संवेदनाहीन गृहमन्त्री

आइतबार, १९ साउन २०७६, ०३ : २६ अच्युत काेइराला
संवेदनाहीन गृहमन्त्री

नेपालमा दैनिक ६ वटा बलात्कारका घटना सार्वजनिक हुने गरेको तथ्याङ्क छ। यसको अर्थ, वर्षमा लगभग २२ सय बालबालिका तथा स्त्री बलात्कृत हुन्छन्। आँत कमाउन यही संख्या काफी छ।

यो संख्या पनि प्रहरीसम्म आइपुगेका घटना मात्र हुन्, नआएका, बीचैमा मिलाइएका वा मिल्न बाध्य बनाइएका घटना त अझै कति छन्, त्यसको  लेखाजोखै छैन।

घटना दर्ता हुनु एउटा कुरा हो र न्याय पाउनु अर्को। प्रहरीसम्म आइपुगेका घटनामध्ये कतिले न्याय पाउँछन् ? यसबारे कुनै तथ्य छैन।

बेलायतमा हालै सार्वजनिक एउटा तथ्याङ्कमा बलात्कार आरोपमा १.५ प्रतिशत मात्र छिनोफानो हुने र बलात्कारीलाई सजाय दिइने गरेको तथ्य खुलेको छ। यो भनेको गएको वर्ष भएका बलात्कारका ६५ वटा घटनामध्ये एक जनालाई मात्र सजाय सुनाइएको थियो।

घटनामध्ये यसरी कमभन्दा कम सजाय कसरी भइरहेको छ ? त्यहाँ पनि बहस भइरहेको छ। खासगरी त्यहाँ पछिल्लो समय मीटू अभियानले बलात्कारका घटनामा बढेको सचेतनाले भूमिका खेलिरहेको केहीको धारणा छ।

अल्मलिएको वर्ष
गएको वर्ष साउन १० गते १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। यो घटनामा केही पक्राउ परे र छाडिए। दोषी अहिलेसम्म पत्ता लगाउन प्रहरी असफल छ। सबैभन्दा लाजमर्दो अवस्था त त्यहाँनेर भएको छ, जब गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यस्ता घटना पहिले पनि घटेका भनेर आफ्नो असंवेदनशीलताको हद देखाइदिए।

संसारमा यस्ता केही घटना निक्र्योलमा नपुगेका अनेकन् उदाहरणहरु नभएको पनि होइन तर एउटा जिम्मेवार निकायका जनताका सेवकले जनताकै चित्त कुँढिने गरी यस्तो अभिव्यक्ति दिनु विवेक हराएको उदाहरण हो। कुनै घटना लामो समयसम्म खुल्दैनन् र हत्यारा पनि पत्ता लाग्दैनन्। यसको अर्थ, संवेदनाहीन तरिकाले घटनाबारे प्याच्च बोल्नु हैन।

हो, उदाहरण छन् !
१९८६ फेब्रुअरी २८ को साँझ सधैँझैँ राजधानीको एउटा रेस्टुराँमा खानपिनको रमाइलो सकिएपछि ओलोफ पाम एक्लै टहलिन निस्किए। उनको बानी थियो, सडकमा सुस्तरी टहलिँदै अघि बढेपछि गोजीबाट सिगार निकाल्ने र लाइटरले सल्काउने। त्यो साँझ पनि उनले त्यही गरे। सिगारको दुई कस मज्जाले तानेपछि सन्तुष्ट भएर माथि आकाशमा भर्खरै चम्चमाउन थालेका ताराहरु हेर्दै गर्दा उनलाई कसैले बोलायो।

यो बोलावट उनका लागि नयाँ थिएन। उनी देशकै प्रधानमन्त्री थिए। स्वीडेन मात्र होइन, विश्वमै पनि उनी सर्वसाधारणसँग झुम्मिन रुचाउने प्रधानमन्त्रीका रुपमा प्रख्यात थिए। आवाज आएतिर फरक्क फर्किए। शुक्रबारको त्यो साँझ खासै भिडभाड थिएन। उनको नियमितता नै थियो, कसैको बह सुन्नुप-यो भने यस्तै गरी एक्लै निस्कन्थे। सर्वसाधारणसँग झुम्मिदा र हँसिमजाक गर्दा उनी सन्तुष्ट हुन्थे।

त्यो साँझ आवाज आएतिर हेर्दा नसोचेको भयो, कसैले उनलाई धडाधड गोली हानेर अँध्यारो गल्लीमा हरायो। यो घटनाको ३३ वर्ष बितिसकेको छ। हत्यामा संलग्न को थियो र हत्याको कारण के थियो, अझै खुल्न सकेको छैन। बाध्य भएर यो केसलाई बन्द गर्ने कि नगर्ने भन्ने छलफल चलाउन सरकार बाध्य भयो तर गएको मार्चमा संसद्मा उनको हत्या अनुसन्धान बन्द नगर्ने विषयमा मतदान भयो। उनको मृत्युका विषयमा अनेकन अड्कल काटिए पनि उनको घटनालाई अझै खुला नै राख्ने विषयमा संसद्ले बहुमतले पारित ग-यो।

यसैगरी सन् १९७८ डिसेम्बर २८ मा अमेरिकाको ओहियो राज्यमा २३ वर्षीया एलिजाबेथ एन्डिजको हत्या भयो। हत्याबारे पहिलो सूचना दिने व्यक्ति बब योङ थिए। क्रूरतापूर्वक हत्या गरिएकी एलिजाबेथको हातपाउ बाँधिएको थियो। यस घटनामा जसले हत्याबारे जानकारी दिएका थिए, उसैलाई प्रहरीले पक्राउ ग-यो। प्रमाण अभावमा प्रहरीले योङलाई छाड्नु प-यो। अझै वास्तविक अपराधी पत्ता लागेको छैन। प्रहरी भन्छ, योङ अपराधी हुनसक्छ तर उचित प्रमाणबिना उसलाई अपराधी करार दिन मिल्दैन।

कुनै घटना लामो समयसम्म खुल्दैनन् र हत्यारा पनि पत्ता लाग्दैनन्। यसको अर्थ, संवेदनाहीन तरिकाले घटनाबारे प्याच्च बोल्नु हैन।

केही घटना यस्तो नियतिको दुष्चक्रमा फँस्छन् कि प्रशासनलाई हरबर खेलाउँछन्। यसको जवाफमा प्रशासनले अन्य सफल कथालाई व्यापक रुपमा प्रचारमा ल्याउँछन्।

सन् २०११ मा बेलायतमा अचानक एक युवती हराइन्। एउटा रेस्टुराँबाट खानपिनपछि राति अबेर घर जान निस्केकी ती युवतीलाई क्रिस्टोफर हलिवेलले अपहरण गरेको थियो। पाँच दिनको खोजीपछि ती युवतीलाई एउटा खेतमा गाडिएको अवस्थामा फेला पारियो।

यस्तै किसिमको अपहरण, बलात्कार र हत्यामा क्रिस्टोफरको संलग्नताको शङ्कामा बल पुगेपछि प्रहरी अनुसन्धान अधिकारी स्टिभ फल्चरले क्रिस्टोफरलाई फकाउँदै भने, ‘तिमीले अघिल्लो हत्याका बारेमा सूचना दियौ भने त्यो अपराध क्षमाका लागि भूमिका खेल्नेछु।’

अपराध क्षमाको लोभमा २२ वर्षअघि भएको सोही किसिमको अपराध क्रिस्टोफरले कबुल गरे। उनले भनेकै ठाउँमा अर्की युवतीको कंकाल भेटियो र स्टिभले कबुल गरेबमोजिम ती अपराधीलाई अघिल्लो अपराध माफीका लागि अदालतसमक्ष निवेदन गरे।

स्टिभको यो निवेदनले बेलायतभरि नै हल्लीखल्ली मच्चायो। स्टिभ विवादको भुमरीमा फँसे। हिजोसम्म हिरो ठानिएका उनी जिरो मात्र भएनन्, उनी जागिरबाट निकालामा परे। त्यसको अर्को १० वर्ष उनी जागिरका लागि कहाँ मात्र भौँतारिएनन् ! दक्षिण अफ्रिकामा पुगेर सामान्य जागिर खानु प-यो।

त्यसो त कहिल्यै बाहिर नआउने हत्या कबुल गराउन स्टिभले खेलेको भूमिकाको पक्षमा कयौँ सर्वसाधारण भए पनि कानुनले उनलाई त्यस किसिमको छूट नदिएकाले कार्बाहीको भागिदारी हुनुप-यो।

दबाबको राजनीति
सन् २०११ मा सिस्टर भास्ला जोन मालामेलको सामूहिक बलात्कार भयो। दुई दिनसम्म भएको यो बलात्कार काण्डले भारतको झारखण्ड मात्र हल्लाएन, दिल्लीमा समेत भूकम्प ल्याइदियो। त्यहाँका शक्तिशाली मानिएका एडविन मुर्मुलाई जेलको बाटोसमेत देखाइदियो। त्यहाँ एउटी क्रिश्चियन युवती बलात्कृत नभएकी भए शायद बलात्कारी एडविन मुर्मुलाई सजाय हुने सम्भावना कम हुन्थ्यो किनभने यो घटना विदेशी मिडियामा यति धेरै चर्चा भयो कि शक्तिशाली भनिएका व्यक्तिलाई पनि कार्बाहीको दायरामा ल्याउन स्थानीय प्रहरी बाध्य भयो।

त्यस्तै सन् २०१२ मा भारतको राजधानी दिल्लीमा निर्भया बलात्कार काण्डका बारेमा जानकार को नहोला ! साथीसँग फिल्म हेर्न निस्किएकी निर्भयालाई दिल्लीमा बसभित्रै सामूहिक बलात्कार मात्र गरिएन, उनको योनिमा रडसमेत घुसारिएका कारण उनको मृत्यु हुन पुग्यो।

यो घटनामा निर्भयाको देहान्त भयो तर उनको मृत्यु निर्मलाको जस्तो खेर गएन। २४ सै घण्टा बज्ने समाचारका च्यानलले बहिरा राजनीतिज्ञ, संवेदनाहीन सरकार र प्रहरी प्रशासनलाई केही गर्नैपर्ने बाध्यतामा पा-यो। केही दिनभित्र अपराधीहरु त फेला परे, सँगैमा अन्य काम पनि दिल्ली सरकारले ग-यो।

निर्मलाको योगदान ?
एउटी किशोरीको अनाहकमा ज्यान गयो तर एक वर्ष बित्दा पनि कुनै प्रगति देखिएको छैन। जसरी निर्भया घटनापछि दिल्ली प्रहरी र प्रशासनको सक्रियतापछि बलात्कारका घटनामा फास्ट ट्र्याकमा न्याय सम्पादन गर्ने परिपाटीको विकास गरियो, यस्ता घटनामा आवश्यक सेवाका लागि सरल र सहजता बढाउन भूमिका खेलियो, नयाँ कानुनहरु पारित गरिए, यस्तो सक्रियता नेपालमा भएन।

घटनाबाट हामीले पाठ सिकेनौँ। एउटी निर्भयाले जाँदाजाँदै अन्य निर्भयाहरुलाई दिएको उपहार, हाम्री निर्मलाले दिन सकिनन्। किनभने हामीमा त्यो स्तरको संवेदनशील रहेनछौँ !

कंकाल झिक र अदालतमा हाजिर गराऊ
सन् १८९७ मा पोप फर्मोससलाई अदालतमा झिकाउन आदेश दिइयो। फर्मोससको अर्थ ‘सुन्दर अनुहार’ हुन्छ तर उनी सुन्दर थिएनन् किनभने उनलाई चिहानबाट निकालिएको थियो। धोईपखाली गरेर राम्रा कपडा लगाएर उनलाई अदालतमा हाजिर गराइयो।

उनलाई विगतमा गरेका अपराधका लागि दोषी करार गर्न ल्याइएको थियो। पोप बन्नका लागि उनले गरेका अनेकन तिकडम र राज्यविरुद्धका अपराध अदालतले दोषी करार गरेको थियो। अदालतले उनी पोप छँदा गरेका अनेकन खराब निर्णयलाई रद्द मात्र गरेन र उनको लाशलाई टाइबर नदीमा बगाउने आदेशसमेत दियो। गाढिनुपर्ने लाशलाई नदीमा बगाउनु ठूलो सजाय थियो।

यसले देखाउँछ अपराधीले मरेपछि पनि उन्मुक्ति पाउँदैन। अहिलेसम्मको अनुसन्धानले देखाउँछ निर्मलाको अपराधी ज्युदै छ, उसको कंकाल खोजिरहनु पर्दैन। केवल राज्य संवेदनशील र गम्भीर भइदिए मात्र पुग्छ।

केही घटनामा अपराधी फेला पर्दैनन्, फेला नपर्न सक्छन्। यस्तोमा घटनाको गाम्भीर्य नबिर्सन र सरकारले दिल्ली घटनाबाट पाठ सिक्न नचाहे, स्थानीय व्यक्ति, समाज र समूहले यस्तै केही संस्कृति निर्माण गर्न सक्छन् ताकि भोलिका दिनमा घटनामाथि हुने राजनीति, प्रशासनको असंवेदनशीलतालाई बारम्बार घोचिरहोस्।

Leave A Comment