खेलाडीको प्रेम : कोही लजाए, कोही धकाए

शुक्रबार, ०३ फागुन २०७५, ०६ : ०५ सुमन चापागार्इं
खेलाडीको प्रेम : कोही लजाए, कोही धकाए

प्रेम आफैँमा स्वतन्त्रताको उच्चतम बिन्दु हो । यसले न जात हेर्छ, न वर्ग र उमेर । यसलाई न भूगोलले छेक्न सक्छ न यो कुनै एक पेशामा अड्किन्छ । हरेक वर्ग लपक्कै हुन्छन् यसमा । प्रेम दिवसको रुपमा मनाउने भ्यालेन्टाइन्स डे पनि उही त हो । पश्चिमा संस्कृतिको रुपमा सुरु भएको यो अहिले सबैतिर पर्वकै रुपमा फैलिन सक्नुको मूल कारण उही प्रेम नै हो ।

विभिन्न विधामा व्यस्त हुँदाहुँदै पनि प्रेमलाई हेर्ने दृष्टिकोण बराबर नै पाइन्छ । कलाकारिता, राजनीति, व्युरोक्रेसी, खेलकुद, आदि सबै विधामा प्रेमको अर्थ एउटै हुन्छ । यसमा खेल क्षेत्रमा लागेकाहरु किन अछुतो रहन्थे र । उनीहरुको प्रेम अभिव्यक्त गर्ने शैली भिन्न होला, तर प्रेमको परिभाषा त उस्तै नै छ । केही खेल जोडीको प्रेम प्रसंग :

अन्यत्र क्रिकेटर र कलाकारबीचको प्रेम सम्बन्धका किस्साहरु प्रशस्तै भेटिन्छन् । कलाकार–कलाकारबीचको अफेयर्सको गसिपसँगै क्रिकेटर र कलाकारको गसिप संख्या पनि हाराहारी नै आउँछन् । कतिको गसिप सम्बन्ध वास्तवमै रुपान्तरण हुन्छन्, कतिको ब्रेकअपको समाचारसँगै टुट्छन् ।
नेपालमा भने त्यत्ति सुनिँदैनथ्यो कलाकार–क्रिकेटरबीचको प्रेम । यसको प्रारम्भ गरिदिए क्रिकेटर शरद भेषवाकर र नायिका निशा अधिकारीले ।

प्रारम्भमा यी दुवैको प्रेमको हल्ला गसिपकै रुपमा बजारमा आएको थियो । हो र हैन होलाको संख्या बराबरीझै हुँदा निशाले नै शरदसँगको प्रेम यात्राको खुलासा गरिदिएकी थिइन् । यी दुवैबीचको प्रेम सम्बन्ध गसिप र चर्चामा मात्रै समेटिएन । अन्ततः दुवैले एक अर्कालाई जीवन साथीको रुपमा स्विकार गर्दै विवाह गरे ।

ओलम्पियन दीपक विष्ट र आयषा शाक्य नेपाली खेलकुदमा प्रेम जोडीका रुपमा चिनिने जोडी हो । लगातार चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दीपकले लामो समयसम्म आफ्नो प्रेम सम्बन्ध लुकाउन सफल भएका थिए । 

खेलकै क्रममा दुवैको मनमा प्रेम टुसाएको थियो । तर उनीहरुसँग निकट भएकाहरुले समेत दुवैको सम्बन्ध विवाहको घोषणापछि मात्र चाल पाएका थिए । अहिले उनीहरु एक छोराको अभिभावक बनिसकेका छन् । 
टेबल टेनिसका चर्चित खेलाडी राकेश महर्जन र नविताबीचको प्रेम खेलकै क्रममा टुसाएको थियो ।

खेलजीवनलाई अगाडि बढाउँदै गर्दा स्कुलमा टेबल टेनिस सिकाउने राकेश गुरु आफ्नै चेली नविताको मायामा फसेका थिए । त्यहीँ टेबल टेनिस सिकाउने क्रममा दुवै नजिक भए । राकेशलाई नविता मन परिन् र प्रपोज गरे । नविताले पनि स्वीकार गरिन् । खेलजीवनसँगै झाँगिएको प्रेमजीवन विवाहको मोडसम्म पुग्न सफल भयो । 

क्रिकेटर ललित सिंह भण्डारी युएईमा गत साता सम्पन्न युएईविरुद्धको दोस्रो एक दिवसीय खेलका चर्चित खेलाडी हुन् । किफायती बलिङ गर्दै विपक्षी खेलाडीको विकेट लिन माहिर ललितले कसैको मनको विकेट लिइसके । उनी केही वर्षअघि मात्र विवाह बन्धनमा बाँधिएका थिए । 

सिङ्गल त्यसै लजाए

यी त भए अंकुराएको प्रेमको उडानलाई सेफ ल्यान्डिङ गराउन सफल खेलाडीहरु । नेपाली खेल क्षेत्रमा चार्मिङ ब्याचलर्सहरुको संख्या कम छैन । भुतुक्कै पार्ने सिङ्गल खेलाडी प्रशस्तै छन् । केहीको प्रेमका किस्सा गसिपका रुपमा बजारमा पनि आउँछन्, तर त्यसै हराउँछन् । प्रेम सम्बन्धबारे सोद्धा कोही लाज, कोही धकाए ।

पश्चिमाञ्चल महिला भलिबलकी प्रायवाची मञ्जु गुरुङ जति सुन्दर छिन् उनको खेल पनि उक्तिकै प्रशंसायोग्य छ । उमेरले साथी खोज्ने मोडमा पुगिसकेकी छिन् उनी । तर लजाउँदै भन्छिन् ‘अहं मेरो प्रेमी छैन ।’

‘भलिबलको सुरुआती चरण र स्कुले दिनमा प्रेमका प्रस्ताव आउँथे,’ मञ्जुले भनिन्, ‘बच्चा समयमा केही चासो लाग्थ्यो  । तर अहिले त्यक्ति लाग्दैन ।’ 

प्रेम गर्ने समय नहुनुको कारण धेरै समय भलिबलमा दिनुपर्ने अनि धेरै प्रतियोगितामा सहभागिताका लागि अभ्यासमा व्यस्त हुनु हो रे । 

नेपाली टोलीका भरपर्दा रक्षक श्रेष्ठको भ्यालेन्टाइन्स डे प्रेमिकासँग हैन साथीभाइसँगको जमघटमा बित्छ रे । भ्यालेन्टाइन्स डेको अघिल्लो दिन जन्मदिन परेकाले त्यसैमा रमाइलो गर्ने मुडमा देखिए उनी । 
उनको दाबी पत्याउने हो भने उमेरदारसँग प्रेमको अनुभवै छैन रे उनमा । उनका मनग्गे फ्यान छन् । केही फ्यानबाट प्रेम प्रस्ताव पनि आउँछ रे ।

‘खेलाडी भएकाले मेरा धेरै फ्यान छन् । प्रेमका प्रस्ताव पनि आउँछन्,’ उनले भने, ‘तर फ्यानलाई फ्यानकै नजरबाट हेर्छु ।’

धनगढी प्रिमियर लिगको पहिलो खेलमा प्रशंसा योग्य प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित विक्रम शोबको चार्म गज्जबको छ । लेडि फ्यान नहुने कुरै भएन । तर भ्यालेन्टाइन्स डे चै प्रतियोगिताको खेल खेलेरै मनाउने रहेछन् । 

‘यो दिन हाम्रो खेल परेको छ । राम्रो खेल्दै सबैको माया लिने सोचमा छु,’ विक्रमले भने, ‘स्टिल सिंगल छु । मन मिल्ने र साथ दिनेको खोजिमा छु ।’
 

Leave A Comment