'अवसर धेरै भएकाले अस्ट्रेलियामा आकर्षण'

आइतबार, २९ पुष २०७५, ०७ : २४ शुक्रवार
'अवसर धेरै भएकाले अस्ट्रेलियामा आकर्षण'

एक दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत नारायण बजाज ग्लोबल रिच कन्सल्टेन्सी, काठमाडौंका प्रमुख हुन् । चार्टड एकाउन्टटेन्ट बजाजले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिँदै आएका छन् । ग्लोलब रिचले विश्वका करिब साढे चार सय विश्वविद्यालयको नेपालबाट प्रतिनिधित्व गर्ने जनाएको छ । विद्यार्थीको रुचि र छनोटअनुसार भर्ना र भिसाप्रक्रियामा कन्सल्टेन्सीमार्फत सहजीकरण गर्दै आएको छ । ग्लोलब रिचले दिने सेवा, विदेश अध्ययन जाने विद्यार्थीको रुचि, शैक्षिक परामर्श व्यवसायलगायतका विषयमा बजाजसँग शुक्रवार साप्ताहिका लागि गरिएको कुराकानी :

कन्सल्टेन्सीबाट के सेवा दिँदै आउनुभएको छ ?
विद्यार्थीलाई शैक्षिक परामर्श दिन्छौं । विदेशमा पढ्न चाहेको कोर्ष, विद्यार्थीको आर्थिक र शैक्षिक क्षमताअनुसार कुन विश्वविद्यालय उपयुक्त हुन्छ । विश्वविद्यालयको फी, छात्रवृत्ति, भिसा प्रक्रियाको बारेमा सहजीकरण गर्छौं ।

कति विश्वविद्यालयसँग सहकार्य गरेर काम गर्दै आउनुभएको छ ?
विश्वका करिब साढे चार सय विश्वविद्यालयका लागि हामीले यहाँबाट प्रतिनिधित्व गर्छौं । अस्ट्रेलियाका ४२ विश्वविद्यालय, न्युजिल्यान्डका आठ, युके, आयरल्यान्ड, जर्मनी, फ्रान्स, युएसए, क्यानडा, मलेसिया, थाइल्यान्ड, सिंगापुरलगायतका अन्य मुलुकमा विश्वविद्यालयसँग पनि काम गर्दै आएका छौं ।

विद्यार्थीको आकर्षण कुन देशमा छ ?        
मुख्य गरी धेरै लामो समयदेखि  विद्यार्थीको रोजाइको एक नम्बर गन्तव्य नै अमेरिका हो । शैक्षिक रुपमा उत्कृष्ट विद्यार्थीका लागि अमेरिका नै रोजाइमा छ । त्यहाँका प्रायजसो विश्वविद्यालयले केही न केही छात्रवृत्ति दिने भएकाले क्याम्ब्रिज ए लेवल अध्ययन गरेका विद्यार्थीको छनोट अमेरिका परेको हो । अमेरिकामा अवसर धेरै छन् । तर, पछिल्लो समय डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासी कामदारको नीतिमा कडाइ गरेको छ । त्यसपछि अस्ट्रेलियाले आफ्नो शैक्षिक नीतिमा परिवर्तन ल्याएर केही खुकुलो गरेको छ । अमेरिकाको डलर बलियो हुँदै गएकोले अमेरिकामा ५० प्रतिशत छात्रवृत्ति पाउनु र अस्ट्रेलियामा पूरा फी तिर्दा पनि बराबर हुने भएकाले नेपालीका लागि अस्ट्रेलिया शैक्षिक गन्तव्यको रुपमा विकास भएको छ । त्यहाँका विश्वविद्यालय पनि राम्रा छन् । भर्ना पाउन पनि सजिलो । नेपालबाट नजिक, मिल्दोजुल्दो हावापानी, अवसर धेरै भएकाले अस्ट्रेलियामा आकर्षण बढेको हो ।

विद्यार्थीहरु के विषय अध्ययन गर्न जाने गरेका छन् ?
नेपालबाट जाने विद्यार्थी अस्ट्रेलियाको माइग्रेसन पोलिसीका आधारमा जान्छन् । त्यहाँ जाने ९० प्रतिशत विद्यार्थी साइन्स, विजनेस एकाउन्टिङ, आइटी, इन्जिनियरिङ अध्ययन गर्न जाने गरेका छन् । अमेरिकामा विज्ञान प्रविधि, इन्जिनियरिङ, विजनेस अध्ययन गर्न जान्छन् । देशअनुसार अवसर फरक छ । ग्लोबल रिचले निजी कलेजमा पठाउँदैन । विश्वविद्यालयमा मात्र पठाउँछौं । निजी कलेजले धेरै विद्यार्थी लिएकाले अस्ट्रेलियामा संख्या निकै बढेको छ । निजी कलेजमा फी सस्तो रहेको छ । कतिपय अस्ट्रेलियाका निजी कलेजमा ८० प्रतिशत विद्यार्थी नेपाली छन् । विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि नभए पनि निजी कलेजमा पढ्न जानेको संख्या ह्वात्तै बढेको छ । यो विषयमा अस्ट्रेलियन सरकारले पनि चासो राखेको छ ।  अहिले अस्ट्रेलियाका निजी कलेजमा जाने विद्यार्थीको कडाइ गरेको छ । 

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई यहाँको सुझाव छ ?
अध्ययनका लागि विदेश जाने विद्यार्थी कुन विषय पढ्ने आफँै निर्णय गर्नुपर्छ । धेरै विद्यार्थी तथा अभिभावकले सस्तो कलेजलाई प्राथमिकता दिने गरेका छन् । सस्तोलाई मात्र हेर्नु हुँदैन । विद्यार्थीले विश्वविद्यालय र कलेजको गुणस्तरमा ध्यान दिनुपर्छ । विश्वविद्यालय वा कलेजमा अध्ययन गरेको हो भनेर रोजगारदाताले हेर्छ । रोजगारीको सीमितता भएकाले राम्रो विश्वविद्यालयमा अध्ययन गरेकाले स्वतः अवसर पाउँछन् ।

ग्लोबल रिचमा विद्यार्थी किन आउने ?
हामी कहाँ आउने विद्यार्थीलाई कुनै शुल्क लिँदैनौं । सर्भिस फ्रि दिन्छौं । अन्य कन्सल्टेन्सीले केही शुल्क लिने गरेका छन् । हामी कहाँबाट एप्लाई गर्ने विद्यार्थीलाई निःशुल्क आइएलटिएसका कक्षा सञ्चालन गरेका छौं । दक्ष तालिम प्राप्त काउन्सेलरले विद्यार्थीलाई काउन्सिलिङ गर्छन् । अन्यमा जस्तो दुई चारवटा मात्र विश्वविद्यालय होइन हामी विद्यार्थीले चाहेको सिटीका धेरै विश्वविद्यालयबाट रोज्न सक्छन् । विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक क्षमताका आधारमा सिफारिस गर्छौं । छात्रवृत्तिको अवसर पनि दिन्छौं । सुझाव दिने हो । निर्णय विद्यार्थीले नै गर्छन् ।

यहाँहरुले विभिन्न समयमा एजुकेसन फेयर गर्नुको उद्देश्य के हो ?
नेपालमा पहिलोपटक अस्ट्रेलियाको एजुकेसन फेयर ग्लोबल रिचले सुरु गरेको हो । सन् २०१२ देखि सुरु भएको यो फेयरमा अस्ट्रेलिया सरकारले नै हामीसँग साझेदार गरेर राजदूत नै आएर उद्घाटन गरेका थिए । दुई वर्ष सघाए पनि त्यसपछि निरन्तर वर्षको दुईपटक जनवरी र अगष्टमा हामीले फेयर गर्दै आएका छौं । जुलाई, अगष्टलाई लक्षित गरेर जनवरीमा आयोजना गरेका छौं । त्यसमा विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग सिधै कुराकानी गर्न सक्छ ।

यो वर्ष कहिले आयोजना गर्नुभएको छ, विद्यार्थीलाई के फाइदा हुन्छ ?
अहिलेसम्मकै ठूलो एजुकेसन फेयर जनवरीमा गर्न लागेका छौं । जनवरी १४ काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गर्ने फेयरमा अस्ट्रेलियाका ४० विश्वविद्यालयले भाग लिँदैछन् । नेपालका लागि अस्टे«ेलियन राजदूतसमेत फेयरमा आउँछन् । त्यसपछि पोखरा, चितवन, बुटवलमा पनि लगातार रोड सोको रुपमा आयोजना गरेका छौं ।  अस्ट्रेलियामा डिग्रि लिएपछि पोष्ट स्टडी परमिट पाउँछन् । त्यसको प्रक्रियाको बारेमा जानकारी दिन्छौं । त्यसका लागि अस्ट्रेलियाबाट विज्ञ बोलाएका छौं । फेयरमा आउने हरेक विद्यार्थी आइएलटिएसको फ्री कुपन दिन्छौं । कुपन लिएर आएपछि निःशुल्क पढ्न पाउँछ । बैंकको काउन्टर हुने भएकाले विद्यार्थीलाई बुझ्न सजिलो भयो ।

विद्यार्थीको रेस्पोन्स कस्तो छ ?
हामीकहाँबाट गएका विद्यार्थी सन्तुष्ट छन् । राम्रो सेटल भएका छन् । हामीले विश्वविद्यालयमा मात्र पठाउने भएकाले उनीहरुले सजिलै काम पाउने र पिआर पाउँछन् । 

विदेश अध्ययन गर्न गएका कति स्वदेश फर्किएका छन् ?
विदेश अध्ययन गरेर स्वदेश फर्किनेको संख्या निकै कम छ । अस्ट्रेलियाबाट फर्केको खासै देखिँदैन । अमेरिका अध्ययन गरेर फर्किनेको संख्या पनि नगन्य छ । मध्यम वर्गीय परिवारका विद्यार्थी फर्किँदैनन् । व्यापारिक घरानाका विद्यार्थी आफ्नो व्यवसाय गर्नका लागि फर्किने हुन् ।

यो व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?
धेरै ठूलो प्रतिस्पर्धा रहेको छ । काठमाडौंमा मात्रै करिब हजार बढी कन्सल्टेन्सी रहेका छन् । शिक्षा मन्त्रालयले अनुमति दिन्छ । तर, नियमनको पाटो निकै कमजोर रहेको छ । यसमा कडाइ गर्नुपर्छ ।

व्यावसायिक सफलताका लागि के आवश्यक छ ?
दीर्घकालीन योजना बनाएर अघि बढ्न सक्यो भने सफल हुन सक्छ । गुणस्तरीय र प्रभावकारी सेवा दिन सके दिगो हुन्छ । 

Leave A Comment