पत्रकारको जात्रा !

सोमबार, ०६ साउन २०७६, ०२ : ०० शुक्रवार
पत्रकारको जात्रा !

फिल्म चलाइदिने दर्शकले कि पत्रकारले ? नेपाली फिल्मवालाहरुको चाला हेर्ने हो भने त पत्रकारले हो कि भन्ने भ्रम उत्पन्न हुन्छ। किनभने कुनै फिल्म सफल भयो र त्यसको सेलिब्रेसनमा गरियो भने सम्मानित हुनेमा पत्रकारकै हुल बढी हुन्छ। हालै ५१ दिन मनाएको ‘जात्रैजात्रा’ हेराैँ न। ५१ दिन मनाएको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा चलचित्रको निर्माण समूहले प्राविधिकलाई सम्मान ग-यो। यो त राम्रो भयो किनभने फिल्म बनाउन प्राविधिकहरुको कम मिहिनेत परेको हुँदैन ! फेरि तिनको योगदान सम्झने योभन्दा गतिलो अरु कुन दिन होला त ?

सबैभन्दा आश्चर्य भने फिल्मको निर्माण पक्षकै संख्याका हाराहारी फिल्मी पत्रकार पनि सम्मानित भए। कदर पत्र भनिएको ‘प्रमाण पत्र’को व्यहोरा ५१ दिन मनाउन सघाएकोमा भन्ने पाराको हुने नै भयो।

हुन पनि फिल्मकारितामा क्रिटिकल लेखाई दुर्लभ हुन थालिसक्यो। पत्रकारपिच्छे अनलाइन अनि युट्युबको कमाइको लोभले अधिकांश फिल्मकारितामा संलग्नहरुको दिमाग पुरै पोजेटिभको भाइरसले भरिइसक्यो। हलमा दर्शक आऊन्–नआऊन् भव्य ओपनिङ भनेर गुणगान गाउनु सामान्य भइगयो। फिल्मी गफसफ भन्यो, फिल्म प्रमोट ग-यो। त्यसैले त बेलाबखत ‘पाँच हजारे’को आरोप पनि लाग्छ पत्रकारलाई। तर पनि चेत्ने हैनन् !

पैसा लिएर गरिने त्यस्तो प्रचारका लागि किन सम्मान गर्नुप-यो ? अनि, लिनेले पनि पैसा र सम्मान दुवैको लोभ किन गरेका होलान् हगि ?

फिल्म कन्टेन्टका कारण चल्ने हो भन्ने विश्वास गर्ने जात्रैजात्राको निर्माण समूहले चाहिँ पत्रकारको हुललाई सम्मान गरेर त्यस्तो चाला नदेखाएको भए हुन्थ्यो !
 

Leave A Comment