सिकारु निर्देशकको कमजोर ‘घर’

शनिबार, ११ साउन २०७६, १२ : १३ रीना माेक्तान
सिकारु निर्देशकको कमजोर ‘घर’

नेपाली फिल्म उद्योगमा हरर जनराको फिल्म बिरलै बन्छ तर कहिलेकाहीँ केही निर्माता–निर्देशक चुनौती मोल्न तयार हुन्छन्। त्यहीमध्येका एक हुन्, निर्देशक अर्पण थापा। गएको वर्ष पनि उनले हरर विधाको ‘सुनकेशरी’ बनाएका थिए। यो पाली ‘घर’ लिएर आए।

फिल्म ‘सुनकेशरी’प्रति नायिका ऋचा शर्मा कति उत्साहित थिइन् भने फिल्म प्रचारताका ऋचाले आफ्नो नामै सुनकेशरी राखेकी थिइन्, केही समय। तर ‘सुनकेशरी’ हेर्ने दर्शक तर्सिएनन्, उल्टो हाँस्दै हलबाट निस्किए। उनको प्रयास असफल भयो।

‘सुनकेशरी’को असफलताबाट अर्पणले हार मानेनन् र फेरि उही विधामा अर्को फिल्म बनाए, ‘घर’।

हार नमान्नु आफैँमा राम्रो हो तर दोस्रो प्रयासमा पनि सुधार नदेखिनु पक्कै राम्रो हैन। ‘सुनकेशरी’को हालत जे भयो, ‘घर’ पनि सुध्रिएको देखिएन। ‘सुनकेशरी’ जुन समस्याका कारण डब्बा बनेको थियो ‘घर’ फ्लप हुनुको कारण पनि उही देखियो, कमजोर पटकथा। ‘सुनकेशरी’को सेटिङ विदेशमा थियो, ‘घर’को नेपालमा। दुवै फिल्मको भिन्नता सेटिङ मात्र देखियो।

उही आत्माको कथा
शिव  (अर्पण थापा) की श्रीमती सरु (सुरक्षा पन्त) गर्भवती हुन्छे। सरु आफ्नै एउटा घर भएको देख्न चाहन्छिन्। एक दिन शिव र सरुले सस्तोमा घर पाइयो भनेर किन्छन्। त्यो घरमा पहिल्यै त्यही घरकी छोरीले आत्महत्या गरेकी हुन्छिन्। तर, सस्तो घर पाउँदा उनीहरुले त्यसलाई वास्ता गर्दैनन्। घरमा सरुकी बहिनी माया (बेनिशा हमाल) पनि उनीहरुसँगै बस्छिन्। कामको सिलसिलामा शिव दुई दिनका लागि घरबाहिर जान्छन्। अनि घरमा आत्माले तर्साउन सुरु गर्छ। त्यसपछि घरका पात्रहरुको सुरु हुन्छ, आत्मासँगको संघर्ष। उनीहरुले ‘घर’ छाड्छन् या आत्मालाई शान्त बनाउन सक्छन्, यही रहस्य वरिपरि फिल्मको कथा घुमेको छ।

पुरानै शैली
हरर फिल्म हेरिरहने दर्शकका लागि ‘घर’ उही पुरानै ढर्राको फिल्म लाग्नु स्वाभाविकै हो। तर्साउने पुरानै फर्मुला अपनाउँदा बानी परिसकेका दर्शक तर्सँदैनन्। हरर जनराको फिल्ममा ध्वनि प्रभावको भूमिका महत्वपूर्ण हुन्छ। यसले फिल्म हेरिरहेका दर्शकमाझ पृथक् र शक्तिशाली वातावण बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

अर्पणले दर्शकलाई तर्साउन ‘लाउड’ ध्वनिको मद्दत लिएका त छन् तर तर्सिने भन्दा यस्तो ध्वनिले चिढ्याउने काम गरेको छ। तर्साउने नाममा अनावश्यक लाउड साउण्डले फिल्ममा रहेको हल्काफुल्का सकारात्मक पाटो पनि छायाँमा पारेको छ। दृश्यको उचित संयोजन हुन नसक्दा ‘घर’ हरर फिल्म हो भन्ने सम्झन सेतो कपाल भएकी आत्मा नै कुर्नुपर्छ।

तालमेल नमिलेको कथा
फिल्मका लेखकसमेत रहेका अर्पण कथा लेख्दा मज्जाले चुकेका छन्। सुस्त छ फिल्मको पटकथा। कमजोर पटकथाले उनको दोस्रो प्रयास पनि खेर गयो। फिल्ममा कथा र उपकथाको तालमेलै देखिँदैन।

कथाको तालमेल नमिल्दा फिल्ममा मूलकथा नै नभएझैँ देखिन्छ। शिव र मायाको अनैतिक सम्बन्ध, झुण्डेर मरेको घरकी छोरीको कथासँग कुनै साइनो नै छैन।

फिल्मसँगै पात्रको चरित्रचित्रण बलियो बन्दै जानुपर्ने हो तर ‘घर’ मा फिल्म जति अगाडि बढ्दै जान्छ, पात्र कमजोर हुँदै जान्छन्। मायाको भूमिकामा रहेकी सुरक्षा पन्तको चरित्र कथाको माग भन्दा पनि निर्देशनको इच्छाका भरमा नेगेटिभ बनाइएको छ जुन विश्वसनीय पनि लाग्दैन।

फिल्मको सुरुमै देखाइने कार चलाउँदै गरेको दृश्य निकै लम्बाइएको छ। यो दृश्य क्लिसे लाग्छ। आत्मा देखाउन सेतो कपाल अनि सेतै ओढ्ने ओढेको चरित्र देखाइएको छ। जुन निक्कै पुरानो शैली हो।

फिल्मको अन्त्यमा कुनै कुतुहलता छैन। तर ‘टु बि कन्टिन्युड’ मा लगेर सक्काइएको छ। ‘घर’ हेरेका दर्शकको मनमा यसको कथा बस्न नसक्दा सिक्वेलको प्रतीक्षा गर्ने छाँट देखिन्न।

अधिकांश हरर फिल्मको मूल कथा सकिएपछि अन्य कुनै घटनाको दृश्य जोडेर सिक्वेल बनाउने ठाउँ छोडेका हुन्छन्। तर, अर्पणले त अलपत्र कथा छाडेर ‘घर’ सिक्वेलको मोह देखाए। सिक्वेलका लागि ठाउँ छोड्ने चक्करमा फिल्मको मूल कथा नै छरपष्ट पारिएको छ।

औसत अभिनय
सरुको भूमिकामा सुरक्षा फिट देखिन्छिन्। उनले अभिनयमा नयाँपन दिने कोसिस गरेकी छन्। अभिनेत्री बेनिशाको भूमिका पुरानै ढर्राको छ। उनी पछिल्ला फिल्महरुभन्दा केही फरक अवतारमा प्रस्तुत भएकी छन् तर अभिनय औसत छ। अर्पणको अभिनयमा केही फेरबदल छैन।

सिकारु निर्देशक
फिल्ममा निरज कँडेलको छायांकन कलात्मक देखिन्छ। अर्पणले पटकथामा अझै मिहिनेत गरेको भए ‘घर’ केही हदसम्म ‘बस्न लायक’ बन्ने थियो। कमजोर पटकथाका कारण उनको दोस्रो प्रयासमा पनि सिकारु निर्देशककै कोटीमा झारेको छ। सिक्वेल फ-म्याटमा फिल्म सक्किएकाले हरर जनारामा अर्पणले तेस्रो हरर फिल्म बनाउने निश्चित छ। तेस्रोमा पुग्दा सीप सुधारेर सिकारु सूचीबाट बाहिर निस्कन सफल हुन्छन् कि ?

Leave A Comment