लापर्बाही नगरौँ टाउको दुखाइमा

बुधबार, १९ साउन २०७३, १० : २७ डा. प्रवीण श्रेष्ठ , Kathmandu
लापर्बाही नगरौँ टाउको दुखाइमा

‘कस्तो टाउको दुखिरहेको छ’ भन्ने मानिस हाम्रा वरपर प्रशस्त भेटिन्छन् । सायदै मान्छे होलान् जसको कहिल्यै टाउको नदुखेको होस् । टाउको दुख्नुका विभिन्न कारण हुन सक्छन् । कुनै कारण सामान्य हुन्छन् त कुनै जटिल । ‘टाउको दुखेको त हो नि’ भनेर लापर्बाही कहिल्यै गर्नु हुँदैन । कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हँुदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ ।
उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउको दुखाइ मात्र हो कि सँगसँगै अन्य समस्या पनि छन् भन्नेमा ध्यान दिनुपर्छ । जस्तै, कोही टाउको दुखाइसँगै बेहोस हुने गर्छन्, त्यो समस्या जटिल हुन सक्छ । बेहोस हुनका पनि विभिन्न कारण हुन्छन् । कतिपय सामान्य बेहोसी हुन्छन् । तर, कतिपय अवस्थामा टाउको दुखाइको असरले बेहोस हुने पनि हुन्छन् । केही मानिस टाउको दुखाइ सहन नसकेर बेहोस हुन्छन् भने कोही ब्रेन ट्युमर, रगत जमेर, पानी जमेर बेहोस हुने गर्छन् । छारे रोगमा पनि टाउको दुखाइ हुन्छ । छारे रोगको उपचारपछि टाउको दुखाइ पनि ठीक हुन्छ ।
नसाको रोगका कारण पनि टाउको दुखाइ हुने गर्छ । नसासम्बन्धी समस्या लिएर आउने ५० प्रतिशत बिरामीलाई टाउको दुख्ने समस्या हुन्छ । टाउको दुखाइका विभिन्न कारणमध्ये सबैभन्दा बढी देखिने कारण चाहिँ तनाव हो । तनावका कारण हुने टाउको दुखाइ खास गरी मानसिक तथा शारीरिक धपेडीले हुन्छ । हरेक मानिसका आफ्ना समस्या अनुसारको तनाव हुन्छ । तनावको उपचार दुई तरिकाको गर्न सकिन्छ । एक, बिरामी आफैँले र अर्को चिकित्सकीय । बिरामीले आफैँ प्रयास नगरेसम्म चिकित्सकको एकल प्रयासले तनाव ठीक हुँदैन । तनाव हुने व्यक्तिले सर्वप्रथम तनाव कम गर्नुपर्छ । तनाव बढी भए शरीरलाई पनि असर गर्छ ।
टाउको दुखाइको अर्को कारण माइग्रेन हो । टाउकोमा एक किसिमको नसाको कमजोरीका कारण माइग्रेन हुन्छ । माइग्रेनमा अकस्मात टाउको दुखाइ सुरु भएर घण्टौँ वा लगातार केही दिनसम्म दुख्ने हुन्छ । र, दुखाइ बिस्तारै कम हँुदै जान्छ । हर्मोनको अस्थिरताले गर्दा माइग्रेन पुरुषमा भन्दा बढी महिलामा देखिन्छ । हर्मोनको मात्रा पुरुषमा भन्दा महिलामा बढी असन्तुलित हुने हँुदा महिलामा माइग्रेन धेरै देखिएको हो । १०–१२ वर्षपछि महिलामा शारीरिक परिवर्तन सुरु हुन्छ, त्यसपछि महिनावारी हुन्छ । महिनावारी र गर्भवतीको समयमा हर्मोन परिवर्तन हुन्छ । त्यसै गरी, बच्चा जन्मिएपछि पनि हर्मोन परिवर्तन हुन्छ । यसै क्रममा ४०–४५ वर्षपछि महिनावारी सुक्ने समयमा पनि हर्मोन परिवर्तन हुन्छ । हर्मोन परिवर्तन भइरहने हुनाले महिलामा माइग्रेन बढी देखिएको हो । प्रायः माइग्रेनका बिरामीले एक महिना औषधि सेवन गरेपछि ठीक भएको महसुस गर्छन् र औषधि बन्द गर्छन् । यसले टाउको दुखाइ बल्झिन् सक्छ । त्यसैले नियमित औषधि सेवन माइग्रेनबाट बच्ने एक मात्र उपाय हो ।
कहिलेकाहीँ रुघाखोकी, ज्वरो, पिनासका कारण पनि टाउको सामान्य दुख्ने गर्छ । यस्तो दुखाइ साधारण र खतरा नभएकाले सामान्य उपचारपछि ठीक हुन्छ । यीबाहेक शरीरको अन्य कुनै भागको असरका कारण पनि टाउको दुख्न सक्छ, जसलाई सेकेन्डरी टाउको दुखाइ भनिन्छ । जुनै कारणले पनि टाउको दुखेको हुन सक्छ । तर, समस्या बल्झिँदै गएपछि त्यसले जटिलता थप्नेबाहेक केही गर्दैन । सामान्य उपचारपछि टाउको दुखाइ कम भएन भने चिकित्सकको सल्लाह लिनु नै उचित हो । त्यसैले टाउको दुखाइको क्रम दोहोरिने वा बढ्ने भयो भने तत्काल चिकित्सकको सल्लाह लिएर निदानतर्फ लाग्नु नै बुद्धिमानी हुन्छ ।

 

Leave A Comment