दलालको नजर युवतीतिर

बुधबार, १२ साउन २०७३, ११ : ०३ रुद्र खड्का , Kathmandu
दलालको नजर युवतीतिर

रोजगारीका लागि जापान जाने हो भने सजिलै पठाउन सकिने आश्वासन पाएपछि झापा, सतासीधाम–८ की २८ वर्षीया सन्चरानी पोङ्हाङ्ले दलाललाई छ लाख रुपैयाँ खुरुक्क बुझाइन् ।
रकम नपाउँदासम्म जापानको रोजगारीबारे सधैँ बखान गरिरहने दलालले रकम कुम्ल्याएपछि भने सन्चरानीलाई भेट्नै छाडे । आज र भोलि भन्दै पाँच महिनासम्म दलालले सन्चरानीलाई जापान नपठाएपछि यतिखेर उनी आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दलाल मनकुमार तुम्वापोलाई कारबाहीको माग गर्दै धाइरहेकी छिन् ।
‘जापान पठाउने भनी लिएको छ लाख रुपैयाँमध्ये तीन लाख रुपैयाँ त फिर्ता लिएँ,’ उनले भनिन्, ‘बाँकी तीन लाख रुपैयाँ फिर्ताबारे कुरा नमिल्दा विभागको सहारा लिनुपर्ने बाध्यता आइलागेको छ ।’ दलालले सन्चरानीलाई जापान पठाउने भने पनि रसियाको भिसा लागेको पासपोर्ट फिर्ता गरेको छ । सन्चरानीका अनुसार दलालले लामो समयसम्म जापान नपठाएपछि शंका लागेर सोधीखोजी गर्दा ठगी गर्ने नियत खुलेको हो । उनले भनिन्, ‘छिटो जापान पठाउन आग्रह गर्दा दलालले भारतको नयाँ दिल्ली जानुपर्ने प्रस्ताव राख्यो । अनि, सबै कुरा बुझ्दा उसको ठगी र शारीरिक शोषण गर्ने नियत रहेछ भन्ने पुष्टि भयो ।’
टर्की जाने चाहनाले गाउँको पसल बिक्री गरेर म्यानपावरलाई पाँच लाख बुझाएकी जेठला–८ दोलखाकी लक्ष्मी तामाङको वैदेशिक रोजगारी पनि सफल हुन सकेन ।  गाउँमै भइरहेको आम्दानीप्रति सन्तुष्टि हुन नसकेपछि २९ वर्षीया लक्ष्मीले पसल बेचेको रकम म्यानपावरलाई बुझाएकी थिइन् । दलाल र म्यानपावरको लहलहैमा युरोप जान खोज्दा यतिखेर उनलाई दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या आइलागेको छ ।
 पाँच लाखमा पसल बिक्री गरेर टर्की गएकी लक्ष्मी वैदेशिक रोजगारीको ४१ दिनमै टुंगिएपछि घर फर्केकी हुन् । एलएलसीसम्म अध्ययन गरेकी लक्ष्मीलाई डिभाइन इनसाइट ओभरसिजले टर्की पु¥याएको थियो । ‘म्यानपावरले दैनिक आठ घण्टा मात्र काम गर्नुपर्ने भनेको थियो,’ हाउसमेड भिसामा टर्की गएकी लक्ष्मीले भनिन्, ‘त्यहाँ त दैनिक १६ घण्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि कुटपिट हुन थालेपछि घर फर्कन बाध्य भएँ ।’ काम गर्ने स्थलमै कुनै दिन नचिनेका केटाहरू पुगेर दुव्र्यवहार गर्ने प्रयाससमेत गरेको उनले जानकारी दिइन् ।
पछिल्लो समयमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या घट्दै गएपछि म्यानपावर र दलालको ध्यान महिलातिर तानिएको छ । वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालयका अधिकृत ताराबहादुर कुँवरका अनुसार महिलालाई विदेश पठाउन खोज्नेको संख्या केही महिनायता बढेको छ । अवैध चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पु¥याउने गिरोह सक्रिय भएको विभागका कर्मचारीहरू बताउँछन् । ‘चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा निकै जोखिम हुन्छ भनेर जानकारी दिइरहेका छौँ,’ उनले भने, ‘तैपनि, महिलालाई बाहिर पठाउने गिरोह सक्रिय भइरहेको छ । यसको रोकथामका लागि सबैको सहयोग आवश्यक छ ।’ अघिल्लो वर्ष (साउनदेखि जेठसम्म) वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ८६ हजार २ सय ८७ थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ३ लाख ८६ हजार ३ सय १५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा विदेशिने पुरुषको संख्या घटे पनि महिलाको भने बढेको विभागका कर्मचारी बताउँछन् ।
दलालले बढीमा एसएलसीसम्म अध्ययन गरेका, विवाहित त्यसमा पनि पति र घरपरिवारसँग राम्रो सम्बन्ध नभएका महिलाहरूलाई झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेको सरकारी कर्मचारी बताउँछन् । गाउँमा सामान्य जीवन बिताइरहेका युवतीसँग सुरुमा मायाप्रेमको नाटक गर्ने र बिस्तारै उनीहरूको रकम कुम्ल्याउन दलालले वैदेशिक रोजगारीका लागि चोरीको बाटो प्रयोग गर्ने गरेका छन् । झुक्याएर महिलालाई वैदेशिक रोजगारीमा पठाउने धेरैजसो दलालले भारतीय बाटो प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फाटफुट रूपमा भुक्याएर वैदेशिक रोजगारीमा पठाउन थालेका महिलालाई रोेक्ने गरे पनि यो समस्यालाई रोक्न अन्य सरकारी निकाय सक्रियपूर्वक नलागेको अधिकारवादी बताउँछन् । विभागका एक कर्मचारी भन्छन्, ‘अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा पुगेका अधिकांश महिला आर्थिक र शारीरिक शोषणमा परेका हुन्छन् ।’
त्यस्तै, नेपाल सरकारले श्रम स्वीकृति दिने गरेका १ सय ६ देशमध्ये (हालै बन्द गरिएका अफगानिस्तान, सिरिया, लेबनान र इराक) महिला पठाउनै नमिल्ने देशमा म्यानपावरले महिलालाई पठाएर शोषण गर्ने गरेको कर्मचारी बताउँछन् । ‘सामान्य पढलेख गरेका र सम्बन्धित देशको भाषा नबुझ्ने महिलालाई पनि दलाल र म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने गरेका छन्,’ वैदेशिक रोजगारी पीडित फुर्वा शेर्पाले भनिन्, ‘जानै नमिल्ने अवस्थामा पनि सरकारी कर्मचारी, दलाल र म्यानपावरको सेटिङले महिला विदेश पठाउने गिरोह सक्रिय छ । रोजगारीका लागि विदेश पुगेपछि मात्र यथार्थ कुरा खुल्छ । तबसम्म पीडितले धेरै गुमाइसकेको हुन्छ ।’ उनी पनि चार महिनाअघि साइप्रसबाट फर्केकी हुन् । कतिपय देशमा महिलालाई पर्यटक भिसामा पठाउने गिरोह पनि उस्तै सक्रिय छ ।


‘सपना चकनाचुर भयो’

सविना लामा, पीडित

मेरो घर सिन्धुपाल्चोकको स्याली हो । सामान्य लेखपढ मात्रै जान्दछु । संयुक्त अरब इमिरेट्स जान दलाललाई एक लाख रुपैयाँ दिएकी थिएँ ।  रकम दिएपछि विदेश जान पाइने आशा थियो । गाउँकै चिनेजानेका साथीको लहलहैमा लागेर दलाललाई रकम बुझाएकी हुँ । तर, अहिलेसम्म दलालको नाम र ठेगाना थाहा छैन । रकम लिनुअघि दलालले सिनामंगलमा रहेको एउटा म्यानपावर कम्पनी आफ्नो हो भनेर देखाएको थियो  । तर, त्यो त उसको रहेनछ । पछि पो थाहा भयो । विदेश पठाउनु अघि निकै मीठा कुरा गरेको थियो । दलालले मीठा कुरा गर्नुको कारण झुक्याउनलाई पो रहेछ । रकम लिने व्यक्ति फरार भएपछि सोधीखोजी गर्दै काठमाडौँसम्म आएँ । तर, अहिलेसम्म दलाल फेला परेको छैन । नबुझिकन रकम बुझाउँदा एकातिर विदेश जाने सपना चकनाचुर त भयो नै साथै मुश्किलले जम्मा गरेको रकम पनि गुम्यो ।

‘पहिला वास्तविकता बुझौैँ’
पुनम थपलिया

आप्रवासी स्रोत केन्द्र समन्वयकर्ता, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

कुनै पनि महिलालाई वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था सिर्जना भयो भने पहिला त्यो देश कस्तो हो, नियम कानुन के कस्ता छन् तथा आर्थिक अवस्था कस्तो हो भन्ने बुझ्नुपर्छ । यतिखेर वैदेशिक रोजगारीबारे सूचना दिनकै लागि थुपै्र सरकारी तथा गैरसरकारी निकाय क्रियाशील छन् । रोजगारीमा जाने महिलाले अलिकति मात्र चासो राख्ने हो भने आवश्यक सूचना पाउन गाह्रो छैन । महिला पीडित हुनुमा धेरैजसो उनीहरूको पृष्ठभूमिले काम गरिरहेको हुन्छ । जसलाई पायो, त्यसलाई विश्वास गर्ने, वास्तविकता बुझ्नै नखोज्ने प्रचलन व्याप्त छ । दलालको हल्ला र नक्कली कागजपत्र बनाउने कुरामा विश्वास गर्नु भएन । कतिपय महिलाले वैदेशिक रोजगारीमा जानेबारे आफ्नै टोल छिमेकलाई जानकारी दिएका हुँदैनन् । त्यसैले रोजगारीका लागि विदेश जानुअघि छरछिमेकसँग पनि पर्याप्त सरसल्लाह गर्नुपर्छ । घरमा साना छोराछोरी छन् भने उनीहरूलाई बिचल्लीमा पारेर विदेश जानु हुँदैन ।

काममा जानेलाई टिप्स
–वैदेशिक रोजगारीमा जानुअघि परिवारसँग सरसल्लाह गर्नुपर्छ । विदेशमा जाँदा नेपालको तुलनामा कति बढी कमाइ हुन्छ र कति खर्च हुन्छ, त्यसबारे लेखाजोखा गर्नुपर्छ ।
–आफूले निर्वाह गरिरहेकोे पारिवारिक जिम्मेवारी कसले वहन गर्ने र कसरी परिवारको व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल गर्नुपर्छ ।
–वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर मात्र जानुपर्छ । सीप सिकेर जानेले विनासीपमा जानेले भन्दा तलब र सुविधा धेरै पाउने गर्छन् ।
–सीप तालिम लिँदा खर्च र समय लाग्ने भनेर भड्काउने, नक्कली प्रमाणपत्र बनाएर लाने र आफूले नजानेको काम जान्छु भनेर लहलहैमा जानु हुँदैन । सीप नसिकेमा जोखिमपूर्ण काम गर्नुपर्ने हुन सक्छ ।
–इजाजतवाला म्यानपावर कम्पनीसँग मात्र आर्थिक कारोबार गर्नुपर्छ ।
–कारोबार गर्दा रकम तिरेको रसिद वा भरपाइ साथमा राख्नुपर्छ । किनकि, ठगीमा परे वा भनेको काम र तलब नपाए क्षतिपूर्ति लिन यो आवश्यक हुन्छ ।
–जुनसुकै प्रक्रियाबाट वैदेशिक रोजगारीमा गए तापनि विदेशमा काम गर्न जानका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति अनिवार्य लिनुपर्छ ।
–खाडी मुलुकका लागि सामान्यतया दुई वर्ष र मलेसियाका लागि तीन वर्षको करार अवधि हुन्छ । सोभन्दा बढी बस्नु परे स्वदेश फर्किएर पुनः श्रम स्वीकृति  लिएर जानुपर्ने हुन्छ । गन्तव्य मुलुकमा वैधानिक भएर वा भिसाको म्याद बढाएर बसे पनि पुनः श्रम स्वीकृति नलिएमा नेपाल सरकारका तर्फबाट गैरकानुनी ठहरिन्छ ।
–वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने कागजपत्र आफैँसँग राख्नुपर्छ ।
–नेपाल सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट अनिवार्य रूपमा आफू स्वयं उपस्थित भई स्वास्थ्य परीक्षण गर्नुपर्छ । र, निरोगिताको प्रमाणपत्र लिनुपर्छ ।
–नेपाल सरकारको मान्यताप्राप्त बिमा कम्पनीबाट अनिवार्य रूपमा बिमा गराउनुपर्छ । बिमा गरेका भवितव्यमा परी अपांग, मृत्यु भएमा क्षतिपूर्ति पाइन्छ ।
–नेपाल सरकारको नियमअनुसार वैदेशिक रोजगारीमा जाँदा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नुपर्छ ।

Leave A Comment