदेशले त्यो अन्योल पनि हटाइदियो। अब उनले पुनरावेदन दिएको हकमा फरक आदेश नआएसम्म बलात्कार प्रयासको अभियोगको मुद्दा अन्तिम किनारा नलागेसम्म महराको बसाई कारागारमै हुनेछ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा महरालाई अदालतले सोमबार मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी डिल्लीबजार कारागार पुगेका छन्।

जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासबाट आएको आदेशअनुसार उनी डिल्लीबजार कारागारको ‘क ब्लक’मा पुगिसकेका छन्।

गएको असोज १२ गते राति संसद सचिवालयकी कर्मचारीले महरा आफ्नो कोठामा आएर बलात्कार प्रयास गरेको दाबी गरेकी थिइन्। हाम्राकुराडटकमले भिडियोसहित आरोप सार्वजनिक गरेसँगै घटनामा निकै ट्विस्टहरु आइरहे।

पीडित महिलाले बयान बदलिइरहिन्। बल्ल बल्ल प्रहरीमा जाहेरी दिएपछि बलात्कार प्रयासको आरोपमा महरा असोज १९ मा पक्राउ परे। नियमअनुसार अदालतमा मुद्दा नपुगेसम्म उनी प्रहरी हिरासतमा बस्नुपर्ने हो तर बिरामी भएर अस्पतालमै भर्ना हुनुपर्ने अवस्थामा अस्पताल राख्नुपर्ने प्रावधानको दुरुपयोग गर्दै गम्भीर बिरामी नभए पनि उच्च रक्तचापको बहाना बनाएर उनी नर्भिक अस्पतालमा बसेका थिए।

महरा पक्राउपछि पनि पीडित महिलाले प्रहरीले जबर्जस्ती जाहेरी दिन लगाएको भन्दै अदालतमा निवेदन दिएपछि अदालतले यो मुद्दालाई कसरी हेर्छ भन्ने जिज्ञासा बढाएको थियो। पीडितले नै हैन भनेपछि प्रमाण कमजोर भएको देखिए पनि अनुसन्धानमा संकलित प्रमाणको आधारमा अदालतले उनलाई तत्कालका लागि जेलै पठाउने आदेश दियो।

Leave A Comment