‘छ माया छपक्कै’ विवाद : ‘थिम मिलेको हो, फिल्म त मिल्दैन’

शनिबार, ०९ कार्तिक २०७६, ०२ : ०५ शुक्रवार
‘छ माया छपक्कै’ विवाद : ‘थिम मिलेको हो, फिल्म त मिल्दैन’

पछिल्लो समय ‘गोपी’ र ‘घामपानी’ निर्देशन गरेका निर्देशक दीपेन्द्र लामाले यसपालि दीपक–दीपाको ‘छ माया छपक्कै’ निर्देशन गरे। प्रदर्शनरत फिल्ममा दीपेन्द्रले पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषय उठाए। उनी निर्देशित ‘छ माया छपक्कै’को सेन्ट्रल थिम भारतीय फिल्म ‘कौन कितने पानी में’सँग मिल्यो। भएको के हो ? निर्देशक लामासँग रीना मोक्तानले गरेको कुराकानीः 

‘छ माया छपक्कै’ त भारतीय ‘कौन कितने पानी में’ जस्तै देखियो नि ?
यो ‘कौन कितने पानी में’ भन्ने फिल्म २०१५ मा प्रदर्शनमा आएको रहेछ। ‘छ माया छपक्कै’को पहिला नाम जुराएको थिइनँ। २०१३ तिर पानीको प्रेमकथा भनेर सम्भावित नाम राखेर मैले कथा लेखेको थिएँ। खासमा त्यो नाम नवीन सुब्बाको हो। मैले ६ वर्षअघि नै लेखेको कथा हो।

कथामा केटाको गाउँमा पानी नहुने अनि केटीको गाउँमा पानी हुने। छोरी माग्न जाँदा छोरी नदिने अवस्थामा केटाले पानीका लागि संघर्ष गर्छ। त्यो कथा मैले ‘फिटकिरी’ फिल्म गरेर बसेको अनुप बराललाई इमेल गरेको थिएँ। लगानीकर्ताले इच्छा नदेखाएपछि यो कथा यत्तिकै थियो।

‘छ माया छपक्कै’ निर्देशन अगाडि ‘कौन कितने पानी में’ हेर्नु भएको थियो ?
एक दिन फिल्मकी हिरोइन केकी अधिकारीलाई यो फिल्मको लिंक आयो। तिमीहरुको शत्रुले यो फिल्म खोजेर राखेको छ, होस् गरेर बस्नु भनेर केकीलाई भनेको रहेछ। अनि दीपकराजले मलाई सोध्यो के हो भनेर। मैले २०१३ मै फिल्म लेखेको प्रमाण दिएँ। मेरो निर्माता र मैले दसैं अगाडि त्यो फिल्म हे-यौं । खासमा फिल्म त मिल्दैन। थिम मात्र मिल्ने हो। खानेपानीको समस्या हो दुवै फिल्ममा। त्यो फिल्ममा त्यस्तो धेरै राजनीति पनि थिएन। समस्या पर्दैन भनेपछि हामीले यो कुरालाई वास्तै गरेनौं। यो विषयलाई उठाउलान् भनेर नै हामीले गोदावरी घटनामा आधारित भनेर लेखेका हौँ।

कहाँको स्टोरी हो रे ?
काभ्रेको कोट तिमाल भन्ने ठाउँको कथा हो यो। म त्यहाँ जाँदा देखेको कथा हो। कोट तिमालमा अहिले पनि तिमाल क्षेत्रको अन्य ठाउँबाट छोरी पठाउँदैनन्। मेरो ससुराल कोट तिमाल हो। त्यहाँको जनजीवन हेर्दा मलाई ती कुराले छोइरहेको थियो।

‘छ माया छपक्कै’को नाम अनुसार विषयवस्तु मिल्दैन। किन जबर्जस्ती नाम राखेको ?
मैले गाईपालनसम्बन्धी बनाएको फिल्मको नाम ‘गोपी’ राखेँ। ‘गोपी’ राखेपछि फिल्मलाई बेफाइदा पनि भयोे। गाईपालनसम्बन्धी ‘गोपी’ भन्ने भयो। ‘छ माया छपक्कै’को ‘काकाकुल’ र ‘खडेरी’ नाम राखेको भए के हेर्नु भन्ने हुन्थ्यो दर्शकमा। त्यसैले ‘छ माया छपक्कै’ राख्यौं। विषयवस्तुसँग नमिले पनि फिल्ममा माया पनि छ नि ! खासमा चासो जगाउने नाम राखेको हो। ‘वडा नम्बर २’, ‘२६/४६’ पनि राख्न खोज्या थियौं।

‘गोपी’ र ‘घामपानी’ फिल्ममा कमजोरी देखिए पनि कथामा अन्योल देखिएको थिएन। यसमा उपकथाले मूल कथा थिचियो। निर्देशकलाई सल्लाहकार निर्देशकले थिच्दा यस्तो भा हो ?
निर्देशन सल्लाहकार त सुटिङ स्पटमा मात्र थियो। राजनीति र लभस्टोरी त टेबलवर्कमै हालेको कुरा हो। पहिला हाम्रो यो फिल्मलाई ‘गोपी’ जस्तो बनाउने कि ‘छक्कापञ्जा’ जस्तो बनाउने भनेर सल्लाह भएको थियो। तर यसलाई ‘गोपी’ जस्तो पनि नबनाउने ‘छक्का पञ्जा’ जस्तो पनि नबनाउने, बीचको बनाउने सल्लाह भयो। त्यसैले विषयवस्तुको गम्भीरतालाई पनि समात्ने अनि हल्काफुल्का कन्टेन्ट पनि हाल्ने हिसाबले फिल्म बनायौं। अब खाली पानी पानी मात्रै देखाएको भए मोनोटोनस हुन्थ्यो दर्शकलाई। तर, फिल्म निर्माणको सुरुदेखि दीपाश्री हुनुहुन्थ्यो। उहाँबाट सुन्ने काम भएको थियो। छक्का पञ्जाको रेकर्ड यो फिल्मले नतोड्ने देखिसक्यो। ‘छक्का पञ्जा ३’ले त २० करोड छोएको थियो।

फिल्ममा तपाईंको निर्देशन कला देखिएन भन्ने त स्वीकार्नु हुन्छ नि !
आलोचकहरुले अहिलेसम्म मेरो निर्देशन कला देखेकै छैनन्। ‘घामपानी’ पनि निर्देशन कला खासै देखिएन भनेका थिए। ‘गोपी’मा खासै देखिएन भने। अब अहिले पनि भनिरहेका छन्। त्यसलाई म खासै अस्वाभाविक मान्दिनँ। कमजोरी होलान्, त्यो आफ्नो ठाउँमा छ। मैले अझै धेरै सिक्न बाँकी छ। यो त मेरो तेस्रो फिल्म न हो ! आठ वटा वटा फिल्म बनाइसक्दा त कतिपय निर्देशक स्थापित हुँदैनन्। अहिले नै दीपेन्द्र लामा यस्तो निर्देशक हो, यसले यस्तो फिल्म बनाउन मिल्दैन भन्न मिल्दैन।

Leave A Comment