वर्षालाई वर्षाको ‘प्रेमपत्र’

शुक्रबार, ०३ जेठ २०७६, ०८ : १७ शुक्रवार
वर्षालाई वर्षाको ‘प्रेमपत्र’

एकै समयमा फिल्म क्षेत्रमा आएका २ वर्षा (राउत र सिवाकोटी) अभिनित फिल्म ‘जात्रैजात्रा’ र ‘वीर विक्रम–२’ एकै दिन हलमा लाग्ने भएपछि चल्तीको हेडलाइन ‘२ वर्षाको भिडन्त’ शैलीमा समाचार आएपछि सिवोकोटीको चित्त दुखेछ । र, उनले फेसबुकमा राउतको नाममा लामै पत्र लेखिन् । राउतलाई पनि चित्त दुखिरहेको रहेछ । उनले पनि मीठो प्रतिउत्तर लेखिन् । दुवैका शुभचिन्तकले दुवैको डिजिटल प्रेमपत्र रुचाए ।

वर्षा सिवाकोटीको पत्र
डियर वर्षा राउत, खै कसले भनेछ हामी दुश्मन अरे ! हामीले एकअर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे ! हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्वीकार न तिमीले गर्न सक्छौ, न मैले । 
एकै ओछ्यानमा सुतेपछि खुट्टा लाग्नु त स्वाभाविक नै हो नि होइन र ? हिजो एकै फ्रेममा अटाएका हामी आज एकअर्काको दुश्मन बनाइएका छौँ । के साँच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ? न कहिल्यै कसैसामु संकुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक थियो होला, समय पक्कै फरक थिएन । फेरि केही दिनमा सुन्न पाइनेछ ‘जेठ ३ मा दुई वर्षाको भिडन्त’ तर, म भन्छु जेठ ३ मा हाम्रो भिडन्त होइन, मिलन हुनेछ हलमा । ‘जात्रै जात्रा’को लागि शुभकामना ।

वर्षा राउतको प्रतिउत्तर
हेल्लो डियर,
त्यै त है ! हामीलाई थाहा नै नपाई एकअर्काको दुश्मनको बिल्ला भिराएछन् ! फूलको आँखामा फूलै संसार ! मेरो केही भन्नु छैन । मुख्य कुरा हामीले एकअर्कालाई कसरी लिन्छौँ भन्ने हो । हामी आफ्नो–आफ्नो काममा व्यस्त हुँदा कुराकानी, भेटघाट पातलो भएको पक्कै हो । यसको मतलब दुश्मन कुन कोणबाट भयौँ भन्नेहरुलाई नै थाहा होला । हामी कलाकार आज एउटासँग भोलि अर्कोसँग काम गर्नुपर्ने हुन्छ । हाम्रो आफ्नो भनेको काम हो । कुन फिल्म कहिले आउने भन्ने हाम्रो कुनै हात हुँदैन । यसमा कुनै हाम्रो गल्ती देख्दिनँ । म पनि यही कुरा सोच्दै थिएँ, तिमीले मेरो मनकै कुरा लेख्यौ । तिमीलाई पनि ‘वीर विक्रम २’ को शुभकामना ! बाँकी भेटमा है साथी !

Leave A Comment