कोतपर्व र भण्डारखालपर्व

सोमबार, २४ साउन २०७३, ०९ : ४३ प्रा. दिनेशराज पन्त , Kathmandu
कोतपर्व र भण्डारखालपर्व

कोतपर्व वि.सं. १९०३ भाद्र ३१ गते र भण्डारखालपर्व वि.सं. १९०३ कार्तिक १७ गते भएको हो । वि.सं. २०२४ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा १६ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको राजज्योतिषी भन्ने लेखमा (त्यस पूर्णाङ्कका ४०८–४०९ पृष्ठमा), वि.सं. २०२९ मा प्रकाशित पूर्णिमा २७ पूर्णाङ्कमा छापिएको बाबुराम आचार्यको राजेन्द्रविक्रम शाहको शासन भन्ने लेखमा (त्यस पूर्णाङ्कको १७७ पृष्ठमा) तथा २०३५ मा प्रकाशित पूर्णिमा ४० पूर्णाङ्कमा छापिएको नयराज पन्तको श्री ३ महाराज पद्मशमशेरका कुरा भन्ने लेखमा (त्यस पूर्णाङ्कका १६२, १६५ पृष्ठमा) यस विषयमा सप्रमाण लेखिएको छ । यसो भएतापनि अशुद्ध कुराको प्रचार पनि भइरहेको छ । यसको उदाहरणको रूपमा काठमाडौँबाट नयाँ प्रकाशन प्रा.लि.द्वारा प्रकाशित वि.सं. २०७३ वैशाख १४ गतेको नयाँ पत्रिका १० वर्ष १४ अङ्कको ६ पृष्ठमा छापिएको लोकसेवा प्रश्नोत्तरमा ऐतिहासिक कोतपर्व कहिले भएको थियो ? भन्ने सोधी वि.सं. १९०३ असोज ३ गते र ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ? भन्ने सोधी वि.सं. १९०३ कात्तिक १२ गते भनी उत्तर दिइएकोलाई देखाउन सकिन्छ । कोतपर्वको मिति र भण्डारखाल पर्वको मिति लोकसेवाको लागि चाहिने हुन् वा होइनन् ? यो विचारणीय विषय हुन सक्छ । तर, मिति चाहिने भए अशुद्ध मिति घोकाउने कुरा भने कुनै दृष्टिबाट पनि क्षम्य हुँदैन ।
 

 

Leave A Comment