सेलेब्रेटीका सवारी: कोही कारमा मग्न, कोही स्कुटीमा दङ्ग

शुक्रबार, १७ साउन २०७६, ०२ : २७ शुक्रवार
सेलेब्रेटीका सवारी: कोही कारमा मग्न, कोही स्कुटीमा दङ्ग

जति धेरैले चिने, सार्वजनिक जीवन त्यत्ति असहज हुँदै जान्छ। यस्तोमा सार्वजनिक सवारी साधनको प्रयोग निकै सकसपूर्ण हुन जान्छ।

सेलिब्रिटीको हकमा पनि यही लागू हुन्छ। त्यसैले प्रायः सेलिब्रिटीहरु निजी सवारी नै बढी प्रयोग गर्छन्। उनीहरु आफ्नो सहजताका हिसाबले निजी सवारी नै प्रयोग गर्छन्।

कति सेलिब्रिटी गाडीका शौखिन हुन्छन् भने कोही दुई पाङ्ग्रेमै रमाउँछन् पनि। सेलिब्रिटीले प्रयोग गर्ने सवारी साधनमा आम नागरिकको समेत चासो हुन्छ नै। त्यसैले त कतिपय ब्रान्डले आफ्नो ब्रान्डिङ बढाउन सेलिब्रिटीलाई आफ्नो सवारी चढ्न अफरसमेत गर्छन्।

विशेषतः मनोरञ्जन क्षेत्रका नेपाली सेलिब्रिटीमध्ये अधिकांशले निजी सवारी नै प्रयोग गर्छन्। केही कार प्रयोग गर्छन्, केही मोटरसाइकल र स्कुटीमा रमाइरहेका छन्।

रातो कारमा सलल प्रदीप


अहिले चल्तीका नायक प्रदीप खड्का एक वर्ष अगाडिसम्म बाइकमा हुइँकिन्थे। एक वर्ष भयो, उनी चार पाङ्ग्रे चढ्न थालेको छ।

उनी रातो रङको हुन्डाइमा भेटिन्छन् हिजोआज। त्यो कार उनले किनेको भने हैन। उनलाई ‘प्रेमगीत–२’ का निर्माताले खुसी भएर  उपहार दिएका हुन्।

‘प्रेमगीत २’ फिल्मले ५१ दिन मनाएपछि निर्माता सन्तोष सेनले उनलाई ५३ लाखको हुन्डाइ कम्पनीको क्रेटा मोडलको कार  उपहारमा दिएका हुन्।

‘गाडी कम्फर्टेबल छ,’ उनले भने, ‘तर ट्राफिक जाम देखेर बाइक नै चलाउँजस्तो लाग्छ।’

अनुपको बाइक प्रेम


अभिनेता अनुप विक्रम शाही बाइकका शौखिन हुन्। उनको घरमा टोयटाको गाडी छ तर उनी धेरैजसो बाइकमै भेटिन्छन्।  उनले आठ वर्षको कमाईबाट २५ लाख खर्चिएर डुकाटी बाइक किनेका हुन्।

‘ड्रिम बाइक थियो, डुकाटी,’ उनी सुनाउँछन्, ‘पहिलेदेखि नै डुकाटी चढ्न पाए हुन्थ्यो मनमा। २५ लाखमा डुकाटी किनेँ। अहिलेको मार्केट भ्यालु त ३५ लाख छ।’

उनी विशेष कार्यक्रमतिर भने गाडी लिएर पुग्छन्। अन्य समय भने बाइक हाँक्न रुचाउँछन्। उनका बाइक शौखिन साथीहरुको छुट्टै समूह छ। जो शनिबार रमाइलोका लागि बाइक चलाउँदै टाढाटाढा पुग्ने गर्छन्।

दीपाश्रीको साथी


अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा’को सफलतापछि नयाँ गाडी फेरिन्। नयाँ गाडी किनेको पनि दुई वर्ष बितिसक्यो। उनले चढ्ने गाडी हुन्डाइको ४० लाख पर्ने आई– ट्वान्टी एक्टिभ हो। यसअघि उनले पाँच वर्ष सिल्भर रङको सेन्ट्रो चलाइन्।

‘छक्का पञ्जा’को कमाईले नै नयाँ गाडी किनेको दीपा सुनाउँछिन्।

‘गाडी त मेरो मिल्ने साथी बनेको छ,’ उनले भनिन्, ‘आफूलाई कतै लान साथ दिए जस्तो लाग्छ गाडीले। गाडीमा म आफूलई सुरक्षित अनुभव गर्छु। आफ्नो साधन भएपछि घर पु¥याइदिनु भनेर कसैको मुख ताक्नु पर्दैन।’

स्वतन्त्र भएर हिँड्न चाहने दीपालाई गाडीले एक किसिमको स्वतन्त्रता दिएको अनुभव गराएको छ। जन्मथलो विराटनगर जानु पर्दा पनि उनी गाडी चलाएरै पुग्ने गर्छिन्।

१७ वर्षमै स्टेयरिङमा हात


अभिनेत्री रेखा थापाले भने १७ वर्षको उमेरदेखि गाडी चलाउन थालेकी हुन्। उनी पहिल्यैदेखि गाडीकी शोखिन थिइन्। उनले धेरै गाडीसमेत फेरिसकेकी छन्।

रेखा अहिले निसान कम्पनीको एसयुभी गाडीमा हुइँकिन्छिन्। ‘गाडी चलाउन थालेको धेरै भयो, अहिलेसम्म थुप्रै गाडी फेरिसकेँ,’ उनले सुनाइन्।

श्वेताको सात वर्षे अनुभव


अभिनेत्री श्वेता खड्काले कार चलाउन थालेको सात वर्ष भयो। अहिलेसम्म उनले चार वटा गाडी फेरिसकिन्। इडन, ट्रियाजस्ता कारको अनुभव बटुलिसकेकी उनी अहिले मारुतीको नयाँ मोडल ब्रेजा हाँक्छिन्।

उनी विभिन्न समारोहमा त्यही कार लिएर पुगिरहेकी हुन्छिन्। उनले ब्रेजा किनेको एक वर्ष भइसक्यो। त्यतिखेर ब्रेजाको मूल्य ४५ लाख थियो।

स्कुटीमा सरर नाजिर


अभिनेता नाजिर हुसेन पर्दामा छाउन थालेदेखि उनको मुखमा मास्क छुट्दैन थियो। संघर्षका दिनमा उनी टेम्पू चढेर आउजाउ गर्थे। बिस्तारै टेम्पूमा दर्शकले उनलाई नोटिस गर्न थाले।

‘मास्क लगाए पनि दर्शकले चिनिहाल्ने,’ नाजिर सम्झन्छन्। त्यसपछि उनलाई बिस्तारै टेम्पू चढ्न असहज हुन थालेको थियो। 

दिनमा ३–४ वटा मिटिङ पर्दा साथीलाई सहयोग गुहार्दाकै हैरान। ट्याक्सी भाडा अति नै महँगो। त्यसपछि उनले पारिश्रमिक जोगाएर फ्यासिनो स्कुटी किने। त्यतिखेर उनले १ लाख ७० हजारमा स्कुटी किनेका थिए।

दुई वर्षदेखि नाजिर यही स्कुटी चलाउँदै आएका छन्। स्कुटी चलाएसँगै समयको वचत हुन थालेको नाजिर बताउँछन्।

‘स्कुटी किनेपछि मिटिङ, डबिङमा जान सजिलो हुन थाल्यो,’ उनले भने, ‘आफ्नै साधन हुँदा त छुट्टै रमाइलो हुने नि !  कहिलेकाहीँ अन्तर्वार्तामा लुगा फेर्नुपर्ने हुन्छ। आफूलाई चाहिने लुगा स्कुटीमै अट्छ।’

स्वस्तिमाको फ्रेस अनुभव


पर्दामा ट्याम्पु चालकको रुपमा परिचित अभिनेत्री स्वस्तिमा खड्का आफू भने आई–ट्वान्टीको आस्ता कार चढ्छिन्। कार किनेको एक महिनामात्र भयो। उनी आफैँ चलाउँछिन्।

‘गाडीको शौखिन त होइन,’ उनले भनिन्, ‘मैले रहरले भन्दा पनि आवश्यकताका कारण किनेकी हुँ।’ कार चालक हुनुको फ्रेस अनुभव सुनाउँदै भनिन्, ‘नेपालमा ट्राफिक नियम पालन नगर्नेहरु बढी भएकोले, चलाउन अप्ठेरो छ।’

राजेशको मन


गायक राजेश पायल राई तीन वर्षदेखि ग्रान्ड स्पोर्ट्स चढ्दै आएका छन्। स्टेज कार्यक्रमका लागि विदेशमै व्यस्त रहने उनी गाडी चलाउन त्यत्ति समय पाउँदैनन्।

‘त्यत्ति चलाउन पाउँदिनँ गाडी,’ उनले भने, ‘चलाए पनि स्टुडियोबाट घर अनि घरबाट स्टुडियो जाने काम मात्र हुन्छ। अहिलेसम्म लङ ड्राइभको अनुभव लिन पाएको छैन।’

कारमै आँखा


गायक प्रमोद खरेलले सात वर्ष हुन्डाईको आइटेन मोडल चलाए । अहिले उनी क्रेटा एस एक्स चढ्दै छन् । 

‘गाडीको शौखिन हुँ,’ उनले भने, ‘अहिले पनि नयाँ गाडीतिर मेरो आँखा गइहाल्छ। ड्रिम गाडी भन्ने त छैन तर ल्यान्डरोभर फेभरेटमध्येमा पर्छ। आउडीको स्पोर्ट्स कार पनि बेस्ट लाग्छ।’

गाडी फेर्दै ठिक्क


दीपकराज गिरीले अहिलेसम्म तीन वटा गाडी फेरिसके। अहिले एक वर्षयता उनी टाटाको हेग्जामा हुइँकिन थालेका छन्। यो गाडी उनले ९० लाखमा किनेका थिए।

‘यो जीप मोडलको भएकाले यसमा धेरै सुविधा छन्,’ उनले विशेषता खुलाउँदै भने, ‘यो नेपालको बाटो सुहाउँदो छ तर म चाहिँ गाडीको शौखिन होइन। साथीभाइको करले मात्र चढेको हुँ।

खासमा त मलाई सानो गाडी सजिलो लाग्छ। काठमाडौंको बाटोमा ठूलो गाडी चलाउन गाह्रो पनि छ।’ अब कस्तो गाडी चढ्ने मन छ त ?

‘अब साइकल चढ्ने रहर छ, मास्क लगाएर,’ उनले ठट्यौली शैलीमा जवाफ दिए। उनले यसअघि आइटेन र स्विफ्ट फेरिसके।

स्कुटीमै मग्न


अभिनेत्री बेनिशा हमालले आठ वर्षअघि डियोको स्कुटी १ लाख ३५ हजारमा किनेकी थिइन्। उनी अहिले पनि उक्त स्कुटीबाट नै आउजाउ गर्छिन्।

सुनाउँछिन्, ‘काठमाडौंको ट्राफिकका लागि यो अत्यन्तै सहज छ।’ उनलाई अब ‘भि डब्लु ट्वारेग’को गाडी चढ्ने मन छ।

Leave A Comment