परिवार भत्किरहेछ

बुधबार, १२ साउन २०७३, १२ : ११ अमर खड्का , Kathmandu
परिवार भत्किरहेछ

इटहरी–२६ का राजकुमार बजगाईकी श्रीमती नौ वर्षको छोरा छाडेर एक सातादेखि हराएकी छिन् । घरबाट बजार जान्छु भनेर हिँडेकी बजगाईकी श्रीमती घर फर्किनन् । खोजतलाशका लागि इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिँदा अनुसन्धानमा श्रीमतीले अर्कै पुरुषसँग विवाह गरेको थाहा पाइयो ।
इटहरी–२४ तरहराका विनोद गुरुङले भारतीय सेनामा जागिरे हुँदा आफूले कमाएको र केही पुख्र्यौली सम्पत्तिले घरजग्गा जोडे । त्यो घरजग्गा श्रीमती सुषमाको नाममा थियो । श्रीमतीलाई सुखमा राख्न चाहने विनोद भारतीय सेनाबाट सेवानिवृत्त भएपछि फेरि वैदेशिक रोजगारीका लागि कतार हानिए । उनी कतार हुँदा सुइँको नदिई श्रीमतीले १५ धुर जग्गासहित दुई तल्ले पक्की घर १७ लाख रुपैयाँमा धितोपास गरिन् र गायब भइन् ।
३५ वर्षीया सुषमाको १५ वर्षकी छोरी र सात वर्षको छोरा छ । छोराछोरी छोडेर उनी हिँडेकी हुन् । उनी कहाँ गइन् अहिलेसम्म कसैलाई केही जानकारी छैन । विनोदले श्रीमती गायब भएको प्रहरीमा उजुरी हाले । सुषमा कहाँ गइन् प्रहरीले समेत पत्ता लगाउन सकेन । विनोदले आफू र छोराछोरीको भागमा बिक्री भएको जग्गाको अंश माग गरेर जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेका छन् । अहिले मुद्दा विचाराधीन अवस्थामा छ ।
धरान–११, मंगलबारेमा डेरा गरी बस्ने भीमबहादुर राई सात वर्षअघि मलेसिया गए । त्यहाँ कमाएको दश लाखभन्दा बढी रकम उनले श्रीमतीलाई पटकपटक गरी पठाए । उदयपुर, कटारी–४ र धरान उपमहानगरपालिकाको विष्णुपादुकामा श्रीमतीको नाममा जग्गा पनि जोडे । छ वर्षको छोरा छोडेर श्रीमती गायब भएपछि भीमबहादुर अत्तालिदै घर फिरे । श्रीमती सुन, नगदसहित फरार भएको उनले प्रहरीमा जाहेरी दिए । प्रहरीको अनुसन्धानमा सोही घरमा डेरा गरी बस्ने पवन नामक व्यक्तिसँग श्रीमती भागेको पत्ता लाग्यो ।
    वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका इटहरी–७ का  राजकुमार चौधरीकी श्रीमतीले पनि दुइटा छोराछोरी छाडेर प्रेमीसँग विवाह गरिन् । चौधरीको पाँच लाख नगद र स्कुटी लिएर उनी प्रेमीसँग हिँडेकी हुन् ।
सामाजिक सञ्जाल, मोबाइल, फोनलगायत प्रविधिले पनि यस्ता किसिमका घटना बढाएका छन् । प्रविधिको पहुँचले गर्दा २०७२ साउनदेखि २०७३ असार मसान्तसम्म इटहरी क्षेत्रमा ९१ जना विवाहित महिला हराएको प्रहरीसँग रेकर्ड छ । इटहरीसहित पूर्वाञ्चलका १६ वटै जिल्लाबाट गायब हुने महिलाको संख्या बढ्दो  छ ।
प्रहरीसँगको रेकर्डअनुसार पूर्वाञ्चलका १६ जिल्लामा एक वर्षको अवधिमा ९ सय ११ जना महिला हराएका छन् । तीमध्ये सबैभन्दा बढी मोरङ, झापा र सुनसरीका हराएका छन् । प्रहरीसँग भएको रेकर्डअनुसार मोरङमा १ सय ९४, झापामा १ सय ५१ र सुनसरीमा १ सय १४ जना महिला हराएका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ९ सय ९९ जना महिला हराएको उजुरी परेकोमा १ सय २८ जना मात्र  महिला भेटिएका थिए । श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिला बढी हराएको प्रहरी रेकर्डमा उल्लेख छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि सुरु भएको खटपटले गर्दा सम्बन्ध–विच्छेदका घटनासमेत बढदै छन् । जिल्ला अदालत सुनसरीका अनुसार आर्थिक वर्ष २०७२–७३ को अवधिमा ४ सय ७५ वटा सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भए । तीमध्ये ६० प्रतिशत मुद्दा श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमान–श्रीमतीबीच भएको खटपटले गर्दा दायर भएको सुनसरी जिल्ला अदालतले जनाएको छ ।  ‘सम्बन्ध–विच्छेदका मुद्दामध्ये ६० प्रतिशत वैदेशिक रोजगारीले गर्दा  दर्ता हुने गरेका छन्,’ सुनसरीका मुख्य जिल्ला न्यायधीश रमेश पोखरेलले भने ।
लामो समय श्रीमान् विदेश रहदा यता परपुरुषसँग हिमचिम बढेको र त्यसले परिवारमा विखण्डन ल्याइरहेको सुनसरीकी महिला अधिकारकर्मी कालिका दाहाल बताउँछिन् । ‘श्रीमान् विदेश लागेपछि छोराछोरी पढाउने भन्दै महिला शहरमा आउँछन्, सासूससुराको निगरानी पनि हुँदैन । त्यसैले परिवार विखण्डनका घटना बढेका छन्,’ उनले भनिन् ।

विवाहेतर सम्बन्धले पनि हत्याहिंसाका घटना बढाएका छन् । विदेशिएको श्रीमान् घर फर्किदा श्रीमती अरूसँग लागेको थाहा पाएपछि रिसको आवेशमा कतिपय महिलाको हत्या हुने गरेको छ । पैसाका लोभमा पनि कतिपय महिला भने प्रेमीबाटै मारिएका छन् ।
दुई वर्षअघि धनकुटा लेगुवामा होटल सञ्चालन गर्ने भोजपुर जरायोटार–३ की ४१ वर्षीया शान्तिमाया राईको सेनाका जवानले पुस २१ गते हत्या गरे । भोजपुरकै चम्पे–८ घर भई संखुवासभाको श्री दल गुल्ममा दरबन्दी भई २ नम्बर वाहिनी हिले धनकुटामा कार्यरत ३३ वर्षीय नवराज साहीले शान्तिमायाको हत्या गरेका थिए । श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले छोराछोरीसँग लेगुवामा होटल गर्दै आएकी थिइन् उनी । होटलमा आवतजावतका क्रममा स्थापित भएको उनीहरूको सम्बन्ध घनिष्ट बन्न पुग्यो । शान्तिमायासँग भएको सुन र पैसाबाट लोभिएर साहीले हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्यो । अहिले उनी कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका छन् ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेका मोरङ ववियाबिर्ताकी मंगलीदेवी चौधरीको मोरङ बनीगामैका राजकुमार चौधरीसँग हिमचिम बढ्यो । राजकुमार सशस्त्र प्रहरीका जवान थिए । विवाहित राजकुमारलाई मंगलीदेवीले विवाहका लागि दबाब दिन थालिन् । राजकुमारले झुक्याएर मंगलीलाई इटहरीको एक लजसम्म पु¥याए र त्यहीँ उनको हत्या गरे ।
श्रीमान् विदेशमा भएकी महिलासँग लामो समय प्रेम गरेर महिलाले जीवनभर सँगै बस्न अस्वीकार गर्दा पनि हत्याका घटना हुने गरेका छन् । पाँचथर नागी घर भई धरानमा छोरा पढाउन डेरा लिएर बस्दै आएकी ३३ वर्षीया कुमारी सेन्दाङ्को एक वर्षअघि हत्या भएको थियो । उनको पाँचथरको दुरदिम्बा वडा–१ बस्ने ३९ वर्षीय तेजबहादुर घिमिरेले हत्या गरेका थिए । कुमारीले जीवनभर सँगै बस्न अस्वीकार गरेपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरी अनुसन्धानबाट अधिकांश पुरुषले श्रीमान् विदेश गएका महिलासँग यौन सन्तुष्टि वा पैसाका लागि सम्बन्ध बनाउने गरेको खुलेको छ । पछि पैसाको लोभ वा अन्य कारणले हत्या गर्ने गरेको पनि प्रहरी अनुसन्धानले देखाउँछ ।

 

Leave A Comment