अशुद्ध शब्दहरू कसरी शुद्ध हुन सक्छन् ?

आइतबार, १६ साउन २०७३, १० : ४० डा. बलदेव शर्मा अधिकारी , Kathmandu
अशुद्ध शब्दहरू कसरी शुद्ध हुन सक्छन् ?

भाषा मानवले नै बनाउँछ । भाषा मानवको सम्पत्ति हो । यदाकदा बन्नै नसक्ने शब्द पनि बनिसकेको हुन्छ । बनाउने व्यक्तिले नै पत्तो नपाउन सक्छ । अत्यधिक प्रयोगमा आइसकेपछि अशुद्ध पनि शुद्ध हुन्छ । यो सामाजिक नियम पनि हो । बासी भात अथवा कुहिएको कुरो बिटुलो र अशुद्ध हुनु स्वाभाविक हो । यस्ता दूषित वस्तुहरू स्वास्थ्यका लागि हानिकारक पनि छन् तर बासी भातलाई कुह्याएर बनाइएको जाँड भने भोजभतेरमा पनि ससम्मान प्रयोगमा आउँछ । गुण्डागर्दी, बलात्कार, हत्या जस्ता अभियोग लागेको व्यक्ति सामाजिक कलङ्क हो । त्यही व्यक्ति बहुसंख्यक जनताबाट चुनिएर निर्वाचित भयो भने सांसद भइहाल्छ । पहिले–पहिले कोर्रा लगाउने प्रहरी नै अभियुक्तको अङ्गरक्षक बन्न आउन सक्छ । त्यस्तै अभियोगमा परेकाहरू मन्त्रीसमेत भएकै छन् ।  हो, यसै गरी शिक्षित प्रयोक्ताहरूमध्ये अत्यधिकले गरेको प्रयोगका कारण अशुद्ध शब्दहरू पनि शुद्ध मानिन्छन् तर सचेत साहित्यकारले त्यस्ता शब्दलाई प्रयोगमा ल्याउँदैन ।  
बहुप्रचलित अशुद्ध शब्द शुद्ध बन्दै जानुमा भाषाविज्ञानको ‘सादृश्य’ भन्ने सूत्रको पनि भूमिका देखिन्छ । आउ भन्ने मूल धातुमा ‘अत’ प्रत्यय लागेर ‘आवत’ शब्द बन्यो । जा धातुमा अत प्रत्यय लाग्दैन । यसैले सादृश्यकै आधारमा ‘जा’लाई ‘जाउ’ बनाएर  ‘जावत’ शब्द बनाइयो । यस्तै सादृश्यका कारण अपाङ्गको विपरीतार्थक साङ्ग वा सबलाङ्ग शब्द हँुदाहुँदै कतिपयले ‘सपाङ्ग’ भनेका छन् । यसको चलन चलिरह्यो भने एक दिन ‘सपाङ्ग’ पनि शुद्ध मानिएला । यस सन्दर्भमा बुझ्नुपर्ने रोचक प्रसङ्ग छ । अमुक व्यक्ति प्रधानमन्त्री भएको बेलामा उनले कुनै एक ठाउँमा गएर भाषण गरे । उनको वक्तृता वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूको जस्तै प्रभावशाली थियो । धाराप्रवाह बोल्थे ः “को अपाङ्ग, को सपाङ्ग सबैले आफूलाई सक्षम सम्झनुपर्छ । अपाङ्गलाई सपाङ्गले हेप्नु हुँदैन ।”
अप उपसर्ग छ । अप उपसर्ग र अङ्ग शब्द मिलेर अपाङ्ग भएको छ । ‘सप’ त उपसर्ग पनि होइन र सार्थक शब्द पनि होइन । ठूलाबडाले बोलिदिएपछि सर्वसाधारणलाई देववाणी भइहाल्यो ।
मनःक्रान्ति, मनक्रान्ति वा मनष्क्रान्ति हुनुपर्नेमा स्वामी विकाशानन्दले ‘मनोक्रान्ति’को प्रचारै गरे । यसो हुनु ‘मनोवाद, मनोहर, मनोविनोद, मनोरम’ आदि शब्दको सादृश्यबोध हो । अहिले नेपाली भाषामा अत्यधिक प्रचलनमा ल्याइएका दुइटा शब्द छन् ः १. अन्तक्र्रिया २. अन्तर्संवाद । यी दुवै शब्द संस्कृतका तत्सम शब्द भनिएका छन् । वास्तवमा पाणिनीय सूत्रले उक्त दुवै शब्दलाई शुद्ध मान्न सक्तैन । यसरी विसर्ग रेफमा परिणत हुनका लागि त्यसको पछाडि घोषवर्ण हुनुपथ्र्यो । अन्तःक्रिया वा अन्तष्क्रिया तथा अन्तः संवाद वा अन्तस्संवाद नभएर ‘अन्तक्र्रिया’ वा ‘अन्तर्संवाद’ हुनुमा पनि सादृश्यकै सिद्धान्तले काम गरेको छ । ‘अन्तर्गत, अन्तराष्ट्रिय, अन्तर्मन, अन्तर्मुखी’ आदि शब्दलाई हेरेर सचेत तर अद्र्धशिक्षित प्रयोक्ताहरूले ‘अन्तक्र्रिया, अन्तर्संवाद’ जस्ता शब्द चलाइदिए, शिक्षितहरूले पनि अचेतनावश प्रयोग गरिरहे । यसरी सादृश्यबोध हुँदाहुँदै यस्ता शब्दहरू कुनै दिन शुद्ध ठहरिएलान् । भाषाका प्रहरीले पनि शुद्ध मानिदिनैै पर्ला !

Leave A Comment