डिप्रेसनले निम्याउँछ यौन इच्छामा बाधा

सोमबार, २४ साउन २०७३, १२ : १२ शुक्रवार , Kathmandu
डिप्रेसनले निम्याउँछ यौन इच्छामा बाधा

म ४२ वर्षीय विवाहित पुरुष हुँ । मलाई सेक्स गर्ने इच्छा नै हुँदैन । यौन उत्तेजना पनि हुँदैन । कहिलेकाहीँ सम्पर्क गर्न खोज्दा तुरुन्तै स्खलन हुन्छ । राति अबेरसम्म निदाउन नसक्ने भएकाले निद्रा लाग्ने औषधि सेवन गर्ने गरेको छु । केही समय मैले डिप्रेसनको औषधि पनि खाएको थिएँ । डिप्रेसन र मानसिक रोग भएकाहरू सेक्समा सक्रिय हुन सक्दैनन् ? मैले यौन उत्तेजना बढाउन के गर्नुपर्ला ?
टी

यौनसँग सम्बन्धित अधिकांश समस्या मानसिक कारणसँग जोडिएका हुन्छन् । यौनबारे विद्यमान भ्रम तथा मानसिक रोग भएकै कारण कतिपयले यौन समस्या भोगिरहेका हुन्छन् । मानसिक रोगका कारण सेक्समा सक्रिय हुन नसक्ने र फेरि ‘सेक्समा सक्रिय रहन सकिनँ’ भनेर चिन्ता लिनाले पनि कतिपय पुरुष दोहोरो समस्या भोगिरहेका हुन्छन् । मानसिक कारणले हुने यौन समस्या विभिन्न प्रकारका हुन्छन् । यौन इच्छा, उत्तेजना, चरम आनन्द, यौन सम्पर्कका बेला पीडा÷दुखाइजस्ता समस्या मानसिक रोगका कारण हुने गर्छन् ।
यौन इच्छा कम हुने वा पटक्कै नहुने अवस्थालाई ‘हाइपोसेक्सुआलिटी’ भनिन्छ । यो सुरुदेखि नै उपस्थित हुन सक्छ वा केही समयको सामान्यपनपछि पनि आउन सक्छ । यो समस्त क्रियाकलापमा, साथीसित वा कुनै खास परिस्थितिमा मात्र पनि हुन सक्छ । कुनै जैविक त्रुटिविना पनि हुन सक्छ वा विभिन्न शारीरिक एवं मानसिक रोगका कारण पनि हुन सक्छ । शरीरका विभिन्न ग्रन्थी (हर्माेन) को असामान्यपन, उच्च रक्तचाप र मधुमेहको उपचारका लागि सेवन गरिएको औषधिका कारण तथा लागुपदार्थको असर आदि कारणले पनि यौन इच्छा र उत्तेजनामा समस्या आउन सक्छ ।
उदासी (डिप्रेसन), चिन्ता आदि रोगमा पनि यौन इच्छा कम हुन सक्छ । डिप्रेसनका बिरामीले सेवन गर्ने औषधिले यौन उत्तेजनामा समस्या ल्याउन सक्छ । तपाईंले सेवन गरेको औषधिको कम्पोजिसनबारे विस्तृत जानकारी नभएसम्म औषधिकै कारण तपाईंको यौन उत्तेजनामा समस्या आएको हो कि होइन यकिनका साथ भन्न सकिँदैन ।
महिला र पुरुष दुवैमा हुने समस्या हो यो । महिलामा यौनक्रियाका बेला यौनांग फुल्ने तथा चिप्लो हुनुपर्नेमा सुक्खा भइदिनाले सम्बन्ध पीडादायी हुन सक्छ । पुरुषमा यौन सम्पर्कका बेला लिंग उत्तेजित नहुँदा सम्बन्ध सन्तोषजनक नहुन सक्छ । यस्तो अवस्थालाई ‘इरेक्टाइल डिसफंक्सन’ (इम्पोटेन्स) भन्निछ । लिंग उत्तेजित हुने तर सम्पर्क सुरु हुनुअगावै वा सम्पर्क सुरु गरेलगत्तै वीर्य स्खलन भइहाल्ने अवस्थालाई शीघ्रपतन वा ‘प्रिम्याच्युअर इजाकुलेसन’ भनिन्छ । यी समस्या प्रायः डर, चिन्ता, उदासी आदिका कारणले हुने गर्छ । तपाईंको लिंग निद्रामा, बिहानीपख, हस्तमैथुन वा अन्य परिस्थितिमा उत्तेजनामा आएमा यौन सम्पर्कका बेला उत्तेजनामा नआउनुको मुख्य कारण मानसिक नै भएको ठोकुवा गर्न सकिन्छ ।
मानसिक कारणले भएका यौन समस्यालाई मनोचिकित्सकीय, व्यावहारिक पद्धति वा औषधि उपचार एकैसाथ गर्नुपर्ने हुन्छ । जोडीका दुवै सदस्यलाई एकसाथ उपचार गर्दा प्रभावकारी हुन्छ । जोडीलाई एकआपसमा समस्या, आफ्ना रुचिबारे खुलेर छलफल, कुराकानी गर्न र केले बढी आनन्द प्राप्त हुन्छ भनी विभिन्न प्रयोग र आफ्ना शरीर अन्वेषण गर्न हौसला दिने गरिन्छ । सुरुमा शरीरका संवेदनशील भागहरूमा केन्द्रित भई सम्पर्क बढाउँदै अन्त्यमा सफल सहवासमा टुंग्याउने तरिकालाई अपनाउनुपर्ने हुन्छ ।
यौन उत्तेजनामा समस्याको उपचारका लागि मुख्य गरी डर, चिन्ता निवारण गर्ने व्यावहारिक चिकित्सा प्रभावकारी हुन्छ । चिकित्सकको सल्लाहमा यौन उत्तेजना बढाउने औषधि पनि सेवन गर्न सकिन्छ ।
 

 

 

Leave A Comment