मदिरामय मौसम : पिउँदा आहा, कलेजो स्वाहा

शनिबार, १८ असोज २०७६, ०१ : ५० उपेन्द्र खड्का
मदिरामय मौसम : पिउँदा आहा, कलेजो स्वाहा

कुनै जमाना थियो, मदिरा सर्वस्वीकृत समुदायबाहेक अन्य घरका सदस्यको बिहेवारी गर्न नै समस्या हुन्थ्यो। फलानाको घरकाले त रक्सी खान्छन् रे भनेपछि छोरीचेली दिनै डराउँथे। अहिले यो एकादेशको कथा भइसक्यो। अहिले त मदिरा बिनाको बिहे नै दुर्लभ भइसक्यो।

बद्लिएको यही सामाजिक प्रचलनले देखाउँछ, नेपाली समाजमा मदिरा सेवन सामान्य भइसक्यो। मतवाली समुदायमा मदिरा संस्कार सामान्य थियो। अहिले मदिरावर्जित भनिएका बाहुन, क्षेत्रीको घरको बैठकमा पनि मदिराले सहजै प्रवेश पाइसक्यो।

बिहेबटुलो होस् या घरायसी रमझम, मदिरा अनिवार्यझैँ छ। के शहर, के गाउँ ? सबैतिर सहज बन्दै गइरहेको मदिराका कारण दसैं नै एक प्रकारले मदिरामय चाड बनिसक्यो।
कस्तो छ त नेपालमा मदिराको व्यापार अनि पिउनेहरु ? तथ्यांक हेरौं।

विश्व स्वास्थ्य संगठनको सन् २०१० को रिपोर्टअनुसार एकजना नेपालीले २ लिटर शुद्ध मदिरा  पिउँछन्। नेपाल मदिरा सेवन गर्ने मुलुकमा एक सय ४९ औं स्थानमा पर्छ।

नेपालको तथ्यांकअनुसार यहाँ आन्तरिक रुपमा उत्पादित ब्रान्डेड मदिरा वार्षिक करिब ३४ करोड लिटर खपत हुन्छ। आर्थिक वर्ष ०७३/०७४ मा २२ करोड ६२ लाख ११ हजार लिटर मदिरा उपभोग भएकोमा आर्थिक वर्ष ०७४/०७५ मा ३४ करोड ४३ लाख ५३ हजार लिटर पुगेको थियो।

तस्बिर: कृष्पा श्रेष्ठ, मोडल : करुणा श्रेष्ठ, नितेश खत्री, लोकेसन : द टिन्डर बक्स

यो त भयो नेपालभित्रै उत्पादन हुने मदिराको तथ्यांक। नेपालमा विभिन्न देशबाट समेत मदिरा आयात हुन्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ७७ लाख लिटर मदिरा भित्रिएको थियो। आर्थिक वर्ष ०७४/७५ मा १ करोड १६ लाख लिटर मदिरा आयात भयो। नेपालमा उत्पादन भइरहेको मदिरा र विदेशबाट आयात भइरहेको मदिराको मात्रा जोड्दा ३५ करोड लिटर नाघ्छ।

नेपालमा हरेक वर्ष ३५ करोड लिटर मदिरा खपत हुन्छ। जनसंख्याअनुसार खपत हुने मदिराको मात्रा बाँड्ने हो भने एक नेपालीको भागमा एक वर्षमा १३ लिटर ब्रान्डेड मदिरा पर्छ।

अब यही मदिराको तथ्यांकलाई नेपालको जनसंख्यासँग दाँज्ने हो भने एक नेपालीले वर्षमा १३ लिटर मदिरा पिउँछन्। यसमा घरेलु उत्पादन अझै जोडिएको छैन। त्यो जोड्ने हो भने यसको उत्पादन मात्रा र खपतको तथ्यांक थप बढ्छ।

आउने ४६ अर्ब, जाने ३ अर्ब
नेपालमा मदिरा उत्पादक कम्पनी करिब ५० वटा छन्। बियरका ९ र वाइन उत्पादक ३० कम्पनी छन्। आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार राज्यले हरेक वर्ष मदिराबाट वर्षको २५ अर्ब हाराहारी राजश्व सङ्कलन गर्ने गर्छ। आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष ०७५/७६ मा नेपालभित्रै बनेको मदिराबाट २५ अर्ब २१ करोड राजश्व उठ्यो। यो बियर बाहेकको राजश्व हो। बियरबाट मात्रै वर्षमा राज्यले २० अर्ब ८८ करोड राजश्व उठाउँछ।

विदेशबाट आउने मदिरामा अल्कोहलको मात्राअनुसार कर लाग्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ४ अर्ब १९ करोड राजश्व उठ्यो। ०७४/७५ मा ३ अर्ब ९९ करोड राजश्व उठ्यो भने  ०७५/७६ मा ४ अर्ब १९ करोड राजश्व आयो।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, अमेरिका, युएई, सिंगापुर, बेल्जियम, बेलायत, कोरिया, फिलिपिन्स, स्पेन, ब्राजिलजस्ता मुलुकबाट मदिरा आयात हुने गरेको छ।

हाइग्रेड मदिरा हाइक्लासमा
नेपालमा विशेषगरी ४० प्रतिशत अल्कोहल भएका मदिरा बढी मात्रामा उपभोग हुन्छ। २५ र ३० युपीका मदिरामा अन्तःशुल्क (कर) बढी लाग्ने भएकाले महँगो पर्ने नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरुप्रसाद अधिकारीले बताए। उनका अनुसार तुलनात्मक रुपमा ४० युपीका मदिरा सस्तो हुने भएकाले मदिरा पिउनेले ४० युपीका मदिरा बढी खोज्छन्।

७० युपीको मदिरामा अल्कोहलको मात्रा १७ प्रतिशत हुन्छ। ५० युपीको मदिरामा २८ प्रतिशत, ४० युपीमा ३४ प्रतिशत, ३० युपीमा ४० प्रतिशत र २५ युपीमा ४२ प्रतिशत अल्कोहलको मात्रा हुन्छ। २५ र ३० युपीका मदिरामा भोड्का, ह्विस्कीजस्ता मदिरा पर्छन्।

‘२५ र ३० युपीका मदिरा सेवनकर्ता घट्दो क्रममा छन्,’ महासचिव अधिकारीले भने, ‘यी मदिरा पिउने व्यक्तिले ४० युपीको पिउन थाले।’

व्यवसायीका अनुसार ४०, ५०, ७० युपीका मदिरा सामान्य आय भएका नेपालीले पिउँछन् भने २५, ३० युपीका मदिरा उच्च आयस्रोत भएका स्वदेशी र विदेशीले पिउँछन्।

बियर र वाइनमा अल्कोहलको मात्रा कम हुने भए पनि यसको उपभोग बढी नै देखिन्छ। व्यवसायीको अनुमानमा विशेषगरी मदिरा पिउन सुरु गर्ने सिकारु, युवा र महिलाले बियर र वाइन पिउँछन्। बजार खुद्रा मूल्य हेर्ने हो भने नेपालमा न्यूनतम ८ सयदेखि पाँच लाख रुपैयाँसम्मका ह्विस्की पाइन्छन्।

जति बढी पियो उति जोखिम
बद्लिदो समाजिक परिवेशअनुसार मदिरा सेवन सामान्य भइसक्यो। हरेक वर्ष उत्पादन बढिरहेको मदिराको मात्राले सेवनकर्ता बढिरहेको देखाउँछ। नेपालीको व्यवहार नजिकबाट हेरिरहेका चिकित्सकहरुका अनुसार नेपालीहरु बढी मदिरा पिउँदैछन्। उनीहरुको चिन्ता छ, जति बढी मदिरा पियो त्यत्ति नै स्वास्थ्यमा जोखिम बढ्छ।

मदिरा पिएपछि अन्य पेय र खाद्य पदार्थझैँ पेटमा पुगेर पाचनप्रणालीमार्फत शरीरमा फैलन पाउँदैन। जिब्रोदेखि नै कोषिकाले सोस्न थाल्छ। पेटमा पुग्दासम्म त शरीरका विभिन्न कोषिकाले अल्कोहल सोसिसकेको हुन्छ।

अल्कोहल रगतको माध्यमबाट मस्तिष्कमा पुग्ने भएकाले यसले मस्तिष्कमा रहेको ‘इनिभिसन’लाई नै कम गर्ने वीर अस्पतालका कलेजो रोग विशेषज्ञ  डा. विकास जैसी बताउँछन्।

‘इनिभिसन’ कम भएपछि डर हट्ने र रमाइलो अनुभूति हुन्छ। जसले व्यक्तिमा उत्तेजना ल्याउँछ,’  डा. जैसीले भने, ‘मदिरा सेवन गरेकै समयमा व्यक्तिले आफ्नो मनको कुण्ठा व्यक्त गर्छ।’

अल्कोहलको मात्रा बढ्दै जाँदा मस्तिष्कका कोषिका निष्क्रिय हुने भएकाले व्यक्ति लठ्ठिँदै जान्छ। मदिराको मात्रा धेरै हुँदा मानिस अचेतसम्म हुनसक्छ। जैसीका अनुसार रगतमा अल्कोहलको मात्रा २ सय ५० मिलिग्राम भन्दा बढी भए व्यक्ति लठ्ठिँदै जान्छ।

निरन्तर मदिरा सेवन गर्दा सबैभन्दा पहिले मस्तिष्कमा असर गर्छ। त्यसपछि कलेजो, आमाशय, मृगौलाजस्ता अंगप्रत्याङ्गमा असर गर्दै जान्छ। जसले व्यक्तिको रोगविरुद्ध लड्ने क्षमतामा समेत कमजोर हुन्छ।

खाँदा आहा तर कलेजो स्वाहा
चिकित्सकका अनुसार अल्कोहलमा ‘एल्डी हाइड’ नामक रसायन हुन्छ, जसले कलेजो तथा शरीरका कोषिकालाई मार्छ। आवश्यक कोषिकाकै मृत्यु भएपछि अनावश्यक कोषिका बच्छन्। जसका कारण कलेजोमा अनावश्यक डल्ला आउँछन् र कलेजोले सहज रुपमा काम गर्न सक्दैन।

कलेजोले प्रोटिन, फ्याट, भिटामिन बनाउने, रगत बाक्लो बनाउने, इन्फेक्सनबाट जोगाउने तथा अन्य अंगलाई सुरक्षित गर्ने काम गर्छ। यस्तो महत्वपूर्ण कलेजो कमजोर भएपछि व्यक्तिका अन्य अंग सुरक्षित हुँदैनन्। डा. जैसीका अनुसार रक्सीजन्य पदार्थको सेवनपछि कलेजोले काम नगर्दा ५० प्रतिशत व्यक्तिको मृत्यु हुने गरेको छ।
मदिराले कलेजोको चार तहमा असर गर्ने चिकित्सक बताउँछन्।

पुरुषले एक हप्तामा २ सय १० ग्राम र महिलाले १ सय ४० ग्राम भन्दा बढी मदिरा पिए कलेजोमा समस्या आउँछ। मदिराको असरले कलेजोमा बोसो जम्छ। जसलाई चिकित्सकीय भाषामा ‘फ्याटी लिभर’ भनिन्छ। मात्राभन्दा बढी पिउँदा मात्रै हैन, कम मात्रामा नियमित पिउँदासमेत कलेजोमा बोसो जम्ने जोखिम हुने कलेजो रोग विशेषज्ञ डा. जैसी बताउँछन्।

मदिरा सेवन गर्न नछोडेको खण्डमा भने कलेजोको संक्रमण हुन्छ। मदिरा सेवनका कारण कलेजोमा हुने संक्रमणलाई ‘अल्कोहलिक हेपाटाइटिस’ भनिन्छ। संक्रमण भएको खण्डमा जन्डिस देखिने, कोखा दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन्।

समस्या बढ्दै गए कलेजो कडा बन्छ। जसलाई ‘अल्कोहलिक सिरोसिस’ भनिन्छ। कलेजो कडा भएको अवस्थामा पेटमा पानी जम्ने, जन्डिस हुने, रगत–बान्ता हुने, मृगौलामा समस्या हुने, बेहोस हुनेजस्ता समस्या देखिन्छन्।
चौथो चरणमा कलेजोको क्यान्सरै हुने चिकित्सक बताउँछन्।

मुटुमा पनि हान्छ है
मदिरा सेवनले मुटुको पम्प कमजोर हुने तथा रक्तचाप बढ्ने लगायतका समस्या हुने सिभिल अस्पतालका मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालले बताए।

‘बियर, वाइन, ह्विस्कीजस्ता पेय पदार्थमा इथाइल अल्कोहल हुन्छ। जसले मुटुमा नकारात्मक असर गर्छ,’ डा. लम्सालले भने, ‘वयस्क व्यक्तिले दैनिक दुई युनिट भन्दा बढी मदिरा सेवन गर्नु हुन्न।’

मुटुको चाल अनियन्त्रित हुने, मस्तिष्क पक्षघात हुनेजस्ता समस्या मदिराका असर हुन्छन्। रगत बाक्लो हुने लगायतका समस्या बढ्दै जाँदा रगत पास हुने नशा खुम्च्याउँदा हर्ट अट्याकको चरणसम्म पु-याउँछ मदिराले।

किन बढ्दैछ मदिरा सेवन
समाजशास्त्रीको मतअनुसार जुन समाजमा तनाव बढ्दै जान्छ, त्यहाँ मदिराको खपत बढ्दै जान्छ। जुन समाजको विकासको गति नियमित हुन्छ, समाज सुरक्षित हुन्छ, आम नागरिक कम तनावमा हुन्छन्। त्यहाँ मदिराको खपत सामान्य हुन्छ।

जुन समाजमा राजनीतिक उतार चढाव भइरहन्छ, आर्थिक अवस्था तलमाथि भइरहन्छ, त्यहाँ मदिराको खपत ह्वात्तै बढाउँछ। व्यक्तिमा तनाव बढेपछि विकल्पको खोजीका क्रममा मदिराको सेवनतिर लाग्ने, उच्च दरमा मदिरा सेवन गर्ने व्यवहार बढ्ने समाजशास्त्रीको मत देखिन्छ। सामाजिक, पारिवारिक तनाव कम गर्न व्यक्ति मनोरञ्जन र मदिरातिर बढी केन्द्रित हुने विभिन्न अध्ययनले समेत देखाएका छन्।

सबैभन्दा बढी शारीरिक श्रम गर्ने जमातमा आराम मिल्छ भन्ने भ्रमले मदिरा सेवन गर्ने गरेको अर्थ राजनीतिज्ञ हरि रोका बताउँछन्। शारीरिक श्रम गर्ने व्यक्तिसँगै अहिले सोख र मनोरञ्जनका रुपमा समेत मदिरा पिउने गरिन्छ।

‘आर्थिक अवस्था कमजोर भएकाले पिउने र आर्थिक अवस्था सबल भएकाले नपिउने भन्ने हुन्न, पैसा नभई मदिरा पिइन्न,’ उनले भने।

Leave A Comment