आरोपीलाई काम, पीडितलाई बहिष्कार

सोमबार, १३ साउन २०७६, १२ : ५२ स्मृति ढुंगाना
आरोपीलाई काम, पीडितलाई बहिष्कार

रंगमञ्चमा भइरहेको यौन दुव्र्यवहारको खुलासापछि नाट्यकर्मीहरु आफ्ना कमजोरी सच्याउँदै ‘दोषी’लाई किनारा लगाउलान्झैँ देखिएको थियो।

आरोपित तीन जनामध्ये राजकुमार पुडासैनी र राजन खतिवडालाई उनीहरु संलग्न रहेको संस्थाले कार्बाही गरेको विज्ञप्ति पनि निकाल्यो। उनीहरुले आत्मालोचनासमेत गरे। केहीले दुव्र्यवहारबारे बोल्ने नाट्यकर्मीको प्रशंसा पनि गरे।
तर यो सब देखाउने ‘दाँत’ मात्र रहेछ।

‘शुक्रवार’को अनुगमनमा नाट्य क्षेत्रका अधिकांशले यौन दुव्र्यवहारजस्तो गम्भीर विषयमा साहसका साथ बोल्ने नाट्यकर्मीको प्रशंसाको सराहना गर्नुको साटो गुटबन्दी गर्दै उनीहरुलाई किनारा लगाइरहेको भेटियो।

यौन दुव्र्यवहारबारे बोल्ने साहसी एक पात्र भेट्दा उनी तनावमा देखिइन्। तनावको कारण उनलाई किन त्यस्तो बोलेको भन्दै किनारा पार्दै लगिएको रहेछ। 

दुई वटा नाटकमा उनी अनुबन्ध भइसकेकी रहिछन्। पछि ‘पात्रअनुसार सुहाएन’ भन्दै उनको अनुबन्ध खारेज भएछ।

रंगमञ्चमा मञ्चन भइरहेको यौन दुव्र्यवहारको कालो पाटोबारे शुक्रवारमा समाचार आएपछि रंगमञ्चका एक गुट पीडक जोगाउन सक्रिय रहेको उनको अनुभव छ।

‘तीन महिना कोर्स गरेर नेपाली रंगमञ्चबारे नबुझी आउन हतार हुने अनि यौन दुव्र्यवहार भयो भन्न लाज लाग्दैन ?’ पुराना रंगकर्मीले सबैको अगाडि भनेको शब्द उनले सुनाइन्।

‘नेपाली रंगमञ्चमा हुने यौन दुव्र्यवहारमाथि बोल्दा यो विषयमा गम्भीर बहस हुन्छ जस्तो लागेको थियो तर तैँले किन बोलेको भनेर बहिष्कारझैँ गर्न थाले,’ अर्की एक पीडित रंगकर्मीले भनिन्, ‘पीडककै पछि लागेर काम गर्न अझ गाह्रो होलाजस्तो स्थिति बनाए।’

स्टोरीको फलोअपको क्रममा मण्डला थिएटरमा भेटिएका केहीले यौन दुव्र्यवहारजस्तो गम्भीर विषयमा मजाक गरिरहेको भेटिए।

‘भोलिदेखि कालो चस्मा लगाएर आउने हो,’ एक पुरुष कलाकारले अन्य महिला रंगकर्मीतर्फ लक्षित गर्दै मजाक गरिरहेका थिए, ‘फेरि आँखाले हेरेको भनेर यौन दुव्र्यवहार भयो भनेर तिमीहरुले केस हाल्यौ भने हामी त सकिन्छौँ।’

यौन दुव्र्यवहारको खुलासा पछिको अवस्थाबारे ‘शुक्रवार’ले गरेको अनुगमनमा नाटक रिहर्सलको क्रममा यसबारे बोलेका नाट्यकर्मीलाई लिएर काम गरिरहेका निर्देशकलाई बारम्बार फोन आउने र उनीहरुले बिनाकारण अनुबन्ध रद्द गर्ने गरेको देखियो।

नाटक रिहर्सलकै क्रममा आएका केही रंगकर्मीले ‘खुलासा गर्ने रंगकर्मीलाई ? खुबै ठूलो काम गरिस होइन् ? हेरौँला के–के गर्न सक्छौं’ भनेको प्रत्यक्ष देखियो।

कतिपयलाई भने नाटक मञ्चनका लागि आवश्यक सामग्री भाडामा नदिने, लाइट, ध्वनि उपकरण नभएको पनि फर्काइदिने जस्तो गतिविधि गरेको पनि देखियो। प्रायः नाट्य क्षेत्रकै व्यक्तिले त्यस्ता सामग्री भाडामा दिने गर्छन्। पहिला सहजै उपकरण दिनेहरुले अहिले भने विभिन्न बहाना बनाएर दुःख दिने गरेको देखियो।

यौन दुव्र्यवहारको आरोप लागेकाहरुका लागि भने नेपाली रंगमञ्चले आफ्नो ढोका खुलै राखेको छ। शंकर लामिछानेको कथामा आधारित नाटक ‘मिमांसा’मा आरोप लागेका सुनील पोखरेल र राजकुमार पुडासैनीले अभिनय गर्दैछन्। साउन १० देखि मन्डला थिएटरमा मञ्चन हुने नाटक प्रवीण खतिवडाले निर्देशन गरेका हुन्। सुनील यो प्रकरणमा मौन भएपछि राजकुमारले आफूमाथि लागेको आरोप स्वीकार गरेका थिए र उनी संलग्न संस्थाले उनलाई एक वर्षसम्म आफ्नो संस्थाको काममा नलगाउने बताएको थियो। 

निर्देशक खतिवडा आरोप लागेका रंगकर्मीहरुलाई एकपटक मौका दिनु जरुरी भएकाले नाटकमा समावेश गरेको तर्क गर्छन्।

‘सामाजिक पुनःस्थापनाको निम्ति नेपाली रंगमञ्च भन्ने गरिन्छ,’ खतिवडाले भने, ‘यसै क्षेत्रमा लागेका मानिसलाई एकपटक मौका दिनु जरुरी छ जस्तो लाग्यो।’

उनका अनुसार रंगमञ्चमा भइरहेको यौन दुव्र्यवहारबारे समाचार सार्वजनिक भएपछि उनले पोखरेल र पुडासैनीलाई भेटेका थिए।

‘दुवै जना मानसिक विचलनको स्थितिमा रहेको देखेपछि दुवैलाई ट्रमाबाट बाहिर निकाल्नुपर्छ भन्ने लागेर नाटकमा राखेको हुँ,’ उनले भने, ‘उनीहरुले गल्ती गरेनन् भनेर चाहिँ म भन्दिनँ। जसरी स्टोरी आयो, सही आयो। अहिले आएन भने भोलिका पुस्तालाई अझ गाह्रो हुन्थ्यो।’

रंगकर्मी कमलमणि पोखरेल समाचारमा भनेझैं भित्री वस्त्र हराउने कुरा एक जनालाई केन्द्रित गरिएको भए पनि त्यसबेला काम गरिरहेका अन्य रंगकर्मीहरुमाथि पनि नैतिक प्रश्न उठ्यो।

‘यस्तो संवेदनशील विषयमा समकालीन रङ्गकर्मी जिम्मेवार भएर नबोलिदिँदा हामी र गुरुकूलको गरिमामाथि प्रश्न उठेको छ,’ उनी भन्छन्, ‘यौन दुव्र्यवहार गर्नेले सजाय पाउनुपर्छ तर भित्री वस्त्र हराएको कुरा अहिले किन आयो ?’

बाटोमा भेटिएकाले उनलाई गुरुकूलमा भित्री वस्त्र हराउँथ्यो रे ! तैँले लगिस् कि क्या हो भनेर परिचित व्यक्तिहरुले सोध्दा नमज्जा लागेको अनुभव उनले सुनाए।

‘यौन दुव्र्यवहारका मामलामा प्रतिकार हुनु जरुरी छ,’ उनले भने, ‘काम नपाउने डरले हिंसा सहने कोही पनि यो क्षेत्रमा नआए हुन्छ। समाजमा भएका हिंसा रोकिनुपर्छ भनेर हिँडेका कलाकार बोल्न सक्दैनन् भने ती कलाकार गलत हुन्।’

मीटूमा बोल्नेलाई अप्ठेरो
पछिल्लो समय मीटू अभियानमा आवाज बुलन्द बनाइरहेकी रंगकर्मी सिर्जना अधिकारीका अनुसार नेपाली रंगमञ्चले महिला रंगकर्मीहरुलाई अप्ठ्यारो स्थिति तयार गरिएको छ।

‘यौन दुव्र्यवहारको घटना बाहिर ल्याउने पीडित र पीडितलाई साथ दिने महिला रंगकर्मीहरुलाई पछिल्ला दिनमा नेपाली रंगमञ्चले अप्ठ्यारो स्थिति सिर्जना गरिदिएको छ,’ उनले भनिन्, ‘नाटक रिहर्सलका क्रममा महिला कलाकारहरु निकालिएका छन्। रंगकर्मीहरुले त्रासको स्थिति तयार गरिदिएका जस्ता घटनाहरु बढी भएको महसुस गरेकी छु।’

उनले यौन दुव्र्यवहारको घटना बाहिर ल्याएकै कारण केही महिला कलाकार र निर्देशकहरुलाई नेपाली रंगमञ्चमा बहिष्कार गर्न खोजिएको छ।

हाल कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘तीनकुने’को तयारीका क्रममा नेपाली रंगमञ्चबाट प्राविधिक साथ पाउन नसकेको अनुभव उनले सुनाइन्।

‘कामको सिलसिलामा अहिले महिलाहरुलाई एकदम गाह्रो बनाइएको छ,’ उनले भनिन्, ‘आर्टको काममा समस्या भएन। टेक्निकल कुरामा भने पहिलादेखि थिएटरमा सामानहरु एउटाबाट अर्को थिएटरमा सेयर गर्ने गरिन्थ्यो। अहिले त्यो नहुँदा काम गर्न अप्ठ्यारो भएको छ।’

उनका अनुसार यस विषयमा बहस गराउन खोज्दा कोही आएनन्। कसैले पनि यस विषयमा छलफल गर्न चाहेनन्। अग्रजहरु उल्टै यस विषयलाई जोक बनाएर हाँस्न थाले।

रंगकर्मी विमल सुवेदी पुरुषसत्ता हावी हुँदा समाचारको मर्मलाई गलत बुझिएको बताउँछन्।

‘यो स्टोरी आउनु राम्रो कुरा हो,’ उनले भने, ‘सामाजिक संरचना, शक्ति केन्द्रित र पुरुषवादी सोचका कारण यौन दुव्र्यवहारका घटना बाहिर आइरहेका छन्। तर, स्टोरी आएपछि पीडक र पीडितबीच दरार बन्दै जानु भएको भविष्यका लागि अझ अप्ठ्यारो परिस्थिति सिर्जना हुनेजस्तो लाग्छ।’

यस्तो अवस्थामा यतिबेला काम गर्न अन्योल भएको उनले बताए। यौन दुव्र्यवहारको विषयमा नेपाली रंगमञ्चका अधिकांश रंगकर्मीहरु बोल्नै नचाहेको अनुभव उनको छ।

Leave A Comment