हिरोइनले कमाउँदा मोडललाई तनाव

आइतबार, ०३ चैत २०७५, ०३ : ०२ भोला अधिकारी
हिरोइनले कमाउँदा मोडललाई तनाव

पछिल्लो समय लोकदोहोरी क्षेत्रकी एकदमै व्यस्त मोडलमा गनिन्छिन्, करिश्मा ढकाल । केही दिनअघि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै म्युजिक भिडियोका निर्माताप्रति आक्रोश पोखिन्, ‘फिल्मका हिरोइनलाई एक लाख दिन तयार हुने, हामीलाई २० हजार दिन पनि नाक खुम्च्याउने ?’ 

उनको स्टाटसको आशय थियो, दोहोरी क्षेत्रबाटै दोहोरी कलाकार हेपिएका छन् । ‘परिस्थिति यस्तो थियो कि कुनै दिन लोकदोहोरी कलाकार भनेर हेपिने गरेका थियौँ,’ उनले स्टाटसमा गुनासो गर्दै लेखेकी छन्, ‘अझ नयाँ कलाकारको त कुरै छोडौं । हाम्रा अग्रज कलाकारहरुबाटै नयाँ कलाकार  हेपिएको समाचार पढ्नु परेको थियो । तर अहिले पारिश्रमिकमा पनि हेपिनु परेको छ ।

लोक कलाकारको सहनशीलताको कुनै सीमा छैन । उनीहरुबाट हेपिएर नै भए पनि निरन्तर क्रियाशील रहिरह्यौ तर प्रवृत्ति कस्तो छ भने हेपिने समूहका कलाकार दुई हात जोडेर लम्पसार पर्दै तिनै ‘हेप्ने कलाकार’लाई दोहोरी गीतको भिडियोमा अनुबन्धित गर्न तँछाडमछाड गर्दैछन् । के उहाँहरुलाई आज आत्मसन्तुष्टि मिल्ला ?’ 

केही हप्ताअघि शुक्रवारले दोहोरी र दोहोरीका कलाकारलाई फिल्मकर्मीले हेला गर्ने गरेको विषय उठान गरेको थियो । विषय उठान भएको केही साता नबित्दै मोडल ढकालको यस्तो टिप्पणी आएको हो । ढकालले दोहोरीलाई हेप्ने कलाकारलाई नै ठूलो रकम भुक्तानी गर्दा दोहोरीकै विकासमा संघर्षरत कलाकारको अपमान भएको टिप्पणी गरेकी छन् । ‘हेपिनेले हेप्नेलाई ठूलो रकम भुक्तानी गरेर सन्तुष्ट भइरहँदा आफ्ना लोककलाकार र संस्कृति जोगाउन अहोरात्र खटिने कलाकारको पनि संरक्षण हुनुपर्छ भनेर मनन् गर्ने बेला भयो कि ?’
उनले मलामी पनि स्वतस्फूर्त मात्रै आउँछन् भन्दै किनिएका मलामीलाई मलामी भन्न नहुने टिप्पणी गरेकी छन् ।
०००

लोकदोहोरी गीतमा धमाधम फिल्मका हिराइनलाई नचाउन थालेपछि अहिले यस क्षेत्रमा सक्रिय मोडलहरु आक्रोशित भएका छन् । उनीहरुको आक्रोश सुन्दा लाग्छ, उनीहरु तनावमा छन् । 

फिल्ममा जम्न नसकेर निराश भएकी अभिनेत्री मरिष्का पोखरेल विष्णु माझीको ‘सालको पातको टपरी’मा नाचेपछि अहिले दर्जन बढी दोहोरीमा देखिने चाँजोमा छिन् र उनी व्यस्त दोहोरी मोडल भएकी छन् । यसले दोहोरी गीतहरुमा उनको माग देखाउँछ भने अर्कोतर्फ फिल्मी हिरोइनको क्रेज बढ्दै गइरहेको पनि देखाउँछ ।

यस किसिमको व्यस्तता र मागले दोेहोरीका मोडलहरुलाई असुरक्षित महसुस गराएको छ । अहिले उनीहरु गुनासो पोखिरहेका छन्, ‘बाहिरकाले त हेला गरेकै थिए तर हुँदाहुँदा दोहोरी क्षेत्रकैबाट हेला भयो ।’ करिश्मा यसकै एक उदाहरण हुन् । शुक्रवारसँग कुराकानी अरु धेरै मोडलहरु भेटिए जसको गुनासो करिश्माको भन्दा फरक थिए । उनीहरुले भने, ‘फिल्मका हिरोइनलाई पारिश्रमिक दिन कन्जुस्याइँ नगर्ने तर हामीलाई गर्ने ? यो त अन्याय भयो ।’

लोकदोहोरी क्षेत्रकै अर्की मोडल रश्मि तामाङले करिश्माको स्टाटसमा सहमति जनाउँदै आफूहरु हेपिनुको पछाडि आफ्नै (मोडलकै) कमजोरी रहेको बताएकी छन् । ‘लोकगीतमा खेल्नेलाई २० हजार तिर्न निकै गाह्रो परेको देखिन्छ तर लाख रुपैयाँ तिरेर फिल्मका नायक–नायिकालाई भिडियो खेलाउनु हुन्छ,’ उनको गुनासो छ, ‘यसरी लोकगीतमा लोकगीतका कलाकारलाई २०–३० हजार दिन पनि हिच्किचाउने हाम्रा लोक सर्जकहरु नै हुन् । त्यसैले लोकदोहोरी कलाकारलाई फिल्मकर्मीले हेपे भन्नुको तुक छैन । किनभने हामीलाई हेप्नुको पछाडि हामी आफैँ  भागिदार छौँ ।’

सांगीतिक बजारमा लोकदोहोरी गीतले एकपछि अर्को गर्दै करोड भ्यु पाइरहेका बेला लोकगीतमा अभिनय गर्ने कलाकारहरुको मन दुखेको उनले करिश्माको स्टाटस सेयर गर्दैै लेखेकी छन् । 

हिरोइन रहर होइन, बाध्यता
हाल अमेरिकामा रहेका निर्देशक तथा मोडल शंकर बिसीले समेत यस विषयमा सहमति जनाउँदै आफ्नो समेत मन दुखेको बताएका छन् । ‘मैले पनि केही फिल्मका नायिकाहरुलाई मन नलागी पनि खेलाएको छु,’ उनले भनेका छन्, ‘मैले उनीहरुलाई खेलाउनु बाध्यता थियो ।

मैले  सुनेको छु, नायिका प्रियंका कार्कीलाई एक लाख दिएर लोकगीतको म्युजिक भिडियोमा खेलाएको कुुरा तर उनलाई एक लाख दिएर खेलाएर केही पनि हँुदैन । जसले जति लिएर खेले पनि लोकगीत बचाउने भनेको हाम्रा लोक कलाकारले नै हुन् । हिजोका दिनमा तिनै नायिकाले लोकगीतमा खेल्न अनुरोध गर्दा नाक खुम्च्याउँथे । फेरि यहाँ सधैँ एक लाख दिएर गीतको म्युजिक भिडियोमा खेलाउन सक्ने अवस्था कमै छ ।’

दोहोरीका व्यस्त भिडियो निर्देशक मानिने शंकरले दोहोरी गीत फिल्मका हिरोइन नाच्दैमा हिट नहुने बताउँछन् । ‘एउटा टिम मिलेको खण्डमा लोकगीत सर्वाधिक चर्चामा हुन्छ,’ उनले भने, ‘फिल्मका हिरोइन हुँदैमा लोकगीत चल्छ भन्ने छैन । लोकगीतमा खेलेका कलाकारलाई धेरैले चिन्छन् तर फिल्मका नायिकालाई उनीहरुको तुलनामा कमै चिन्छन् ।  लोकदोहोरी क्षेत्रमा धेरैलाई मैले नै ल्याएको हो ।

उनीहरुसँग काम गर्न म निकै मन पराउछु तर निर्माताहरुकै टिप्पणीका कारण फिल्मका हिरोइनलाई भिडियो खेलाउन बाध्य भइन्छ । निर्माताको अनुरोधपछि लौन त भनेर हिरोइनलाई फोन गर्दा खुब भाउ खोज्छन् । टाउको दुख्ने गरी १० चोटी फोन गर्नु पर्छ । त्यसैले म भन्छु, यो निर्देशकको बाध्यता हो, रहर होइन ।’

लोकदोहोरी मोडल महेन्द्र गौतम भने लोकदोहोरी गीत स्तरभन्दा संख्यामा केन्द्रित भएकाले यस्तो समस्या आएको बताउँछन् । ‘जबसम्म संख्या बढाउने लहड कम हुँदैन, जसले जसलाई चाहे उसलाई खेलाउँछ, यो रोकेर रोकिँदैन,’ उनको तर्क छ । 

अर्का व्यस्त निर्देशक शिव बिक भने यस विषयमा मुख खोल्न चाहँदैनन् । ‘मैले यस विषयमा बोल्न मिल्दैन,’ उनले भने, ‘मलाई काम दिएर जसले लगानी गर्न चाहन्छन्, उनीहरुको रुचिअनुसार मैले जसलाई ल्याए पनि खेलाउनुपर्छ । मैले यो नायिका खेलाउने त्यो खेलाउने भन्ने होइन ।

म्युजिक भिडियोमा लगानीकर्ताले जसलाई भन्छन्, उसैलाई खेलाउने हो । पन्छिन खोज्दै उनले थपे, ‘म त कामदार न परेँ !’  

अर्का म्युजिक भिडियो निर्देशक विक्रम चौहान भने कतिपय मोडलले लगाएको आरोपजस्तो पारिश्रमिकमा कञ्जुस्याइँ नगरेको बताउँछन् । उनी भन्छन्, ‘मोडलहरुमा रश्मि तामाङबाहेक कसैले पनि आफ्नो पारिश्रमिक यत्ति नै हो भनेर तोक्नुभएको छैन । हामीले उहाँहरुले लिने भन्दा घटाएर पारिश्रमिक दिएका छैनौँ ।’

फिल्मका कलाकारहरुले गीत छनोट गरेर खेल्ने भएकाले स्तरीय हुने तर अन्य मोडललाई भने आफूले काम गर्न लागेको गीत, गायकगायिका नै नबुझी हाम्फाल्ने गरेको आरोप चौहान लगाउँछन् । ‘एकैचोटि सुटिङमा पुगेर नै गीत सुन्नुहुन्छ,’ उनले थपे, ‘आफू कोसँग खेल्दैछु भन्ने पनि थाहा हुँदैन । अनि यस्तो काम गर्ने मोडल÷कलाकारले हेपियौँ भन्नै सुहाउँदैन ।’
 

Leave A Comment