द्वेषले मन दूषित पार्छ

बुधबार, २६ साउन २०७३, १० : २९ खप्तड बाबा , Kathmandu
द्वेषले मन दूषित पार्छ

मन ब्रह्मको मायिक क्रीडा हो । एक पूर्ण सत्ता नै आफ्नो अनेक मिथ्या रूप प्रकट गर्दछ, तापनि उसको पूर्णतामा कुनै हेरफेर हुँदैन । उसको केही गर्नु–नगर्नु पूर्णताकै महिमाको प्रतिपादन हो । जस्तै, मरुमरीचिकाको जल मरुभूमिलाई भिजाउन सक्दैन, स्वप्नको अग्निकाण्ड र जलप्लावन जागृत्का वस्तुलाई जलाउन र भिजाउन सक्दैन । त्यस्तै मिथ्या नाम रूपहरूको बन्नु–बिग्रनुले सत् स्परूपलाई स्पर्श पनि गर्न सक्दैन । जसरी स्वप्नबाट जाग्नेबित्तिकै स्वप्नको अग्निकाण्ड, जल डुबान तथा उसबाट उत्पन्न भएको दुःख र भयको मिथ्यात्व स्वतः निश्चय भइहाल्दछ, उसरी नै जागृत्को प्रपञ्चले तुरीयावस्था या निर्विकल्प समाधिको महान् जागरणमा स्वतः निश्चय भइहाल्दछ । जसरी डोरीमा डोरीको ज्ञान भइसकेपछि सर्प कहीँ देखिन्न, उसरी नै मन लीन भइसकेपछि द्वैतको कुनै गन्ध पाइँदैन । जसरी स्वप्नको सम्पूर्ण संसार जागेपछि मनरूपमात्र ज्ञात हुन्छ, उसरी नै जागृत्को सम्पूर्ण प्रपञ्च तुरीयावस्थामा एक आत्मरूपमात्र बोध हुन्छ । जसरी सूर्यको प्रकाशमा त्यसको विरोधी स्वभाव भएको अन्धकार विलीन भइहाल्दछ, त्यस्तै ब्रह्ममा सम्पूर्ण दृष्यप्रपञ्च विलीन भइहाल्दछ । त्यसको मिथ्यात्व निश्चय पुनः द्वैतको भूमिकामा उत्रेपछि हुन्छ । जस्तै सूर्यको तेजबाट उत्पन्न भएको मेघले सूर्यलाई नै आत्माबाट प्रकट भएको यो हृदय प्रपञ्चले आत्मालाई ढाकिदिन्छ, आकाशबाट वायु, वायुबाट अग्नि, अग्निबाट जल र जलबाट पृथ्वी उत्पन्न हुन्छन्, आँधीतुफानमा त्यही पृथ्वीले धूलोको रूपमा आकाशलाई नै ढाकिदिन्छ, त्यसरी नै आत्माबाट प्रकट भएको अविद्या मन नै राग, द्वेषमा परेर आत्मालाई आच्छादित गरिदिन्छ ।
 

Leave A Comment