जेल पर्लान् त छवि–शिल्पा !

बिहिबार, ०९ साउन २०७६, ०३ : ३५ रीना माेक्तान
जेल पर्लान् त छवि–शिल्पा !

निर्माता छविराज ओझाको चौथो विवाह डिभोर्सको चरणमा प्रवेश गरिसकेको अवस्थामा छविकी जेठी श्रीमती हेमा ओझाले फिल्मी शैलीमा इन्ट्री मारिन् ।

हेमा छविकी जेठी श्रीमती हुन् । यस बीचमा छविले तीन वटा विवाह गरिसके । माइली गीताञ्जली सुनारबाट एक छोरा छन् । नायिका रेखा थापासँग डिभोर्स भयो । यी कुनै पनि प्रकरणमा सार्वजनिक नभएकी उनी शिल्पाले छविविरुद्ध डिभोर्स केस फाइल गरेसँगै बिहे भएको ३४ वर्षपछि यो विवादमा प्रवेश गरिन् ।

उनको दाबी छ, ‘छविले काठमाडौंमा बसेर मलाई झुक्काइरहे । अहिले शिल्पासँग विवाह दर्ता नै भएको खुलेपछि बहुविवाहअन्तर्गत कार्बाही गरिपाऊँ।’

हेमाको दाबीअनुसार उनलाई यसअघिका छविका दुई विवाहबारे कुनै जानकारी नै छैन । शिल्पा र छविको सम्बन्धबारे बेलाबखत हुने चर्चामा श्रीमान्ले हैन भनेर ढाँटिरहे । अहिले आएर शिल्पासँग विवाद भएपछि खोजी गर्दा दुवैले विवाह नै दर्ता गरेको प्रमाण फेला परेपछि बहुविवाहको जाहेरी दिन आएकी हुन्।

छविको हेमातर्फ दुई छोरा पनि छन् । हेमाले पेश गरेको प्रमाणमा छविसँगको विवाह दर्ताको प्रमाण तथा छवि र शिल्पाले पुस १२ मा गरेको विवाद दर्ता राखेकी छन् । हेमाको दाबीअनुसार छविले लगालग विवाह गरे पनि पहिलो विवाहको सम्बन्ध विच्छेद भएको थिएन । पहिलो विवाह कायमै रहे पनि छविले लगालग तीन वटा विवाह गरेको देखिन्छ।

हेमा कानुन व्यवसायी स्वागत नेपाललाई लिएर आइतबार महानगरीय प्रहरी वृत्त गौशाला पुगेकी थिइन् । आइतबार नै छवि र शिल्पाविरुद्ध उजुरी परेको समाचारहरु आए पनि वृत्तले उजुरी लिएर, महिला तथा बालबालिकासम्बन्धी उजुरी हेर्ने महिला तथा बालबालिका सेल कालीमाटीमा पठायो । सेलले मंगलबार उजुरी लिएको थियो। गौशाला वृृत्तका डिएसपी प्रदीपबहादुर सिंहले भने, ‘महिलासम्बन्धी मुद्दा भएकाले महिला सेलले हेरोस् भनेर उता पठायौं ।

हामीले नै उहाँहरुलाई त्यता जाने सल्लाह दिएका हौं । प्रहरीले रेस्पोन्स नगरेको हल्ला सत्य होइन ।’ 
छवि र शिल्पाविरुद्ध आएको निवेदन महिला सेलले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले यी दुबैविरुद्ध पक्राउ गरी अनुसन्धान गर्ने अनुमती दिएपछि प्रहरी अहिले यी दुबैको खोजीमा छ ।

३४ वर्षपछिको इन्ट्री
दोस्रो श्रीमती गीताञ्जलीले आत्महत्या गरिन् । तेस्री नायिका रेखा थापाले छोडपत्र गरिन् तर यी दुवै केसमा हेमाको अत्तोपत्तो थिएन । शिल्पाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दै कानुनले दिने सम्पत्ति लिन्छु भनेपछि एकाएक हेमा सार्वजनिक भएपछि यत्ति लामो समय उनी किन मौन बसिन् भनेर नाना शंका भइरहेको छ ।

कतिले यसलाई सम्पत्ति जोगाउन छविले खेलेको खेलको रुपमा हेरेका छन् । हेमालाई सघाउने अभिवक्ता नेपालले रेखाको फिल्ममा अभिनय गरेको आधारमा टेकेर रेखा र स्वागतबीच राम्रो सम्बन्ध रहेको र रेखाले नै स्वागतमार्फत् हेमालाई उजुरी हाल्न लगाएको विश्लेषण पनि भइरहेको छ ।

दोस्रो श्रीमती गीताञ्जलीको छोरासमेत भएकाले उनले पहिल्यै दोस्रो विवाह गरेको पुष्टि हुन्छ । शुक्रवारले पाएको जानकारीअनुसार रेखा र छविबीच कानुनी छोडपत्र नभई घरायसी कागज गरेको आधारमा सम्बन्ध टुङ्ग्याएका थिए ।
कानुनी रुपमै आफू छविकी पत्नी भएको दाबीसहित केस अदालतमा पुर्याउने शिल्पा मात्र हुन् । यसले पहिल्यै दुई वटा विवाह गर्दा मौन किन भन्ने दाबी कमजोर देखिन्छ । 

बहुविवाहको कानुनअनुसार पीडितले जानकारी पाएको तीन महिनाभित्रै उजुरी दिनुपर्ने व्यवस्था छ । अभिवक्ता स्वीकृति बरालका अनुसार बहुविवाह कानुनले निषेध गरेको कार्य हो । कसैले पनि एक जनासँग श्रीमान्÷श्रीमतीको नाता कायम रहेसम्म अर्को विवाह गर्न पाउँदैन, न त त्यसरी गरिएको विवाहले कानुनी मान्यता नै पाउँछ ।

‘उजुर गर्ने व्यक्तिले आफूले थाहा पाएको मितिले तीन महिनाभित्र उजुर गर्न पाउँछ तर उजुरी दिनेलाई बहुविवाहबारे थाहा नै नभएको र नहुने कारणहरुको पुष्टि हुन जरुरी हुन्छ,’ बरालले भनिन्। छविले सम्पत्ति जोगाउन उजुरी हाल्न उक्साएको तर्कमा पनि दम देखिन्न । बहुविवाहको कानुनअनुसार प्रमाणित भए दुई वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुन्छ । 

हेमाले उजुरीमा ‘म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुबिबाह गरेको हँदा म प्रचलित कानुनबमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कार्बाही प्रक्रिया अघि बढाउन अनुसन्धानसमेत गरी निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ’ भनेकी छन् । कैद कुनै एक पक्षलाई हैन दुवै पक्षलाई हुन्छ । यो केस प्रमाणित भएको खण्डमा शिल्पा मात्रै हैन छविसमेत जेल पर्नेछन् ।

शिल्पाको हकमा उनले आफूलाई गुमराहमा राखेर पहिलो विवाह छोडपत्र भएकाले विवाह गरेको र विवाह दर्तासमेत भएकाले पहिलो श्रीमतीसँग छविको श्रीमान्–श्रीमतीको सम्बन्ध अझै कायम रहेकोबारे आफूलाई जानकारी नभएको दाबी गर्न सक्छिन् । यो दाबीमा प्रमाण पुगे उनले उन्मुक्ति त पाउन सक्दिनन् तर सजाय कम हुनसक्छ । पहिलो श्रीमतीबारे झुक्याएर विवाह गरेको प्रमाणित भए छविको सजाय बढ्न सक्छ ।

जेल जालान् छवि–शिल्पा ?
हेमाको केस हेरिरहेका कानुन व्यवसायी स्वागत नेपालका अनुसार हेमाले छविसँग सम्पत्ति लिएर छुटेर बसेकी थिइन् । तर, डिभोर्स भने लिएकी थिइनन् । 

‘उहाँले पहिल्यै अंश लिएर बस्नु भएको हो,’ नेपालले भने, ‘छोराहरु दुवैले अंश पाइसक्नु भएको छ । त्यसो भएको हुनाले उहाँले जे गरे पनि अंश पाउने होइन । जोगाइदिए पनि हेमा ओझाले अनि अरु छोराले पैसा पाउने होइनन् ।’

नेपालको दाबी सत्य हो भने विवाद बदर नभए पनि हेमाले हालेको बहुविवाहको उजुरी फितलो देखिन्छ । अहिलेको कानुनअनुसार सम्बन्ध विच्छेद नभए पनि पहिलो श्रीमती अंश लिएर छुट्टै बसेको अवस्थामा दोस्रो विवाह गर्न कानुनले रोक्दैन ।

‘सम्बन्ध विच्छेद नभएको भए पनि पतिपत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा त्यस्ता पुरुष र महिलाले भने पुनःविवाह गर्न पाउँछन्,’ अधिवक्ता बरालले भनिन् ।

नेपालको भने भिन्न तर्क छ । लामो समयसम्म मञ्जुरी नै नलिई फरक–फरक बसेको हो भने मात्रै बहुविवाहको मुद्दा हाल्न नपाउने तर मञ्जुरीमै फरक–फरक बसेको हो भने बहुविवाहको मुद्दा लाग्ने उनको तर्क छ । 

हेमा–छवि सम्बन्ध
हेमा र छविबीच २०४१ सालमा विवाह भएको हो । त्यसबेला छविको उमेर १९ वर्षको थियो । छवि र हेमाका छोरा राजीव र महेश छन् । एक छोरा स्नातकोत्तर सकेर यतै छन् भने अर्का अस्ट्रेलियामा । 

हेमा विराटनगरमा बस्ने गरेको छविले बताउँदै आएका थिए तर नेपालका अनुसार उनी निकै समय अघिदेखि काठमाडौंमै बस्दै आएकी थिइन् । काठमाडौंमा उनी बहिनीसँग बस्दै आएकी थिइन् । 

हेमा मिडियाबाट परै छिन् । उनका तर्फबाट अभिवक्ता स्वागतले बोल्ने गरेका छन् । ‘३४ वर्षसम्म किन मौन देखिइन् हेमा ?’ प्रश्न गर्यौं । 
‘यो भन्दा अघिका सम्बन्धबारे प्रमाण थिएन । छविजीले प्रमाण छ भनेर सोध्ने गरेका थिए । प्रमाण थिएन,’ नेपालले भने, ‘यो पालि बिहे गरेको प्रमाण नै फेला पर्यो ।’

शिल्पा बहुविवाहका लागि अदालत पुग्दा छविले फेसबुकमा लेखेका थिए, ‘न्यायका लागि अदालत जानु पर्दैन । छविको अदालतमा आऊ, न्याय पाउँछौ ।’ हेमा बहुविवाहको उजुरी लिएर प्रहरी कार्यालय पुगे लगत्तै पक्राउ पूर्जी जारी भएपछि छवि सम्पर्कहिन छन् ।

यसपालि उनले छविबाट हैन, अदालतबाटै न्याय खोजेको देखियो । 

न्याय पाउलिन् हेमाले ?

घटनाक्रम हेर्दा अझै ट्वीस्ट र टर्न बाँकी नै छन् ।

‘घरमा श्रीमती हुँदाहुँदै छोरी उमेरकीसँग बहुविवाह गरे’
२०४१ सालमा हामीबीच विवाह भएको हो । हाम्रा दुई सन्तान राजीव र महेश छन् । उहाँ र मेरो सम्बन्ध सामान्य नै थियो । त्यसपछि उहाँ कहिले काठमाडौं कहिले जिल्लातिरै आउजाउ गरिरहनुहुन्थ्यो । त्यसपछि उहाँको व्यवहारमा केही परिवर्तन आएको मैले महसुस गर्न थालेँ ।

हामी बीचमा केही मनमुटाव पनि भयो । तपाईंको बानी व्यवहार मलाई ठीक लागेको छैन । के हो ? किन परिवर्तन हुनुभएको ? भनेर प्रश्न सोध्दा केही होइन, मलाई किन शंका गर्छौ मात्र भन्नु हुन्थ्यो । हुन पनि उहाँको पेशा फिल्मी क्षेत्र भएकाले सबैसँग बोल्नुपर्छ, हाँस्नुपर्छ । मैले धेरै शंका गर्नु ठीक होइन भनी विवाद गर्न छाडेँ ।

विभिन्न समयमा विभिन्न महिलाहरुसँग जोडेर मलाई विभिन्न व्यक्तिहरुले सुनाउँथे । मैले उहाँसँग सोध्दा सत्यता त्यस्तो होइन भन्ने जवाफहरु पटक–पटक दिइरहँदा कसैका सवालमा पनि मेरो श्रीमान् छवि ओझासँग फेरि पनि सोध्दा ‘हामीले विवाह गरेको प्रमाण के छ तिमीसँग ?’ भनी उल्टो प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ, विवाह कहीँकतै दर्ता पनि भएको रहेनछ ।

पछिल्लो समयमा मिडियामा धेरै चर्चा भएपछि म आफैँले खोजी, उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी मेरा २०७६÷०४÷०३ गते उहाँकै कार्यालयबाट उहाँकै कर्मचारीमार्फत् निज शिल्पा र मेरा श्रीमान्ले विवाह गरी दर्ता नै गरेको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदारहँदै बहुविवाह गरेकाले हिजो मात्र मैले विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेलबीच मिति २०७५ साल पौष ११ गते विवाह दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि फेला पारेपछि बहुविवाह गरेको प्रमाणित नै भएकाले घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हो जाहेरी लिई उपस्थित भएकी हुँ ।

निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडै नियन्त्रणमा लिई कार्बाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ’   
(हेमाले महिला सेलमा दिएको जाहेरीको सम्पादित अंश)

Leave A Comment