दाँतको बचाउने कसरी ?

मङ्गलबार, १७ भदौ २०७६, ०१ : ०२ शुक्रवार
दाँतको बचाउने कसरी ?

डा. डीबी सुनुवार,अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

दाँत मुखभित्र हुन्छ। खाद्य पदार्थ चपाउन मात्रै हैन अनुहारलाई सुन्दर देखाउन पनि दाँत स्वस्थ र मजबुत हुन आवश्यक छ। दाँत नभएको अवस्थामा अनुहारै कुरुप देखिन्छ।

दाँत पूरा भएको अवस्थामा अनुहारको पुष्टता झल्कन्छ। हामीले बोल्दा वा हाँस्दा दाँतले कुनै न कुनै रुपमा व्यक्तिको सुन्दरतामा भूमिका खेलेको हुन्छ। दाँतकै कारण व्यक्ति सुन्दर हो वा हैन भन्ने छुट्टिन्छ। व्यक्तिको सुन्दरता दाँतले पनि निर्धारण गर्छ। दाँत स्वस्थ तथा सामान्य अवस्थामा हुँदा व्यक्ति सहज रुपमा मुस्कुराउन तथा हाँस्न सक्छ। दाँत असामान्य अवस्थामा रहेको अवस्थामा व्यक्तिलाई हाँस्न पनि असहजता हुन्छ। छोटो, लामो, पातलो, चेप्टो जस्तो किसिमको दाँत भए पनि मुखभरि स्वस्थ रुपमा रहन आवश्यक छ।

हामीले चपाएका खाद्यपदार्थका टुक्रा दाँतको कापभित्र अड्किएर बस्छन्। यसरी दाँतमा निरन्तर रुपमा अड्किएका टुक्राका कारण दाँतमा किटाणु उत्पन्न भई दाँतको जरा कीराले खान्छ। अर्कोतर्फ अड्किएका टुक्राले दाँतको अवस्था नै असन्तुलित भएर फाट्छ। जसका कारण दाँत दुख्ने, हल्लिने, झर्ने जस्ता समस्या उत्पन्न हुन्छ।

शरीरको दुखाइमध्ये दाँतको दुखाइ असह्य किसिमको हुन्छ। प्रत्यक्ष रुपमा दाँतको नसा र मस्तिष्क नजिक हुने भएकाले दाँतको दुखाइको पीडा अत्यधिक हुन्छ। त्यसैले दाँत स्वस्थ र मजबुत राख्ने उपाय अपनाएर दाँतको दुखाइबाट बच्न सकिन्छ।

दाँतलाई स्वस्थ तथा मजबुत राख्न विभिन्न प्रकारका दाँतको व्यायाम र सरसफाइ आवश्यक हुन्छ। हामी ब्रस त गर्छौँ तर हामी सबैलाई ब्रस गर्ने तरिका जानकारी नहुन सक्छ। ब्रस गर्दा पनि केही तरिका अपनाए दाँत मजबुत हुन्छ।

ब्रस अघि फ्लस
सामान्यतः दाँतमा ब्रस गर्नुअघि खानाको टुक्रा दाँतको कापबाट बाहिर निकाल्नु पर्छ। टुक्रा निकाल्न फ्लस गर्नु पर्छ। डोरिको सहायताले दाँतमा अड्किएको टुक्रा निकाल्ने विधिलाई  फ्लस गर्ने भनिन्छ। फ्लस गर्ने धागोलाई ‘डेण्टल फ्लस’ भनिन्छ। जुन औषधि पसलमा पाइन्छ। सामान्य किसिमको कपडा सिलाउने धागोले पनि फ्लस गर्न सकिन्छ। नाइलनको मसिनो धागो दुई हातले समाएर दाँतको कापमा धागो तलमाथि गर्दै दाँतमा अड्किएर रहेका टुक्रा बाहिर निकाल्न सकिन्छ। हड्डीका टुक्रा पनि निस्कन्छन्।  

ब्रस गर्ने तरिका
यसरी फ्लस गरिसकेपछि अब दाँतमा ब्रस गर्नुपर्छ। तल–माथि, दायाँ–बायाँ चारैतिरबाट दाँतको सबै कुनाको फोहोर बाहिर निस्कने गरी दाँतमा ब्रस गर्नुपर्छ। यसरी ब्रस गर्ने क्रममा एक त दाँतको फोहोर निस्केर दाँत सफा हुने भयो। अर्कोतर्फ दाँतमा ब्रस घुमाउँदा दाँतको समेत व्यायाम भएर दाँत मजबुत हुन सहयोग पुग्छ।
खाना खाएको ६÷७ मिनेटपछि ब्रस गर्नु उपयुक्त हुन्छ। दाँतलाई मजबुत र स्वस्थ राख्नका लागि बिहान मुख धुँदा र बेलुकी खाना खाइसकेपछि दाँतमा ब्रस गर्नुपर्छ।

इनामेलको बचावट
दाँतमा ब्रस गरिसकेपछि राम्रोसँग मन तातो पानी वा नुन पानीले मुख कुल्ला गर्नुपर्छ। जसलाई दाँतको ‘वास’ भनिन्छ। बजारमा विभिन्न किसिमका ‘डेण्टल वास’ तथा मुख कुल्ला गर्ने प्राकृतिक जडिबुटीजन्य हर्बल टुथपेस्ट पाइन्छ।

दाँतको बाहिरी भागमा इनामेल हुन्छ। इनामेलले दाँतमा लाग्ने ब्याक्टेरियाबाट बचाउनुका साथै दाँतलाई चमकता दिने काम गर्छ। ब्रस गर्दा मन्जनमा हुने  रासायनिक तŒवले दाँतको इनामेल हटाउने समस्या हुन सक्छ। यसरी दाँतबाट इनामेल हटाउँदा दाँतमा ब्याक्टेरियल संक्रमणको जोखिम हुन्छ। त्यसैले इनामेललाई पुनः सामान्य अवस्थामा ल्याउनका लागि ‘डेण्टल वास’ वा ‘नुन–पानी’ले मुख कुल्ला गर्नु आवश्यक हुन्छ। यसरी मुख कुल्ला गर्दा दाँत सृङसृङ (सेन्सिटिभिटि) हुने समस्याबाट बच्न सकिन्छ।
शुद्ध पानीले मुख कुल्ला गर्न सकिने भए पनि दाँतमा भएको इनामेलको पुनस्र्थापना र दाँतमा हुने संक्रमणबाट बच्न मुस्किल पर्छ ।

नकोट्याउँ टुथपिकले
टुथपिकले भने दाँत कोट्याउनु हुन्न। टुथपिकले दाँत कोट्याउँदा एक त गिजा घोचेर गिजामा घाउ हुन सक्छ। अर्कोतर्फ टुथपिकले निरन्तर दाँत कोट्याउँदा दाँतको बीचमा रहेको खालिभाग (ग्याप) बढ्न जान्छ। यसरी दाँतको खालिभाग बढ्दा दाँत एक्लिन पुगि दाँतले एक अर्कालाई अढेस (सपोर्ट गर्न) लाउन सक्दैनन्। यसरी एक–अर्काले सपोर्ट नगर्दा दाँत हल्लिने वा भाँचिने जोखिम हुन्छ। त्यसैले टुथपिकले कहिल्यै पनि दाँत नकोट्याउनु नै उपयुक्त हुन्छ।
दाँत मुखभित्र हुने भएकाले भित्री अंगका रुपमा हेरिए पनि दाँत वास्तविक रुपमा बाह्य अंग हो। दाँतको राम्रोसँग सरसफाइ नगर्ने हो भने दाँतमा ब्याक्टेरिया उत्पन्न भई शरीरभित्र प्रवेश गरी नकारात्मक असर गर्छ।

कडा खानाले मजबुत
गाउँको तुलनामा सहरिया जीवनशैली बिताउने व्यक्तिको दाँत कमजोर भएको पाइन्छ। सामान्यतः सहर–बजारमा बसोबास गर्ने व्यक्तिले जंक फुड तथा फास्ट फुडजस्ता खाद्यपदार्थ खान्छन्। दाँतले चपाउनै नपर्ने तथा दाँतको व्यायामै नहुने किसिमका खाना खाँदा व्यायाम नपुगी दाँत कमजोर हुन्छ। तर गाउँ–घरमा बसोबास गर्ने व्यक्तिले भने मकै, भटमास, फलफूललगायत दाँतले चपाउनुपर्ने कडा किसिमका खाद्यपदार्थ खाँदा तथा चपाउँदा दाँतको जरा मजबुत हुन्छ। यस्ता कडा किसिमका खाद्य पदार्थ खाने व्यक्तिको दाँत मजबुत हुन सहयोग पुग्छ।

दाँत ठोक्काउने
दाँतको बंगारा घुमाएर चलाउँदा पनि दाँत मजबुत हुन्छ। तल–माथिको दाँतलाई कुनै खाद्यपदार्थ चपाएजस्तै गरी एक आपसमा दाँत ठोक्काउनाले दाँतमा झड्का उत्पन्न हुन्छ। यसरी झड्का उत्पन्न हुँदा दाँत लचिलो भएर गिजाले दाँतलाई राम्रोसँग समाउँछ। जसका कारण दाँत मजबुत हुन्छ। दाँत दायाँ–बायाँ विपरीत तल–माथि गर्न पनि सकिन्छ।
यसरी दाँत ठोक्काएर गरिने दाँतको व्यायाम बिहान–बेलुका १०/१० पटक गर्नु उपयुक्त हुन्छ।
दाँतको व्यायाम गरिसकेपछि जिब्रोले दाँतलाई चलाउँदै मालिस गर्न सकिन्छ। यसरी जिब्रोले दाँत मालिस गर्दा दाँतलाई आराम मिल्ने भएकाले दाँत स्वस्थ हुन सहयोग पुग्छ।

त्यागौँ धूमपान र मद्यपान
विशेषगरी दाँत स्वस्थ तथा मजबुत राख्नका लागि धूमपान तथा मद्यपान गर्नै हुन्न। धुमपान गर्दा सूर्ति, चुना, परागलगायतमा हुने निकोटिनाले दाँतको इनामेललाई हटाउँछ। जसले दाँत सिरिङसिरिङ हुने, दाँत फाट्दै जाने जोखिम त हुन्छ नै मुखको क्यान्सर हुनेसम्मको जोखिम हुन्छ। अल्कोहलमा पाइने अल्कोहलिक एसिडजस्तो रासायनिक तत्वले दाँतलाई नकारात्मक असर पु-याउँछ। त्यसैले धूमपान तथा मद्यपान गर्नु हुन्न।

पाको उमेरमा मजबुत दाँत
पाको उमेरमा दाँत कमजोर हुँदै जानु प्राकृतिक प्रक्रिया भए पनि दाँतको व्यायाम तथा सरसफाइले पाको उमेरमा समेत दाँतको आयु भने अवस्य लम्ब्याउन सकिन्छ। दाँत झर्नाले पाको उमेरको चित्रण गर्छ। तर पाको उमेरमा पनि दाँत मजबुत भने राख्न नसकिने होइन। दाँतलाई मजबुत राख्नका लागि पोषण तत्व दाँतसम्म पु-याउने कोष तथा नसा पाको उमेरमा कमजोर हुँदै जाँदा दाँतमा पोषण कम हुँदै जान्छ। त्यसै कारण दाँत कमजोर भएर झर्न सक्छ। आवश्यक पोषण तत्वको अभावमा गिजाले पनि दाँतलाई छोड्दै जाँदा दाँत कमजोर हुन्छ। त्यसैले दाँत मजबुत बनाउन पनि पोषणको आवश्यक हुन्छ। शारीरिक तथा मानसिक रुपमा मजबुत हुन मात्रै नभई दाँत मजबुत बनाउन पनि सन्तुलित रुपमा भोजन गर्नु पर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment