पत्रकारको जात्रा !

बिहिबार, ०२ साउन २०७६, ०६ : ४८ शुक्रवार
पत्रकारको जात्रा !

फिल्म चलाइदिने दर्शकले कि पत्रकारले ? नेपाली फिल्मवालाहरुको चाला हेर्ने हो भने त पत्रकारले हो कि भन्ने भ्रम उत्पन्न हुन्छ । किनभने कुनै फिल्म सफल भयो र त्यसको सेलिब्रेसनमा गरियो भने सम्मानित हुनेमा पत्रकारकै हुल बढी हुन्छ । हालै ५१ दिन मनाएको ‘जात्रैजात्रा’ हेराै‌ं न ।

५१ दिन मनाएको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा चलचित्रको निर्माण समूहले प्राविधिकलाई सम्मान ग¥यो । यो त राम्रो भयो किनभने फिल्म बनाउन प्राविधिकहरुको कम मिहिनेत परेको हुँदैन ! फेरि तिनको योगदान सम्झने योभन्दा गतिलो अरु कुन दिन होला त ? 

सबैभन्दा आश्चर्य भने फिल्मको निर्माण पक्षकै संख्याका हाराहारी फिल्मी पत्रकार पनि सम्मानित भए । कदर पत्र भनिएको ‘प्रमाण पत्र’को व्यहोरा ५१ दिन मनाउन सघाएकोमा भन्ने पाराको हुने नै भयो । 

हुन पनि फिल्मकारितामा क्रिटिकल लेखाई दुर्लभ हुन थालिसक्यो । पत्रकारपिच्छे अनलाइन अनि युट्युबको कमाइको लोभले अधिकांश फिल्मकारितामा संलग्नहरुको दिमाग पुरै पोजेटिभको भाइरसले भरिइसक्यो । हलमा दर्शक आऊन्–नआऊन् भव्य ओपनिङ भनेर गुणगान गाउनु सामान्य भइगयो । फिल्मी गफसफ भन्यो, फिल्म प्रमोट गर्यो । त्यसैले त बेलाबखत ‘पाँच हजारे’को आरोप पनि लाग्छ पत्रकारलाई । तर पनि चेत्ने हैनन् !

पैसा लिएर गरिने त्यस्तो प्रचारका लागि किन सम्मान गर्नुपर्यो ? अनि, लिनेले पनि पैसा र सम्मान दुवैको लोभ किन गरेका होलान् हगि ?

फिल्म कन्टेन्टका कारण चल्ने हो भन्ने विश्वास गर्ने जात्रैजात्राको निर्माण समूहले चाहिँ पत्रकारको हुललाई सम्मान गरेर त्यस्तो चाला नदेखाएको भए हुन्थ्यो !
 

Leave A Comment