प्रहरीमा अकस्मात अदली–बदली

बिहिबार, २६ बैशाख २०७६, ०८ : ५७ शुक्रवार
प्रहरीमा अकस्मात अदली–बदली

प्रहरी प्रधान कार्यालयले समय नपुग्दै महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्डर परिर्वतन गर्दै एसएसपी सहकुल थापा र एसएसपी उत्तम सुवेदीलाई जिम्मेवारी दिएको छ ।
सामान्यतः एक वर्षअघि नै सरुवा नहुने भए पनि नियमित सरुवाभन्दा अगाडि नै हेडक्वार्टरले महशाखाका एसएसपी धीरजप्रताप सिंह र परिसरका एसएसपी वसन्त लामालाई काजमा सरुवा गरेको हो ।

सिंह भर्ना तालिम निर्देशनालय पुगेका छन् भने लामा लागुऔषध नियन्त्रण ब्युरोको सेकेन्डम्यानको रुपमा सरुवा भएका छन् । समय नै नपुगी यी दुवैको सरुवाको कारण भने खुल्न सकेको छैन ।

सिंह नियमित सरुवामा महाशाखा आएका थिए भने लामा परिसरका तात्कालीन प्रमुख विश्वराज पोखरेलको आकस्मिक सरुवापछि काठमाडौं आएका थिए । काँडाघारीमा भएको बालक अपहरण र हत्याको अनुसन्धानका क्रममा सिंह र पोखरेलबीच विवाद देखिएको भन्दै हेडक्वार्टरले अकस्मात पोखरेललाई सरुवा गरेको थियो । 

त्यो बेलामा लामा साढे ३३ किलो सुन तस्करीको छानविनका लागि निजामती कर्मचारीको संयोजकत्वमा गठित छानविन समितिमा सदस्य थिए । लामा समितिबाट काठमाडौं परिसर प्रमुखको रुपमा सरुवा भएर आएका थिए । उनले काठमाडौंमा पूर्ण कार्यकाल बिताउन भने पाएनन् ।

महाशाखा प्रमुखको रुपमा सिंहले ठीकठीकै काम गरे पनि काँडाघारी अपहरण र हत्यापछि भक्तपुर पु¥याएर भएको दुई जना आरोपीको इन्काउन्टर र पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको स्वीकार गरेको भिडियो फुत्काउन स्टिङ अप्रेसनमा संलग्न व्यक्तिलाई गैरकानुनी नियन्त्रणमा लिएर धम्क्याएको घटनामा मुछिएका थिए । 

एनसेल हेडक्वार्टरमा भएको विष्फोट लगायतका आपराधिक घटनाको अनुसन्धानमा उनी सफल भएका थिए । काठमाडौं परिसर प्रमुखको रुपमा लामा विवादमा तानिएनन् तर उनको कार्यशैली मध्यम नै रह्यो ।
संयोग, काठमाडौंबाट सरुवा भएका लामा र सिंह तथा काठमाडौं आएका सुवेदीसमेत रिक्त रहेको डिआइजी पदका बढुवाको दावेदार थिए । तर काठमाडौंबाट लागुऔषध अनुसन्धान ब्युरो पु¥याइएका एसएसपी पोखरेल डिआइजीमा बढुवा भए । बढुवामा छुटेलगत्तै लामा र सिंह दुवै जनाको पोस्टिङ काजमार्फत् परिर्वतन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आएका कमाण्डर कस्ता ?
तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको गम्भीर अपराध अनुसन्धानको जिम्मेवारी रहेको अपराध महाशाखाको प्रमुखमा आएका सहकुल थापा यसअघि एसपीको रुपमा महाशाखामा काम गरिसकेका प्रहरी अधिकृत हुन् । उनी यसअघि काभ्रे लगायतका जिल्लाको प्रमुख समेत भएका थिए । 

एसएसपी सुवेदी पनि काठमाडौं परिसरको दोस्रो तहमा बसिसकेका प्रहरी अधिकृत हुन् । उनी सरुवा भएर काठमाडौं आउनुअघि प्रहरी प्रवक्ताको भूमिकामा थिए । 

चुनौती कम छैन
प्रहरी अधिकृतका लागि महाशाखा र परिसर पहिलो रोजाइएको पोस्टिङ हो । बदमासी नै नगरे पनि ‘नजराना’कै भरमा आर्थिक अवस्था सुध्रन सक्ने क्षेत्र हो यो । सानो नतिजामा पनि उल्लेख्य चर्चा हुँदा करिअरलाई समेत राम्रै फाइदा दिन्छ राजधानीका जिल्लाले ।

तर चुनौती पनि कम छैन । तातो तावामा बसे सरह नै हो काठमाडौं प्रहरी अधिकारीका लागि । कतिखेर कार्बाहीको डण्डा पर्छ पत्तो हुन्न । आफ्नै संगठनका सदस्यको षड्यन्त्र, सत्ताधारी दलको स्वार्थ चिरेर काम गर्नु, अतिरिक्त आम्दानीका लागि जस्तोसुकैसँग हेलमेल हुन नडराउने प्रहरी कर्मचारीको जालो तोड्नु चानचुने चुनौती हैन ।

काठमाडौंमा प्रहरी कमाण्डर बनेर आउनेको पहिलो चुनौती नै पूरा कार्यकाल बस्नु हो । महाशाखा हुन् या परिसर यी दुवै स्थानमा आउन संगठनभित्र निकै रस्साकस्सी चलिरहन्छ सधैँ । यी दुवै कार्यालय प्रमुखको पहिलो चुनौती यी कार्यालयमा आउन चाहने संगठनका सदस्यको षड्यन्त्र असफल बनाउनु नै हो ।

पछिल्लो समय काठमाडौंमा गम्भीर प्रकृतीका आपराधिक घटना भएका छैनन् । संगठित अपराध विरुद्धको कडा नीतिका कारण केही हच्किए पनि काठमाडौं उपत्यका अपराधको पनि राजधानी हो । 
पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव समूहबाट सुरक्षा चुनौती बढिरहेको छ । संगठित अपराध सुस्ताएको देखिए पनि भित्री रुपमा भने जबर्जस्ती रकम असुली लगायतका आपराधिक घटना क्रम रोकिएका छैनन् ।

काठमाडौंमा हुने सामान्य आपराधिक घटनाको प्रभाव ठूलो हुने भएकाले त्यसको नकारात्मक प्रभाव यहाँ आउने प्रहरी प्रमुखको कार्यकालसँग जोडिन्छ नै । यसअघिका केही घटनाले देखाइसकेको छ, कुनै पनि आपराधिक घटनाको कारण तत्काल सरुवा निस्कनु अनौठो हैन । तर याे सरुवामा त्यस्ताे कारण देखिएकाे छैन ।

पछिल्लो समय प्रहरी संगठनका मध्यम तहका प्रहरी अधिकृतबीच एकले अर्काको करिअरै सिध्याउने षड्यन्त्र चुलिन थालेको देखिएको छ । अपराध अनुसन्धानको जिम्मेवारी पाएका प्रहरी अधिकारीहरु आफैं असुलीमा सक्रिय रहेका गुनासो उत्तिकै बढेको छ ।

महाशाखा र काठमाडौं परिसरमा सत्ताधारी दलको स्वार्थ सिधै ठोकिदै आएको छ । पछिल्लो सरुवाले समेत त्यसको संकेत गर्छ नै । राजनीतिक नेतृत्वसँग विशिष्ट वाचा नगरी काठमाडौंमा सरुवा पाउन सम्भव छैन । कार्यरत प्रहरी अधिकारीलाई काजमा पठाएर आएका थापा र सुवेदीको हकमा पनि यो लागु हुन्छ नै ।

काठमाडौंको सफल नेतृत्वले संगठनमा आगामी यात्रा सहज बनाउने देखिन्छ । संगठनको नेतृत्वमा पुगेका अधिकांशको पब्लिक फ्रेम महाशाखा या काठमाडौं परिसरले बनाएको थियो । यी दुवै एसएसपीको हकमा पनि यो लागू हुनसक्छ । यी दुवै एसएसपी रहेको ब्याचबाट प्रहरी नेतृत्वको छनोट हुने भएकाले नागरिकमाझ बलियो छवि बनाउन दुवैलाई यो पोस्टिङ अवसर हुन सक्छ तर यही ब्याचबाट एसएसपी विश्वराज पोखरेल एक्लै डिआइजी भइसकेकाले नेतृत्वसम्म पुग्न थप चुनौती भने उत्तिकै देखिन्छ ।
 

Leave A Comment