‘क्या मलिन थियो त्यो आवाज’

आइतबार, १५ बैशाख २०७६, ०४ : ५२ शुक्रवार
‘क्या मलिन थियो त्यो आवाज’

‘नमस्ते,’ क्या मलिन थियो त्यो आवाज !
‘नमस्ते,’ शान्त जवाफ फर्काएँ मैले ।

‘सञ्चै हुनुहुन्छ ?’ मैले सुनेको यो नै पहिलो आवाज थियो उनको र त दिमागमा ज्यूँका त्यूँ गुञ्जिरहन्छ । यसको ठीक एक वर्ष पहिले मैले उनको हँसिलो मुहार फेसबुकमा देखेको थिएँ । खै केले तान्यो मलाई, उनलाई त्यहाँ देख्नेबित्तिकै उनको फेसबुके भित्तो धुन्ने काम बन्न थाल्यो । करिब ३÷४ महिनाको भित्तो घुमाईपछि गलेँ म । अनि पठाएको रिक्वेस्ट एसेप्ट हुन २४ घण्टा पनि लागेन । सोचेँ, उनलाई पनि मेरो चीर प्रतीक्षा थियो । 

यसका ६ महिना यत्तिकै बिते तर उनीसँग कसरी कुराकानी शुरु गर्ने भनेर खुट्याउनै सकिनँ । ती भित्तामा मैले चिनेजानेका कयौँ थिए तर तिनीहरुलाई पनि मैले उनका बारेमा हालखबर सोध्न सकिनँ । उनका बारेमा यत्तिका मिहिनेतपछि पनि केही जान्न सकिएन । सायद दशैँको टीकाको दिन हुनुपर्छ, साँझपख यत्तिकै बेमनले फेसबुक चलाइरहेका बेला ‘आर यु देयर ?’ सन्देश आयो ।

ऊ नै थिई, जसको खबरको प्रतीक्षामा आधा वर्ष बितिसकेका थिए । मौका गुमाउन चाहन्न थिएँ । मैले जवाफ फर्काएँ, ‘यस् ।’

हेर्दा त्यो ‘यस्’ थियो, एउटा स्वीकृति थियो तर मेरा लागि त एउटा ठूलो युद्ध नै जितिसकेको भान दिने अक्षर थिए ।

उनीसँग यसरी बोलचाल सुरु भएको थियो । हरेक दिन कुराकानी सुरु हुँदा कि त उसले कि ‘ह्वेयर गायब ?’ भनिरहेकी हुन्थिन् कि त मैले ।

दशैँको टीकादेखि भाइटीकासम्म एक महिनामा हामी यति नजिक भयौँ कि न त उनलाई थाहा भयो, न त मलाई नै ।

अवस्था पनि कस्तो थियो भने उनको आवाज कस्तो छ भन्ने न त मलाई थाहा थियो न त उनले नै मलाई सुनेकी थिइन् । आवाज नै नसुनेपछि स्वभाव पनि थाहा थिएन । उनको त मलाई एउटै कुरा मात्र थाहा थियो, उनको ‘सुदिङ भ्वाइस’ । जब बोल्थिन्, लठ्ठ पार्थिन् । शब्दका असर थिए त्यहाँ ।
मेरालागि दिनको सुरुवात उनीबाट हुन्थ्यो र अन्त्य पनि ।

त्यो दिन अझै सम्झन्छु, मैले हिम्मत गरेर आफूले तिहारको बत्ती र झिलिमिलीको तस्बिर खिचेर पठाइदिएँ । अनि, मनमनै सोधेँ, ‘सानू, तिमीले कहिले मेरो जीवन यसैगरी झिलिमिली पारिदिन्छ्यौ ?’ प्रकट रुपमा सोध्ने आँट भए पो !

भोलिपल्ट भाइटीका थियो । दिनको सुरुवात सधैँझैँ उही रह्यो तर अन्त्य खास रह्यो । सायद जिन्दगीभर नबिर्सने !

सदाझैँ दिन उही थियो, याद उही थियो तर कल्पना फरक थिए । हामी यति बोल्छौँ, सेयर गर्छाैं, केयर गर्छौं किन ? यो किनको उत्तर न मसँग थियो न उनीसँग । थियो त केवल हामी दुवै जनाको मनसँग । मेरो माया पुरानो थियो, गाढा थियो । मलाई लाग्थ्यो यो एकतर्फी माया हो तर बुझ्दै गएँ, यो एकतर्फी थिएन । उनको माया पनि उस्तै गाढा थियो । कुनै प्रक्रिया बिना नै उनको कुरा आयो, ‘म कहिलेकाहीँ रिसाउँदा, गल्ती गर्दा, केही हुँदा मलाई नकराउनू । अहिले जस्तो माया छ, यो माया सधैँ यस्तै रहिरहोस् । कहिले पनि झुक्किएर परिवर्तन नहोस् । जस्तोसुकै कुरा अए पनिसँगै जुधौँला तर छाड्ने कुरा नहोस् ।’ 

यत्ति भएपछि मलाई के चाहियो ? पत्तै नपाई आँशुले मेरो गह भरिए । ‘लभ यु वाइल्ड’ भनेर म्यासेजमा लेखेँ । यसपछिका केही मिनेटसम्म रिप्लाई आएन । सायद १÷२ मिनेट नै उनको जवाफ आउन लाग्यो तर मेरालागि ती एक÷दुई मिनेट कयौँ कल्पजस्तै लामो लागे ।

आखिरमा भर्खर मौलाएको मायामा खोट पैदा भयो, जब हाम्रो मायामा मेरो थर नै बाधक बनिदियो । उनको बुबाको मावलीको थर र मेरो थर मिल्यो । बुबाको मावलीको थर र मेरो थरले खास फरक नपर्नुपर्ने हो । मराउपराउ पर्दा पनि जूठो बार्नु नपर्ने भएकाले र कूलपूजा पनि फरक भएकाले त हाम्रो मिलनमा रत्तिभर पनि फरक नपर्ने भन्ने निष्कर्ष हाम्रो थियो । बीचमा थरलाई कहिले नल्याउने अनि साथ कहिले नछाड्ने अठोटका बीचमा हाम्रो मायाको ठूलो जग बसेको थियो । कुनै पनि हालतमा सबैलाई कन्भिन्स गर्ने हाम्रो अठोट र विश्वास बीचको यो माया सायदै अस्ताउने जूनजस्तो बनाउने हाम्रो प्रण थियो ।

यसरी म्यासेन्जरमा हामीले रात नै छर्लङ्ग पारिदिन्थ्यौँ । कति पटक त मोबाइलको चार्ज नै भिलेन पल्टिन्थ्यो । हत्त न पत्त चार्जमा राखेर मोबाइल खोल्यो ‘ह्वेयर गायबवाला’ सन्देश आइरहेको हुन्थ्यो । 
एक दिन म लामो विश्रामपछि नेट खोलेँ, उनले नम्बर पठाएकी रहिछन् । उनीसँग बोलेको महिनौँ भइसक्दा पनि नम्बर माग्ने आँट आएको थिएन तर आज उनले आफैँ केही घण्टा अनलाइन नहुँदा नम्बर पठाएकी रहिछन् । मलाई जे चाहिएको थियो त्यही पाएँ । हत्त न पत्त फोन गरेँ ।
फोन उठ्न धेरै बेर लागेन ।
‘नमस्ते,’ त्यो उनको आवाज थियो ।
आह ! उनको त्यो आवाज !
क्या मलिन ! 

‘नमस्ते,’ शान्त जवाफ फर्काएँ मैले ।
‘सञ्चै हुनुहुन्छ ?’ यति सुरिलो भाकायुक्त स्वर पहिलो पटक सुन्दै थिएँ । अहिले पनि जब कुनै मीठो आवाज सुन्छु, उनको आवाजजस्तो लाग्छ । 

उनले त्यो बेला सोधेको ‘सञ्चै हुनुहुन्छ ?’ अहिले पनि गुञ्जन्छ र मनमनै भन्छु, ‘तिम्रा कारणले म सञ्चै छु अहिलेसम्म ।’
–धनकुटा, २६ वर्ष
 

(सम्बन्धबारे केही समस्या छ भने हामीसँग बाड्नुस् । विज्ञमार्फत उपाय पहिल्याउने प्रयास गर्नेछौं । समस्या infoshukrabar@gmail.com फेसबुकमा @shukrabar टुइटर @shukrabarweekly र इन्टाग्राम @nagarikshukrabar मा पठाउनुस् । तपाईको पहिचान गोप्य रहनेछ । )

Leave A Comment