प्रेममा ज्यान गुमाएका सन्त भ्यालेन्टिनोको सम्झनामा पश्चिमा मुलुकबाट शुरु भएको ‘भ्यालेन्टाइन्स डे’ को राप पूर्वीय क्षेत्रमा बढ्दै जाँदा मौलिक प्रेम दिवसको खोजी र बहस शुरु गराएको छ ।
भनिन्छ, प्रेमको न जात हुन्छ, न कुनै धर्म । न कुनै सीमाले बाँध्न सक्छ यसलाई तर भ्यालेन्टाइन्स डेको विश्वव्यापीकरणसँगै प्रेम दिवस बहसमा भने आएको छ ।
पाकिस्तान लगायतका देशमा त यो दिवसमाथि सरकारले नै दिवस मनाउन प्रतिबन्ध लगाउँदै मौलिक परम्पराको रुपमा सिस्टर डे को शुरुवात गर्ने प्रयास गरिरहेको छ । भारतमा सरकार आफैं विपक्षमा खटिएको छैन तर हिन्दु अतिवादी संगठनहरुले फेब्रुअरी १४ मा वितण्डा मच्चाउने क्रम पनि रोकिएको छैन ।
नेपालमा पनि शिव सेना नेपाल लगायतका संगठनले फाट्टफुट्ट विदेशी परम्परा भन्दै यसको विरोध गरेको सुनिन्छ तर भ्यालेन्टाइन्स डेमा प्रेम अभिव्यक्त गर्न हिँडेका जोडीमाथि आक्रमण र अवरोधै गरिसकेका छैनन् ।
विरोधै नभए पनि नेपालमा पछिल्लो समय आफ्नै मौलिक प्रेम दिवसको खोजी भने शुरु भएको देखिन्छ । हिन्दु धर्मको बलियो प्रभाव रहेकाले मौलिक प्रेम दिवसको खोजी पनि यही धर्मभित्रबाट हुनु सामान्य नै हो ।
बहसका क्रममा कतिपयले वशन्त पञ्चमीलाई प्रेम दिवसको रुपमा मनाउनुपर्ने तर्क अगाडि सारिरहेका छन् भने केहीले कामदेव र रतिलाई प्रेमको प्रतीकका रुपमा अथ्र्याउँदै यही दिनलाई प्रेम दिवसको रुपमा मनाउन सुझाउँछन् । फागु पूर्णिमालाई प्रेम दिवसमा विकास गर्न चाहनेहरु पनि देखिएका छन् ।
तर भ्यालेन्टाइन्स डेको राप घट्न सकेको छैन ।
दिवस त एक बहाना न हो ! चुरो कुरा त वातावरण हो । प्रेम अभिव्यक्तिमा उदार रहेको हिन्दु संस्कारलाई सामाजिक मर्यादाको लेपन लगाउँदै धर्मका ठेकेदारहरुले प्रेमप्रति अनुदार बनाउँदै लगे ।
समाज र कानुनले विवाहका लागि योग्य मानेकाहरुलाई समेत जीवन साथीको चयनमा जात, धर्म भन्दै समाज बाधक बन्दै गयो । प्रेमका लागि योग्य भएकाहरुलाई यौन शिक्षा दिन पवित्र मन्दिरको टुँडालमा यौनआशन कुँदेर राख्ने उदार परम्परा रुढ हुँदै जाँदा स्वतन्त्र हुन चाहने पुस्ताले प्रेम अभिव्यक्त गर्ने अवसर देखे, भ्यालेन्टाइन्स डे मा ।
उनीहरु यसैमा रमाउँदै गए । समाज हल्का उदार हुँदै गयो, युवा पुस्ता खुला हुँदै गए । भ्यालेन्टाइन्स डे को राप र प्रभाव बढ्दै गयो ।
यसबीच शुरु भएको मौलिक प्रेम दिवसको खोजी सकारात्मक नै हो तर यो खोजी धर्मको गन्धरहित र सीमारेखामुक्त हुन आवश्यक छ । यी दुई विशेषतासहितको मौलिक प्रेम पर्वलाई अगाडि बढाउन सके राम्रै हो ।
Leave A Comment