रजश्वलापूर्वको यौन सम्बन्ध

मङ्गलबार, ३१ भदौ २०७६, ०१ : ५० डा. दिनेश बाँस्ताेला
रजश्वलापूर्वको यौन सम्बन्ध

सामान्यतः रजश्वला १० देखि १४ वर्षको उमेरमा भैसक्छ। अधिकांश रजश्वला सामान्य रुपमा चक्रीय प्रणालीमा चलिरहन्छ। कतिपय महिला (र बालिका)को भने रजश्वला भएको अवस्थामा दैनिक क्रियाकलापमा बाधा पर्ने, अन्तरसम्बन्ध बिग्रने, यौन जोडीसँगको सम्बन्ध बिग्रने तथा असामान्य अवस्था आउन सक्छ।

पहिला यस्तो समस्या समाधानका लागि जथाभावी औषधि वितरण गरिन्थ्यो। हिजोआज भने जथाभावी औषधि खाएर समाधान सम्भव छैन भन्ने जनचेतना बढेकाले छलफल र परामर्श हुन थालेको छ।

हिजोआज रजश्वला हुनुपूर्वको सामान्य अवस्था र असामान्य तथा उदासी अवस्था के हो भनी छुट्याउन थालिएको छ। रजश्वलापूर्व बालिका, टिन एजर तथा वयस्क अवस्थामा समस्या भएको छ वा छैन भनेर छुट्याउन सकिन्छ।

रजश्वलापूर्व महिलामा केही असामान्य अवस्थाको लक्षण देखिन सक्छ। मानसिक तत्व समावेश हुने कारण असामान्य अवस्थामा रजश्वलापूर्व महिला झड्कने, रिसाउने, उदासीन हुने तथा खिन्न हुनेजस्ता लक्षण देखिन्छन्। सामान्य रजश्वलापूर्वको अवस्थामा भने छोटो समयका लागि तल्लो पेट दुख्ने, शरीर भारी हुने, शरीर दुख्ने, दुवै स्तनमा मन्द दुखाई हुने, योनिबाट रगत बग्नेजस्ता लक्षण हुन्छन्। सामान्य अवस्थामा रजश्वला हुनुपूर्व महिलामा मानसिक रोगको लक्षण देखिँदैन।

अध्ययनअनुसार पाँच देखि १५ प्रतिशत महिलामा पूर्वरजश्वलाजन्य अनुभव सुखद हुँदैन। सामान्यतः महिनावारी हुनुभन्दा तीन दिन अघिबाट उनीहरुमा पीडादायी अवस्था सुरु हुन्छ। रजश्वला हुनुपूर्वको अवस्थामा हुने मानसिक समस्याको कारण पत्ता लगाई निदानका लागि उचित औषधि दिन या उपचार गर्न सकिन्छ।

शरीर मोटो, तौल कम
प्रजनन उमेर समूहका ८० देखि ९० प्रतिशत महिलामा स्तन दुख्ने, शरीर फुल्ने, अनुहारमा डण्डीफोर आउने र कब्जियत हुनेजस्ता लक्षण देखिन्छन्। महिनावारीअघि तल्लो पेट दुख्छ। जसमध्ये ६० प्रतिशत महिलामा भने महिनावारी हुनुपूर्व आफ्नो शरीर सुन्निएको अवस्थामा समेत शरीरको तौल भने बढेको हुन्न। शारीरिक जाँच गर्दा शरीर सामान्य रुपमा फुलेको देखिए पनि शरीरको तौल लिँदा भने बढेको देखिँदैन।

पुरुष यौन जोडीले महिलाको रजश्वला हुनुपूर्वको अवस्था, परिस्थिति विचार गरी यौन सम्पर्कका लागि प्रस्ताव तथा यौन सम्बन्ध राख्न सक्छन्।

तर वास्तविक रुपमा शरीर फुलेको अवस्थामा भने तौल बढेको हुन्छ। त्यसैले रजश्वलापूर्व आफ्नो शरीर फुलेको महिलालाई अनुभूति हुन्छ। उनीहरुको शरीर बाहिरबाट हेर्दा सामान्य रुपमा फुलेको देखिन्छ। यसले स्वयं महिलालाई शारीरिक तथा मानसिक रुपमा असहज हुन्छ। जसका कारण शारीरिक तथा मानसिक रुपमा दैनिक क्रियाकलापमा असर पर्ने गर्छ।

प्राथमिकतामा पर्दैन यौन
समस्यामध्ये प्रजनन उमेर समूहका २२ प्रतिशत महिलाले मध्यदेखि अति साह्रो (चक्रीय स्तन लक्षण असरको) असहजताको महसुस गर्छन्। यसको अर्थ २२ प्रतिशत महिलाले रजश्वलापूर्व यौन जोडीले स्तन छुँदा, समाउँदा, खेलाउँदा तथा छोड्दा नमिठो गरी दुखेको अनुभूति गर्छन्। २२ प्रतिशतमध्ये पनि ३० देखि ४० प्रतिशत प्रजनन उमेर समूहका महिलाले आफूलाई गाह्रो भएर चिकित्सकीय सल्लाह लिन चाहेका हुन्छन्।

यस्तो दुखाइको समयमा उनीहरुका लागि यौन क्रियाकलाप, यौन क्रीडा र यौन सम्पर्क धेरै टाढाको विषय हुन्छ। यसमा यौन जोडी सचेत हुन आवश्यक छ। रजश्वला हुनु पूर्वको शारीरिक तथा मानसिक दुखाईका कारण महिलाको प्राथमिकतामा यौन सम्पर्क पर्दैन।

रजश्वला हुनुपूर्वको अवस्थामा महिलामा विभिन्न किसिमका समस्या देखिने भएकाले उचित परामर्श र उपचारका लागि हिचकिचाउनु हुन्न। यस्तो समस्याको उपचार पहिले–पहिले स्त्री रोग विशेषज्ञले गर्थे। धारणा परिर्वतन हुन थालेपछि भने अहिले विशेषगरी मानसिक रोग विशेषज्ञले उपचार गर्न थालेका छन्।

लामो समयको अध्ययन तथा छलफलपछिको निष्कर्षमा अमेरिकन मानसिक रोग विशेषज्ञहरुले महिलाको लक्षणका आधारमा (लक्षण तोकी) समस्याको निदानका उपाय बताएका छन्।

रजश्वलापूर्व उत्पन्न हुने समस्याका कारण महिलाको दैनिक क्रियाकलापमा समस्या हुने तथा सम्बन्ध बिग्रने भएकाले समस्याको लक्षण तोकी मापदण्ड बनाइएको हो। रजश्वलापूर्व तनाव व्यवस्थापन नगर्ने हो भने यौन जोडीसँग मनमुटाव उत्पन्न भई सम्बन्ध नै बिग्रने जोखिम नआउला भन्न सकिन्न। दुईदेखि पाँच प्रतिशत महिलाहरु प्रजनन उमेरमा कुनै कुनै हिसाबले शारीरिक तथा मानसिक रुपमा दुःख पाइरहेका छन्। रजश्वला हुनुपूर्वको अवस्थामा हुने पीडाले उनीहरुमा उदासिनता निम्त्याउन सक्छ।
रजश्वलापूर्व महिलाले देखाउने लक्षण रोग हो वा हैन भन्ने छुट्याउने पाँच वटा रोग निदानका मापदण्ड छन्।

विशेष लक्षण
रजश्वला हुनुपूर्व महिलाले तत्कालै दुःखी अनुभव गर्नु, आँखा आँशुजन्य हुनु, अस्वीकारको संवेदनशीलतामा वृद्धि भएको लक्षण देखाए महिलाको मनोदशा र मनस्थिति सामान्य छैन भन्ने संकेत हो।

महिलाले रिस तथा झडङ्गेपनको अनुभूति गरे, झगडा गर्ने, अनावश्यक रुपमा निहुँ खोज्नेजस्ता लक्षण देखाउनु समस्याको संकेत हो। खिन्न व्यवहार देखाउनु, आश मार्ने, निन्दनीय विचार उत्पन्न हुनु समस्याको लक्षण हो। रजश्वलापूर्व स्पष्ट चिन्ता, तनाव, उत्सुकताको उत्तरचढाव हुनेजस्ता लक्षण देखिए त्यस्ता महिलामा समस्याको चिह्न तथा लक्षण भएको बुझिन्छ।
यी लक्षणबाहेक महिलामा समस्या भएको छ भन्ने यकिन गर्न अन्य दुई वटा लक्षण देखिन जरुरी हुन्छ।

संयुक्त लक्षण
महिलामा रजश्वलापूर्व समस्या भएको अवस्थामा अत्मपरक एकाग्रहतामा गाह्रो अनुभव तथा अनुभूति हुन्छ। तीव्र इच्छा, सजिलै थकान लाग्नु, स्पष्ट शक्तिको कमी हुनेजस्ता लक्षण देखिन्छन्। भोक र तिर्खामा गडबढी भई फरकता आउँछ। समस्या भएको महिलामा कहिले बढी खाने, कहिले खाँदै नखाने, कहिले भने अड्कलले पकाएर दिएको खानाले पुग्दै नपुग्नेजस्ता लक्षण देखिन्छन्। अति निद्रा लाग्ने र अनिद्रा अर्को समस्या हो। रजश्वलापूर्व महिलाले पराजित भएको तथा हारको विषय–प्रसंगको अनुभूति तथा अनुभव गर्नु समस्या हो। शरीरिक चिह्नमा स्तन दुख्ने तथा फुल्ने, शरीरका जोर्नी दुख्ने, मांशपेशी दुख्ने, शरीर फुल्ने, शरीरको तौल बढ्नु समस्याको लक्षण हो।

रजश्वलापूर्व महिलामा समस्या भएको अवस्थामा त्यस्ता महिलाले सामाजिक क्रियाकलापमा ध्यान नदिनुका साथै सहभागी पनि हुँदैनन्। महिला तनाव तथा वेदनामा रहेका हुन्छन्। महिलाले यौन जोडी लगायतसँगको सम्बन्धमा सरोकार राख्दैनन् भने सोचनीय विषय हो।

पाँच आधार
महिलामा रजश्वला हुनुपूर्व शारीरिक तथा मानसिक समस्या छ वा छैन भन्ने छुट्याउन विशेष र संयुक्तका लक्षण गरी कम्तीमा पाँच वटा लक्षण देखिनु आवश्यक हुन्छ। विशेषबाट दुई र संयुक्तबाट तीन वटा लक्षण देखिए महिलामा रजश्वलापूर्व समस्या भएको छ भन्ने यकिन गर्न सकिन्छ। तर पाँच वटा पनि समस्याका यस्ता लक्षण नदेखिएको अवस्थामा भने सामान्य अवस्थाका रुपमा लिन सकिन्छ। यिनै पाँच लक्षणका चक्रलाई आधार मानेर रोग निदान गर्न सकिन्छ। यी लक्षणका आधारमा रजश्वला पूर्वको समस्या हो भनेर यकिन गर्नका लागि भने धूमपान, मद्यपान, लागुपदार्थको प्रयोग, औषधिको प्रयोग र लत, उच्च वा न्यून गलग्रन्थिको सक्रियताले भने असर गरेको हुनु हुन्न।
 
यौन प्रस्तावमा सजग
महिलामा रजश्वलापूर्व यस्ता मानसिक समस्या देखिनु भनेको हार्माेनको भन्दा न्युरो ट्रान्समिटरको भूमिका र प्रभाव बढी हुन्छ। न्यूरो स्नायु ट्रान्समिटरको उत्तरचढाव हुन सक्छ। महिलामा रजश्वलापूर्व यस्ता मानसिक समस्या देखिन सक्ने भएकाले प्रजनन उमेर समूहका महिलाको रजश्वलापूर्वको अध्ययन गर्न जरुरी हुन्छ। यौन जोडीले त यसमा ध्यान दिनै पर्छ।

त्यसैले रजश्वला पूर्वको अवस्थामा पुरुष यौन जोडीले महिलाको व्यवहारको लक्षणलाई आधार मानेर मात्रै यौन सम्पर्कका लागि प्रस्ताव (निर्धारण)गर्नु उचित हुन्छ। यौन सम्पर्कका लागि तयार छिन् वा छैनन् भन्ने विषय महिलाले देखाउने लक्षणका आधारमा निक्र्योल गर्नुपर्छ।

मानसिक रुपमा महिला यौन सम्पर्कका लागि तयारी नै नभएको अवस्थामा पुरुष यौन जोडीले यौन सम्पर्कका लागि प्रस्ताव गर्दा त्यस्तो पुरुष हिंसाको शिकार बन्ने जोखिम हुन्छ। लक्षण सामान्य भएको अवस्थामा महिलाले पुरुष यौन जोडीले यौन सम्पर्कका लागि गरिएको प्रस्ताव स्वीकार्न सक्छिन्। असामान्य भएको अवस्थामा भने यौन प्रस्ताव स्वीकार्न सक्दिनन्। त्यसैले पुरुष यौन जोडीले महिलाको रजश्वला हुनुपूर्वको अवस्था, परिस्थिति विचार गरी यौन सम्पर्कका लागि प्रस्ताव तथा यौन सम्बन्ध राख्न सक्छन्।

यसरी रजश्वलापूर्व हुने समस्यामा शरीरको केही भूमिका हुने भए पनि प्रमुख कारक मानसिक समस्या हो। महिलामा रजश्वलापूर्व यस्ता समस्या देखिए विशेषज्ञको परामर्श तथा राय–सल्लाह लिई उपचार गर्नु उपयुक्त हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment