‘अर्को फिल्मबाट प्रभावित हुनु खराब हैन’

आइतबार, २४ चैत २०७५, ०४ : २८ अनिल यादव
‘अर्को फिल्मबाट प्रभावित हुनु खराब हैन’

फिल्म क्षेत्रका ‘डिमान्डेड’ युवा अभिनेता प्रदिप खड्का अभिनित ‘लभ स्टेसन’ शुक्रवार रिलिज भएसँगै चोरीको आरोप लागेको छ ।सोमबार काठमाडौंको माइतीघरस्थित एक रेष्टुरेन्टमा गफिँदा उनी आफूलाई स्टार दाबी गरिरहेका थिएनन् । तर फिल्म बजार उनलाई ‘स्टार’को ट्याग भिडाइरहेको छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः 


रिलिजअघि नै तपाईंको फिल्म विवादमा तानियो । टे«लरका दृश्यहरु टर्किस फिल्म ‘हर से असत्तन’सँग मिल्दोरहेछ । फिल्म त्यतैबाट कपी गरेको हो र ? 
चोरीको हल्ला आउनासाथ मैले सत्य के हो भनेर राइटर÷डाइरेक्टरलाई सोधेँ । हामीले त कन्सेप्ट सुनेर काम गर्ने हो । कहाँबाट प्रभावित भन्ने थाहा नहुन पनि सक्छ । मैले आफैँ पनि हेरेँ । फिल्मसँग त कथा मिल्दैमिल्दैन । केटाकेटीको इन्ट्रोडक्सन अलि युनिक तरिकाले गरौँ न त भनिएको दृश्य मिल्न गएछ । 

यसको अर्थ त्यो दृश्य चोरिएकै हो ? 
हामी बलिउडबाट जसरी प्रभावित हुन्छौँ, त्यसरी नै बलिउड पनि बाहिरबाट खुब प्रभावित देखिन्छ । सिधैँ त्यतैबाट नभए पनि अन्त कतैबाट प्रभावित हुन सक्छ । र, त्यसको पनि श्रोत टर्किस फिल्म भएको हुनसक्छ । मलाई प्रभावित हुनु खराब कुरा हो जस्तो पनि लाग्दैन । कहिले किताबबाट प्रभावित भइन्छ, कहिले फिल्मबाट, कहिले रियल घटनाबाट...।

प्रभावित हुनु गलत होइन तर प्रभावित भएको भनेर स्वीकार नगर्नु, क्रेडिट नदिनु गलत हो कि ? 
फिल्ममा भन्ने होला या केही होला । त्यो राइटर÷डाइरेक्टरको कुरा रह्यो ।  मैले बस् प्रभावित हुनु नराम्रो होइन भन्न खोजेको हो । 

रिलिजअघि नै फिल्मले चोरीको आरोप खेप्दा कलाकारका हिसाबले मन दुखेन ? 
अहिले नै चोरीको कुरा गर्न अलि छिटो भयो कि ! १–२ सिन मिल्न गएको देखिन्छ, जुन सामान्य कुरा हो । अर्को कुरा, हामीले अहिले नेपाली फिल्मका राइटर÷डाइरेक्टरलाई चोरी र प्रभावितको आरोप लाइरहँदा उनीहरुले फिल्मका निर्माताबाट फिल्मको स्क्रिप्टका लागि भनेर कति पारिश्रमिक पाइरहेका छन् ? प्रश्नको जवाफ खोज्न पनि जरुरी छ । म यति भन्न सक्छु, जति उपलब्ध छ, त्यो पर्याप्त छैन । सीमित उपलब्धताका आधारमा उनीहरुलाई मात्रै दोष दिनु ठीक होइन कि ! जुन दिनबाट फिल्ममेकर्सहरुले नेपाली फिल्मका क्रिएटिभ पर्सन्सहरुलाई स्क्रिप्ट र नयाँ कन्सेप्टका लागि एक वर्षको समय र ह्यान्डसम पारिश्रमिक दिन थाल्छन्, त्यसपछि पनि यो समस्या भयो भने प्रश्न उठाउन उचित हुन्छ । 

यसको अर्थ, अहिले चाहिँ चोर्दा पनि फरक पर्दैन ?
त्यस्तो होइन । चोर्नु र प्रभावित हुनु फरक कुरा हुन् नि त ! मैले मेरो पहिलो फिल्म ‘इस्केप’ बनाउँदा विदेशी दुइटा फिल्मबाट केही दृश्यमा प्रभावित भएको थिएँ र फिल्ममा बकाइदा क्रेडिट दिएको पनि थिएँ । 

समय नपाएर राम्रो गर्न सकिनँ, फ्रेस गर्न सकिनँ भन्ने तर्कसँग त दर्शकलाई सरोकार हुन्छ र ?
हुँदैन र दर्शकका लागि त्यसको कुनै अर्थ छैन तर अहिले यस्तो किन भइरहेछ भन्ने कुरामा आफ्नो दृष्टिकोण राखेको मात्रै हो । 

तर, यो चोर्ने र क्रेडिट नदिई प्रभावित हुने प्रवृत्ति त ठीक होइन नि ? 
हो, तर अहिलेको अवस्थामा झण्डै ९० प्रतिशत जति नेपाली फिल्म कतै न कतैबाट प्रभावित नै भेटिन्छन् सायद... । यस्तो प्रवृत्तिलाई निरुत्साहित गरियो भने त यहाँ फिल्म निर्माण हुनै बन्द हुन बेर छैन । 

भनेपछि अहिले यहाँ त अरुको कथाबाट प्रभावित नभई, नचोरी त फिल्म बनाउन सक्ने अवस्थै छैन ? 
ठ्याक्कै ९० प्रतिशतभन्दा पनि धेरै हदसम्म अवस्था यस्तो छ । म अहिले सिद्धान्तको कुरा गरिरहेको छैन है फेरि । एकदमै प्राक्टिकल कुरा गरिरहेको छु । जसरी राजनीतिमा हामी माओ–लेनिन र अरुको सिद्धान्त पछ्याउँदै यहाँ राजनीति गर्छौँ, त्यसैगरी सिनेमामा पनि राम्रो र सफल सिनेमा उद्योगको राम्रा कुराहरुबाट प्रभावित भएर फिल्म बनाउनु गलत पक्कै होइन । तर, डिटो चोर्नुपर्छ, क्रेडिट नै दिनुहुन्न भन्ने पक्षमा म होइन । 

तपाईंको अघिल्लो एउटा फिल्म ‘लिलिबिली’ का थुप्रै दृश्यहरु हिन्दी फिल्मबाट प्रभावित थिए । महसुस गर्नुभयो ?
अँ, त्यस्तो कमेन्ट आएको थियो । स्टोरी पढ्दाखेरी त अरुबाट प्रभावित फिल नै हुन्न । मलाई पनि भएन । हलिउड मुभी पनि थुप्रै रिजनल मुभीबाट प्रभावित भेटिन्छन् । बलिउडका धुरन्धर निर्देशक राजकुमार हिरानीको ‘थ्रि इडियट्स’ फिल्ममा एक्जाम पेपर चोरी गर्नेवाला दृश्य फ्रेन्च फिल्मबाट प्रभावित भएको कुरा आएको थियो । उहाँसँग के समस्या थियो होला र ! न सोच्नलाई समयको कमी, न पैसाको, न टिमको, न प्रविधिको । कहीँ पनि यो सिन फ्रेन्च मुभीबाट हालेको भनेर क्रेडिट दिएको जस्तो लाग्दैन । त्यस्तै रणवीर कपुरको ‘बर्फी’ले पूरा चार्ली चाप्लिनका फिल्महरुको सिन हाल्यो । यसको मतलब बलिउड त्यति माथि पुगेर पनि अझै प्रभावित हुन्छ भने हामी प्रभावित नभई फिल्म बनाउन सक्ने अवस्थै छैन । फेरि अहिले हामी जस्तो सिनेमा बनाइरहेका छौँ, त्यस्ता फिल्ममा केही दृश्य नयाँ राखौँ भन्दा पनि मिल्न गइहाल्छ । जस्तो केटाले केटीलाई जिस्काउने टाइपको सिन भन्नासाथ दिमागमा अलरेडी एउटा दृश्य नाचिहाल्छ । त्यो दृश्य आखिर कतै न कतैबाट प्रभावित भएको हुन्छ । हाम्रो हुर्काइ नै त्यसरी भएको छ कि केही केही दृश्यहरु बलिउडबाट मिल्न गइहाल्छ । 

अब विषय मोडौँ । सुरुमै सोधेँ– तपाई नेपाली फिल्मको स्टार हो ?
खासमा म एउटा कलाकार हुँ, जो लामो समयसम्म यही क्षेत्रमा टिकिरहन चाहन्छ । म यो क्षेत्रमा आएको कारण पनि पहिचान बनाउन हो । यो फिल्डमा पैसा छ भनेर पनि होइन, फ्यान फलोइङ हुन्छ भनेर पनि होइन, बस् ‘आइडेन्टिटी’ बनाउन आएको थिएँ । अझ म त हिरो बन्न आएको पनि होइन, भिजेमात्रै बन्न आएको हो । भिजेलाई त हामीकहाँ स्टार भनिदैन । त्यसोभए स्टार मेरो सपना हुँदै होइन । फेरि म यो स्टारडम सधैँ रहिरहँदैन भन्ने कुरामा पहिल्यैदेखि प्रस्ट छु । स्टार त कति भए, कति भएर पनि गए । म यो क्षेत्रमा रहिरहन चाहन्छु । त्यसका लागि राम्रो कलाकार हुन जरुरी छ । र, मेरो लक्ष्य पनि यही हो । 

तपाईं नेपाली फिल्म क्षेत्रको महँगो अभिनेता हो भन्ने पनि हल्ला छ, सत्य के हो ?
एक हिसाबले भन्ने हो भने महँगै होला । ५–१० लाख लिनु पनि नेपाली फिल्मका लागि त महँगै हो । 

तपाईंले एउटा फिल्मका लागि ४० देखि ५० लाखसम्म पारिश्रमिक डिमान्ड गरिरहेको कुरा कत्तिको सत्य हो ?
माग्दैमा पाइन्छ कि पाइँदैन भन्ने कुरा पनि आउँछ । माग्दैमा पाउने भए त म यो देशै माग्थेँ होला तर मागेर केही पनि पाइँदैन । 

पाएकै हल्ला के हो त ?
मैले त्यति पैसा मागेको होइन तर अफर आएको भने सत्य हो । मैले अहिलेसम्म पाँचवटा फिल्ममा काम गरेँ तर कतै पनि पारिश्रमिक तोकेर काम गरेको होइन । म आफैँ कहिल्यै डिमान्ड गर्दिनँ । बरु यति दिन्छु, उति दिन्छु भनेर आफैँ अफर गर्नेहरु धेरै छन् । 

प्रदिपलाई फिल्म खेलाउन निर्माताले बाकसमा कति लाख पैसा बोकेर आएको हुनुपर्छ ? 
दिमागको बाकसमा राम्रो कन्सेप्ट भएन भने जति लाख पैसा लिएर आए पनि प्रदिपलाई फिल्ममा खेलाउन पाइँदैन तर राम्रो कन्सेप्ट छ भने म उल्टै लगानी गर्न पनि तयार हुन्छु । ‘लभ स्टेसन’मा मैले शेयरमै काम गरेको हुँ । ३५ पर्सेन्ट सेयरमा छु । मैले सोचेँ, मलाई दिने पारिश्रमिक त बरु फिल्ममै लगानी होस्, पछि फाइदा भएपछि मलाई आइहाल्छ नि ! ‘प्रेमगीत–२’ मा पनि मैले नाफाकै सेयर लिने हिसाबले काम गरेको थिएँ । त्यही कारण मैले कार उपहार पाएँ । ‘रोज’बाट त अझै १५ लाख उठ्नै बाँकी छ । म पैसामुखी थिएँ भने त त्यो फिल्मको रिलिज नै रोक्न सक्थेँ । तर, त्यसो गरिनँ । 

‘रोज’को पारिश्रमिक अझै पाउनुभएको छैन र ? 
छैन नि ! 

के कारण हो ?
दुई जना पार्टनर बीचको द्वन्द्वले गर्दा हो । कसले के तिर्ने भन्नेमा हिसाबकिताब नमिलेर होला । 

भनेपछि पाउने आश मारेको हो ?
पाउन त पाइन्छ । बस्, मैले प्रेसर दिन नखोजेको हो । उहाँहरुको आन्तरिक द्वन्द्व मिल्दै होला । मसँग अझै उहाँहरु कम्युनिकेसनमै हुनुहुन्छ । अर्को फिल्म पनि बनाउँ भन्दै हुनुहुन्छ । नदिने नियत होइन । सायद पैसा अब चाँडै पाइएला ! 

व्यापारिक हिसाबले हिट÷फ्लपको लेखाजोखा गर्दा पनि तपाईंको फ्लप फिल्मको संख्या धेरै देखिन्छ, स्वीकार्नुुहुन्छ ?
त्यो कसले जज गर्ने भन्ने हो । पुरै इन्डस्ट्रीकै कुरा गर्ने हो भने तुलनात्मक रुपमा मेरो फिल्महरु सफल देखिन्छन् । मेरै मात्र कुरा गर्ने हो भने पनि मसँग काम गरेका निर्माताहरु घाटामा हुनुहुन्न । लगानी सुरक्षित गर्नुभएकै छ । 

यसरी सुरक्षित भएको भए त तपाईंको पारिश्रमिक उधारो किन हुन्थ्यो होला र ?
त्यो त लगानीकर्ता बीचको आन्तरिक द्वन्द्वले गर्दा हो । 

तपाईंका पछिल्ला दुई फिल्म ‘लिलिबिली’ र ‘रोज’ त व्यापारिक हिसाबले असफल फिल्म हुन् नि, किन स्वीकार्नुहुन्न ?
घाटा खाईखाई यहाँ कसले बिजनेस गर्छ ? ‘प्रेमगीत’ चलेको थिएन भने ‘प्रेमगीत–२’ कसरी बन्यो ? ‘लिलिबिली’ घाटामै थियो भने त्यही मेकर्सले ‘लभस्टेसन’ कसरी बनाए ? 

पहिलोपल्ट घाटा भइहाल्यो, अब दोस्रोपल्टमा उक्सिन्छु कि भन्ने लागेर पनि त बनेको हुनसक्छ ? 
त्यो त हो तर एउटै एक्टर त नदोहोरिनु पर्ने हो । म फेरि पनि भन्छु, मेरो हिसाबले मैले काम गरेका कुनै पनि फिल्मका निर्माता डुबेका छैनन् । बरु धेरै नाफा नकमाएका होलान् तर घाटामा छैनन् । मलाई उहाँहरुले भनेअनुसार उहाँहरु खुसी नै हुनुहुन्छ । मसँग अझै काम गर्न तयार हुनुहुन्छ । र, राम्रो पारिश्रमिक दिन पनि तयार हुनुहुन्छ भनेपछि उहाँहरु पक्कै घाटामा हुनुहुन्न । अहिले नेपालबाट पैसा नउठाउने फिल्मले पनि, युट्युब र विदेशमा प्रदर्शन गरेर भए पनि लगानी उठाएका हुन्छन् । 

अब एकछिन रमाइलो गफ गरौँ । फिल्मको ‘लभ स्टेसन’ त रिलिज भएपछि हेरौँला तर रियल लाइफमा तपाईंले प्रेमिका भेट्ने स्टेसन कहाँ हो ?
ठ्याक्कै यही ठाउँ भए भन्ने थिएँ । बाइकमै डुल्थ्यौँ होला । कहिले कता, कहिले कता पुग्थ्यौँ होला । 

त्यो त पहिलेको कुरा भयो, अहिले ?
अहिले त म एक्लो छु । 

ढाँटेजस्तो लाग्यो ?
(मुस्कुराउँदै) ढाँटेको होइन । ब्याचलर्स, मास्टर्सपछि मेरो कोहीसँग सिरियस रिलेसनसिप भएन । म काममा बढी फोकस्ड भएँ । 

हिरोइन जसिता गुरुङसँगको अफेयर ?
हल्ला मात्रै हो । 

अफेयरको प्रश्न गर्दा कसैसँग लामो समयसम्म सम्बन्ध नटिकेको सुनाउनुभयो । फिल्म क्षेत्रमा पनि त तपाईंको अवस्था त्यस्तै छ । जसको फिल्ममा काम गर्नुभयो, पछि उसैसँग सम्बन्ध बिग्रियो । सुदर्शन थापा, पूजा शर्मा, मिलन चाम्स, सन्तोष सेन उदाहरण हुन । यस्तो किन हुन्छ ?
तपाईले ज–जसको नाम लिनुभयो, उनीहरुको अरु कोकोसँग कस्तो सम्बन्ध छ, त्यो विचार गर्नुस् । त्यसपछि मेरो हकमा फिल्मको सुटिङ र प्रदर्शन टाइमबाहेक फाल्तु समयमा मेरो उहाँहरुसँग पहिला कस्तो उठबस थियो र अहिले कस्तो छ भनेर पत्ता लाउुनुभयो भने सम्बन्ध बिग्रिएको पाउनुहुन्न । त्यतिखेर पनि मेरो फर्मल हाइ÷हेल्लो मात्रै थियो, आज पनि त्यस्तै छ । फिल्ममा काम गरेको टाइमबाहेक म कहिल्यै पनि उहाँहरुसँग सँगै खाएको, सँगै सुतेको एक दिन पनि छैन । 

तपाईं यस्तो भन्नुहुन्छ तर तपाईंकै डाइरेक्टर मिलन चाम्स (लिलिबिलीका निर्देशक)ले तपाईं र जसिता अफेयरमा रहेको हल्ला चलाएको होइन ?
हो, ती इन्टरभ्युहरु मैले हेरेको थिएँ । सही र गलतको बीचमा एउटा असमझदारी भन्ने चिज पनि हुन्छ । त्यतिबेला हामीबीच त्यही भएको थियो । लभको अफेयरको हल्लै हुनु थियो भने सुटिङमा हुन्थ्यो होला, प्रमोसनको बेला हुन्थ्यो होला तर रिलिजको एक हप्तापछि किन भयो ? त्यो बेलाको कुराले मलाई आजसम्म टर्चर भइराछ । प्रश्न झेलिरहनुपरेको छ । मिलन दाइ र मबीच अर्को फिल्म गर्ने कुरा भएको थियो । पछि मैले नगर्ने हल्ला सुनेर उहाँ मसँग रिसाउनुभएछ । अनि आवेशमा आएर त्यसरी भन्नुभयो । मैले त्यो अभिव्यक्तिलाई सिरियस्ली लिन्नँ किनभने मान्छेले आवेशमा आएर जे पनि भन्छ । त्यो उहाँले मसँग पनि स्वीकार्नुभएको छ । अहिले हामीबीच राम्रो सम्बन्ध छ । 

Leave A Comment