पूर्वमा मौलायो यौनधन्दा

बुधबार, १९ साउन २०७३, ११ : ४१ गोपाल दाहाल , Kathmandu
पूर्वमा मौलायो यौनधन्दा

भारतीय राज्यहरूमा मदिरापान तथा बिक्रीवितरणमा कडाइ गरिएपछि भारतीय ग्राहक केही समययता पूर्वी नेपालका शहरहरूमा बाक्लै भेटिन्छन् । तर, भारतीय पर्यटक बढे भनेर खुशी हुनुपर्ने अवस्था छैन । उनीहरूकै कारण पूर्वी नेपालमा पछिल्लो समय यौनधन्दा मौलाउन थालेको छ ।
सिरहा, लहानकी ३६ वर्षीया पार्वती राजवंशी चार युवतीलाई भेडेटार लिएर जाँदै गर्दा गत बुधवार साँझ बाटैमा पक्राउ परेकी थिइन् । १७ देखि १९ वर्षसम्मका चार युवती र पार्वतीबारे अनुसन्धान गर्दा प्रहरीले उनीहरू यौनधन्दाका लागि हिँडेको पत्ता लगायो ।
इटहरी–५ मा बस्ने उनीहरूबाट प्रहरीले नगद १ लाख ३६ हजार ५ सय रुपैयाँ पनि बरामद ग¥यो । प्रहरीको अनुसन्धानबाट ती युवतीहरूलाई पार्वतीले ग्राहकसँग राति पठाउने गरेको खुल्यो । पार्वती यसअघि पनि यौनधन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परिसकेकी छिन् ।
केही महिनाअघि भेडेटारको एक होटलमा केही युवती र भारतीय नागरिक परिवारजस्तै भएर बास बस्न आए । तर, राति उनीहरूबीच झगडा प¥यो । होटल सञ्चालकले त्यसपछि थाहा पाए ती युवतीहरू कतैबाट भाडामा ल्याइएका रहेछन् । त्यसपछि होटल सञ्चालकले नै प्रहरी बोलाएर अनुसन्धान गर्दा धरान–१३ बेसक्याम्पस्थित जिके रेस्टुरेन्टका सञ्चालकले भारतीय पर्यटकसँग पठाएका रहेछन् । पर्यटकसँग झगडा परेपछि राति युवतीहरू लिए आएका रेस्टुरेन्टका सञ्चालकलाई समेत प्रहरीले एक दिन थुन्यो । अब उपरान्त यौनधन्दा नगर्ने कागज गराएर छाडियो ।
त्यसो त केही समयअघि भेडेटारबाट फर्किने क्रममा भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी भेडेटार नजिकैको देवीथान गोलाइमा दुर्घटनामा प¥यो । दुर्घटनामा एक भारतीय युवाको मृत्यु भयो भने चार भारतीय युवा र दुई नेपाली युवती पनि घाइते भए । झापा घर बताउने ती युवतीहरू अघिल्लै दिन भारतीय युवासँग भेडेटार, नमस्ते झरना घुमेर एक दिन भेडेटारमै बसेका थिए । एक दिनको रमाइलोपछि फर्किने क्रममा दुर्घटना भएको थियो ।
भारतका सीमावर्ती राज्यमा त्यहाँको सरकारले मदिरापान तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि त्यहाँका मदिराप्रेमी नेपाली बजार धाउन थालेका छन् । तर, भारतीयहरूको नेपाल प्रवेशसँगै पूर्वमा सुस्ताउन थालेको यौनधन्दा फेरि मौलाउन थालेको छ ।

भारतीय पर्यटकहरू मदिरापानसँगै यौनआनन्द लिन पूर्वका काँकडभिट्टा, बिर्तामोड, विराटनगर, इटहरी, धरान र भेडेटारसम्म पुग्ने गरेका छन् । पूर्वमा यौनधन्दाको केन्द्र बनेको इटहरीमा केही वर्षयता प्रहरी सक्रियताले घटेको थियो । भारतीय पर्यटकको आगमन बढेसँगै फेरि इटहरी पूर्वको यौनधन्दाको केन्द्र बनेको छ । इटहरीमा पहिलादेखि यौनधन्दा सञ्चालन गर्दै आएका अहिले भारतीय ग्राहकलाई सम्पर्क गरेर युवतीहरू ‘सप्लाई’ गरिरहेको प्रहरीको भनाइ छ । गर्मी मौसम भएकाले धेरैजसो भारतीय पर्यटक मदिरापान र यौनआनन्दका लागि भेडेटार रोज्छन् । भेडेटारमा स्थानीय होटल व्यवसायी र महिला समूहले यौनधन्दा सञ्चालन गर्न दिँदैनन् । त्यसैले ग्राहकहरूले इटहरी, धरान, झापातिरबाट युवतीसमेत लिएर आउने गरेका छन् । होटल एसोसिएसन भेडेटारका सचिव जीतेन्द्र रुम्दाली भारतीय पर्यटक युवतीहरूसँग आउने गरे पनि उनीहरूले परिवारका रूपमा चिनाउने गर्छन् । ‘परिवार भनेपछि हामीले केही गर्न सक्दैनौँ । यौनधन्दा गर्ने मान्छे भन्ने थाहा पायौँ भने प्रहरीलाई खबर गर्छौं । हामी भेडेटारलाई विकृति मुक्त बनाउने अभियानमा छौँ,’ रुम्दालीले भन्छन् ।
भेडेटारलगायत पूर्वमा विभिन्न ठाउँमा भारतीय ग्राहकलाई युवतीहरू ‘सप्लाई’ गर्न धरान, इटहरी, झापा र विराटनगरमा दलाल रहेका छन् । भारतीयहरू नेपाल प्रवेश गर्ने बित्तिकै उनीहरू मोबाइलमा युवतीको फोटो लिएर कुराकानी गर्न बाटोमा बसेका हुन्छन् । त्यसपछि भारतीयहरूले छानीछानी युवतीहरू लिएर होटलतिर जाने गरेको स्रोत बताउँछ । प्रहरीका अनुसार पछिल्लो समयमा यौनधन्दा मौलाउन थालेपछि निगरानी बढाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी ओमप्रसाद अधिकारी भन्छन्, ‘पहिला यौनधन्दामा संलग्नहरू अहिले के गरिरहेका छन् भन्ने निगरानी गरिरहेका छौँ । भारतीय ग्राहक आउन थालेपछि यौनधन्दा गर्नेहरू बढी सक्रिय बनेका छन् । यसलाई नियन्त्रण गर्न सबैको साथ आवश्यक छ ।’

 

Leave A Comment