रवि प्रकरण : सरकारी वकिलले स्विकारे आत्महत्या दुरुत्साहनको आरोप

आइतबार, ०८ भदौ २०७६, ०५ : ०० राजेन्द्र आचार्य
रवि प्रकरण : सरकारी वकिलले स्विकारे आत्महत्या दुरुत्साहनको आरोप

रविसहित तीन जना विरुद्ध पाँच वर्ष कैदको माग

दश दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेको प्रहरीले आइतबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाएपछि रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा अभियोग पत्र दर्ता भएको छ ।

अभियोग पत्रमा रविसहित अस्मिता कार्की र युवराज कँडेललाई प्रतिवादी बनाइएको छ । तीनै जनाविरुद्ध पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले जानकारी दिए । 
पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा रविसहित तीन जना पक्राउ परेका थिए । उनीहरुमाथि अभियोग लगाउन पुडासैनी परिवारले दिएको जाहेरी र अनुसन्धानमा खुलेका तथ्यलाई आधार बनाइएको देखिन्छ ।

अभियोग पत्र दर्ता भएपछि अब यो केस अदालती प्रक्रियामा प्रवेश गरेको छ । प्रहरीले बुझाएको प्रस्तावित राय सुझावमा प्रतिवादी बनाउन सिफारिस गरिए पनि अभियोग पुष्टि हुन सक्ने प्रमाणको अभाव देखिए जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियुक्तबाट नाम हटाउनसक्ने अधिकार राख्छ ।

कसलाई अभियोग लगाउने, कसलाई नलगाउने सो अधिकार जिल्ला न्यायाधिवक्ताको कार्यालयसँग हुन्छ । रविसहित तीन जनाको नाम यो मुद्दामा अभियुक्तको रुपमा अभियोग पत्र दर्ता भएकाले प्रहरी अनुसन्धानमा खुलेका तथ्यका आधारमा रविसहित तीनै जनालाई अभियुक्त बनाइएकाले जिल्ला न्यायाधिवक्ताको कार्यालयले तीनै जना संलग्न देखिएको स्वीकार गरेको देखियो । 

अब के हुन्छ ?
वादी–प्रतिवादीको तर्फको बहस, अनुसन्धानमा संकलित प्रमाण, प्रतिवादीको बयान लगायतका आधारमा थुनछेक बहस टुंगो लाग्नेछ ।

अदालतमा अभियोग पत्र दर्ता भएसँगै तीनै जना प्रतिवादीलाई तारेखमा वा धरौटीमा छाडेर मुद्दाको सुनुवाई अगाडि बढाउने या उनीहरुलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामै राखेर सुनुवाई अगाडि बढाउने भन्ने विषयमा बहस हुनेछ ।

लगाएको अभियोग र पेश गरिएको प्रमाणका आधारमा घटनामा संलग्न देखिएको बलियो आधार नदेखिए अदालतले तारेखमा छाड्न सक्छ । अभियोगअनुसार प्रमाणको भार पुगेको अवस्थामा धरौटी या पुर्पक्षमा कारागार पठाउने आदेश हुनसक्छ ।

अभियुक्त हिरासतमुक्त खोजेका बेलामा भेटिने, अदालतको प्रक्रियामा बाधा नपुर्रयाउने, मुद्दाका साक्षीको सुरक्षामा खतरा नपुग्ने र प्रमाणमाथि छेडखानी नहुने अवस्था देखिए धरौटीमा रिहा हुनसक्छन् ।

विदेश भाग्न सक्ने, साक्षीको सुरक्षा खतरा बढ्ने, न्यायिक प्रक्रियामा नकारात्मक प्रभाव पर्ने र प्रमाण नष्टको सम्भावना देखिए मुद्दा अन्तिम किनारा नलागेसम्म कारागारमै राखेर प्रक्रिया बढाउने आदेश आउन सक्छ । 
थुनछेक बहसमा ‘को अभियुक्त हो, को हैन’ भन्ने भन्दा पनि थुनामा राख्ने कि धरौटी या तारेखमा छाड्ने भन्नेमा केन्द्रित हुनेछ । थुनछेक बहस सकिएपछि नियमित सुनुवाईको चरणमा प्रवेश गरेपछि साक्षी र प्रमाण बुझ्ने प्रक्रिया शुरु हुन्छ । 

कहिले रिहा हुन्छन् रवि ?
रविसहित तीन जना मुक्त हुने आधार तारेख या धरौटी मात्र हो । थुनछेक बहस सकिएपछि मात्रै यो टुंगो लाग्ने छ । पक्ष–विपक्षमा रहेका कानुन व्यवसायीको बहस सकिएपछि मात्रै यसको टुंगो लाग्ने भएकाले कति समय बहस चल्छ, आदेशको आउने आधार सोहीअनुसार तय हुने देखिन्छ ।
थुनछेक बहस नसकिएपछि रविसहित तीनै जना न्यायिक हिरासतमै रहने छन् । 
 

Leave A Comment