विश्वव्यापी गरिबी घटाउने प्रयोगात्मक अवधारणालाई नोबेल पुरस्कार

मङ्गलबार, २८ असोज २०७६, ०१ : ०५ शुक्रवार
विश्वव्यापी गरिबी घटाउने प्रयोगात्मक अवधारणालाई नोबेल पुरस्कार

द रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सन् २०१९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भारतीय मूलका अमेरिकी अभिजित बनर्जी, फेन्च मूलकी अमेरिकी एस्थर डुफ्लो र अर्का अमेरिकी माइकल क्रेमरलाई दिने निर्णय गरेको छ।

विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक अवधारणाका लागि उनीहरुलाई आधिकारिक रुपमा स्भेरिगेस रिक्स्ब्यांक प्राइज इन इकोनोमिक साइन्सेस इन मेमोरी अफ अल्फ्रेड नोबेल नामले चिनिने नोबेल पुरस्कार दिइएको संस्थाले जनाएको छ।

यी तीनजनाले नौ लाख १८ हजार अमेरिकी डलर दामासाहीले, स्वर्णपदक र प्रमाणपत्र पाउने छन्। भारतको युनिभर्सिटी अफ कलकत्ता, जवाहरलाल नेहरु युनिभर्सिटी र अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरेका बनर्जी भारतको मुम्बईमा सन् २०६१ मा जन्मेका हुन्। एस्थर फ्रान्सको पेरिसमा सन् १९७२ मा र क्रेमेर १९६४ मा जन्मेका हुन्। बनर्जीले हार्वर्डबाट पिएचडी गरेका हुन्। एस्थर बनर्जीकी श्रीमती पनि हुन्।

यी तीनजनाले गरेको अध्ययनले विश्वव्यापी गरिबीविरुद्ध लड्ने क्षमतामा उल्लेख्य सुधार गरेको नोबेल कमिटीले जनाएको छ। ‘जम्मा दुई दशकको अवधिमा उनीहरुको नयाँ प्रयोगमा आधारित अवधारणाले विकास अर्थशास्त्रलाई रुपान्तरण गरेको छ, जुन अहिले अनुसन्धानको क्षेत्रमा फस्टाइरहेको छ,’ नोबेल पुरस्कार छनोट समितिले भनेको छ।

सन् १९९० को दशकको मध्यतिर माइकल क्रेमेर र उनका साथीहरुले प्रयोगमा आधारित अवधारणा कति शक्तिशाली हुन्छ भन्ने कुरा प्रदर्शन गरेका थिए। यसका लागि उनीहरुले पश्चिमी केन्यामा स्कुलको नतिजा सुधार्न सक्ने थुप्रै हस्तक्षेपहरुको स्थलगत प्रयोग गरेका थिए।

‘सधैं जसो क्रेमेरको साथ रहने बनर्जी र डुफ्लोले त्यसलगत्तै आफ्नो विषय र भारत लगायत अन्य मुलुकमा त्यस्तै किसिमका अध्ययनहरु गरेका थिए। उनीहरुको प्रयोगात्मक अनुसन्धान पद्धतिले अहिले विकास अर्थशास्त्रलाई पूर्ण रुपमा नियन्त्रण गरेको छ,’ नोबेल पुरस्कारको ट्विटर ह्यान्डिलमा भनिएको छ।

एस्थर अर्थशास्त्रमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार जित्ने महिला बनेकी छन्। अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने उनी दोस्रो महिला पनि हुन्। यसअघि सन् २००९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार इलोनोर ओस्ट्रोले पाएकी थिइन्।

Leave A Comment