कति उमेरको बच्चालाई स्मार्टफोन दिने ?

सोमबार, २४ साउन २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
कति उमेरको बच्चालाई स्मार्टफोन दिने ?

केही समयअघि धेरै अभिभावक आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए । तर, अहिले उनीहरू एउटै प्रश्नमा रुमल्लिरहेका छन्– ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोन प्रयोग गर्न दिने ?  
प्रविधिले राज गरिरहेको यो समयमा स्मार्टफोन इन्टनेट प्रयोग गर्ने मुख्य माध्यम बनेको छ । इन्टरनेटका जति फाइदा छन्, बेफाइदा पनि उतिकै छन् । स्मार्टफोन र कार चलाउनुमा कुनै तालमेल पनि मिल्दैन । यी दुई फरक विषय हुन् । धेरै राष्ट्रमा सवारीसाधन चलाउनका लागि निश्चित उमेरको हद तोकिएको हुन्छ । तर, संसारमा भएका कुनै पनि कानुनले अभिभावकलाई आफ्ना बच्चाहरूलाई यही उमेरमा स्मार्टफोन दिनुपर्छ भनेर तोकेको छैन ।
धेरेजसो बालबालिकाले कलिलो उमेरमै स्मार्टफोनको प्रयोग गर्ने क्रम बढेसँगै आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठीक भन्ने विषयमा चर्को बहस सुरु भएको छ । इन्फ्युएन्स सेन्ट्रलले सन् २०१२ मा १२ वर्षभन्दा कम उमेरका बालबालिकामा गरेको एक अनुसन्धानले कु्नै पनि बालबालिकाले स्मार्टफोन प्रयोग गर्ने औसत उमेर १० वर्ष भएको देखाएको थियो । सोही अध्ययनमा सहभागी केही बालबालिकाले सात वर्षको उमेरमै स्मार्ट फोन प्रयोग गरेको बताएका थिए ।
इन्फ्युएन्स सेन्ट्रलका प्रमुख स्टेसी डी ब्रोफका अनुसार अधिकांश बच्चा आफ्ना अभिभावकका स्मार्टफोन प्रयोग गर्छन् । ‘अधिकांश बालबालिका आफ्ना अभिभावकको स्मार्टफोन चलाउन मरिहत्ते गर्छन् । जसका कारण उनीहरू स्मार्टफोन दिन बाध्य पनि हुन्छन्,’ उनी भन्छन्, ‘यसकारण बालबालिकामा अझै कलिलो उमेरमा स्मार्टफोनको प्रयोग गर्ने भय देखिन्छ ।
कमनसेन्स मिडियाका प्रमुख जेम्स पी स्टेनरले आफूले आफ्ना छोराछोरीका लागि कडा नियम बनाएको बताए । ‘मेरा छोराछोरीले हाईस्कुल गएपछि मात्र स्मार्टफोन  प्रयोग गरे । किनभने, त्यो समयसम्म उनीहरूलाई फेस टू फेस कम्युनिकेसन र आफ्नो दायित्वबारे थाहा भइसकेको थियो,’ उनले भने ।
अभिभावकले आफ्ना छोराछोरीलाई स्मार्टफोन दिँदा उमेरभन्दा पनि उनीहरू आफूले गरेको काममा कति जवाफदेही छन् भन्ने आधारहरू तय गर्नुपर्ने उनको बुझाइ छ ।
अध्ययनमा बालबालिकालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने भन्ने विषयमा इन्टरनेटका सेफ्टी विज्ञ तथा अभिभावकहरूलाई सोधिएको थियो । अध्ययनमा सहभागी केहीले स्मार्टफोनको प्रयोग गर्ने सही उमेर १२ वर्ष बताएका थिए भने केहीले १४ । तर, सहभागी सबैले स्मार्टफोनको प्रयोगले बालबालिकाहरू अनलाइनमार्फत सेक्स च्याट तथा अन्य गलत बाटोमा हिँड्न सक्ने आशंका व्यक्त गरेका थिए । त्यसैले स्मार्टफोन प्रयोग गर्न दिँदा उनीहरूको सुरक्षामा ध्यान दिनुपर्ने जोड सहभागीहरूले दिएका थिए ।
यस विषयमा धेरै अध्ययन तथा अनुसन्धान भएका छन् । सोही क्रममा मिस विनबर्जरले आफ्नो पुस्तक ‘दी बोजिनम्यान एज्ड ही इज इन योर चाइल्डस् पकेटका लागि १८ महिनाको अवधिमा करिब ७० हजार बालबालिकामा एक अध्ययन गरेकी थिइन् । अध्ययनमा बालबालिकाहरूले पाँच कक्षा पढ्दादेखि नै अश्लील वेबसाइट तथा सामग्रीहरू हेर्ने गरेको देखाएको थियो । उक्त अध्ययनले अश्लील वेबसाइट हेर्ने बालबालिकाको औसत उमेर ८ देखि ११ वर्षको बीचमा भएको देखाएका थियो ।
त्यस्तै, कमनसेन्स मिडियाले १ हजार २ सय ४० बालबालिका तथा अभिभावकमा गरेको अध्ययनमा सहभागी ५० प्रतिशत बालबालिकाले आफूहरू स्मार्टफोनको लतमा फसेको बताएका थिए । अध्ययनमा सहभागी ६४ प्रतिशत अभिभावकले आफ्ना बालबालिकाले अत्यधिक स्मार्टफोनको प्रयोग गर्ने बताएका थिए । ३६ प्रतिशतले आफ्ना बालबालिकासँग स्मार्टफोनका विषयमा दैनिक विवाद हुने बताएका थिए ।
स्मार्टफोनसम्बन्धी अहिले पनि धेरै भ्रम छन् । केहीले अध्ययनका सामग्री खोज्नुका साथै आफ्ना साथीभाइ तथा आफन्तसँग कुरा गर्न स्मार्टफोन प्रयोग हुने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका थिए । केहीले बालबालिकाले स्मार्टफोनको माध्यमबाट अश्लील वेबसाइट हेर्ने तथा गलत बाटोमा लाग्ने भन्दै यसलाई नकारात्मक रूपमा लिनुपर्ने बताएका थिए ।
विज्ञहरूले अभिभावकहरूले आफ्ना बालबालिकालाई कुन उमेरमा स्मार्टफोन प्रयोग गर्न दिने भन्ने विषयको निर्धारण आफैँ गर्नुपर्ने बताए । त्यसका लागि पहिले बालबालिकालाई सामान्य सन्देश पठाउन मिल्ने तथा फोनमात्र गर्न मिल्ने मोबाइल दिनुपर्ने र उनीहरूले यसको प्रयोग कुन रूपमा गर्छन् भन्ने निरीक्षण गर्नुपर्ने बताए ।
अध्ययनमा सहभागी एक अभिभावकले भने, ‘आफ्ना बालबालिकालाई स्मार्टफोन प्रयोग गर्न दिँदा केही नियमसम्बन्धी कागजमा हस्ताक्षर गराउनु जरुरी छ । जसमा उनीहरूले आफ्नो नग्न सेल्फी तथा अज्ञात व्यक्तिसँग कुनै प्रकारको संवाद नगर्न निर्देशन उल्लेख गरिएको हुन्छ ।’
अर्का एक अभिभावकले भने, ‘मैले मेरा बालबालिकालाई स्मार्टफोन प्रयोग गर्न दिएको छु । तर, उनीहरूले स्मार्टफोन डिनर टेबल तथा कक्षा कोठामा प्रयोग गर्न पाउँदैनन् । प्रयोग गरेको खण्डमा उक्त स्मार्टफोन खोसिन्छ ।’

अभिभावक स्वयंले आइफोन तथा एन्ड्रोइड स्मार्टफोनमा आफ्ना बालबालिकालाई अश्लील वेबसाइटको प्रयोग गर्नबाट रोक्न केही सेटिङको प्रयोग गर्न सक्छन् । त्यसका लागि अभिभावकले एप्पल आइफोनमा बोर्ड फूल फिचर्सको प्रयोग गर्न सक्छन् । यसबाट उनीहरूले बालबालिकालाई वयस्क सामग्री हेर्न तथा सेलुलर डाटाको प्रयोग गर्न रोक लगाउन सक्नेछन् ।
त्यस्तै, एन्ड्रोइड स्मार्टफोनमा सोही फिचर्स नभए पनि अभिभावकले त्यसमा भएको गुगल प्लेस्टोर एपको प्रयोगमा रोक लगाउनुका साथै आफ्ना बालबालिकाले साथीभाइलाई गरेका एसएमएस तथा फोनको दैनिक निरीक्षण गर्दा उनीहरूलाई कुलतको बाटोमा जानबाट रोक्न सकिन्छ ।

फेसबुकभन्दा पोकेमनको प्रयोगकर्ता दोब्बर

विश्वको नम्बर एक सामाजिक सञ्जाल फेसबुकलाई हालै मात्र बजारमा भाइरल भइरहेको मोबाइल खेल पोकेमन गोले पछि पारेको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले विश्वमा दैनिक फेसबुक चलाउने प्रयोगकर्ताको संख्याभन्दा पोकेमन गोका प्रयोगकर्ता दोब्बर भएको देखाएको छ ।
विगत तीन महिनामा फेसबुकमा ६० मिलियन प्रयोगकर्ता थप भएका छन् । फेसबुकका सीइओ मार्क जुकम्बर्गले हालै एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘अहिले हाम्रो फेसबुक एपको मुटु नै भिडियो फिचर भएको छ । त्यसैले हाम्रा प्रयोगकर्ताको संख्या दैनिक बढिरहेको छ ।
तर, फेसबुकको दैनिक प्रयोगकर्ता बढे पनि पोकेमन गोले फेसबुकले कायम गरेका धेरै रेकर्ड तोडेको छ । दैनिक रूपमा हेर्दा फेसबुकका प्रयोगकर्ताभन्दा पोकेमन गोका प्रयोगकर्ता झन्डै दोब्बर छन् । सार्वजनिक भएको एक हप्तामै प्रयोगकर्ताले दैनिक ७५ मिनेट पोकेमन गोमा खर्च गर्छन् भने फेसबुकमा प्रयोगकर्ताले केवल ३५ मिनेट समय बिताउँछन् ।

(‘न्युयोर्क टाइम्स’बाट)

Leave A Comment