आफ्ना ५
१. सावन होइनन् मेरा नजर
यो मेरो पहिलो रकर्डेड गीत हो । नागेन्द्र श्रेष्ठको स्वर अनि टीका भण्डारीको सङ्गीत रहेको यो गीत अहिले पनि रेडियो नेपालको फर्मायसी कार्यक्रममा बज्छ । फेरि सावनको विम्ब रहेकाले साउन महिना लाग्नासाथ यो गीतको माग बढ्छ रेडियोहरुमा । हालसालै यो गीतलाई रिरेकर्ड गरेर भिडियोसमेत बनेको छ ।
२. जन्मिदा एक्लै, मर्दा ’नि एक्लै
वास्तवमा मलाई गीतकार भनेर चिनाउने गीत हो यो । कर्णदासको स्वर अनि जीवित जल्मीको सङ्गीत रहेको यो गीत यथार्थमा मैले आफ्नो जीवन परिघटनामा आधारित भएर लेखेको थिएँ । यो गीतमा म स्वयंले अभिनय गरेको छु । कहिलेकाहीँ म छक्क पर्छु, यौटै गीतले कसरी मानिसलाई यस्तो परिचय दिन्छ भनेर । मैले यसपछि सयौं अरु गीत लेखेँ तर पारखीहरुको जहिल्यै यौटै गुनासो सुन्छु यो जस्तै गीत कहिले आउँछ ?
३.म मरेको छैन अझै
यो गीत पनि कर्णदासको स्वर अनि जीवित जल्मीको सङ्गीतमै बनेको हो । यो गीत बजारमा आएपछि मेरो परिचय झन् बढ्यो । त्यसैले प्रिय लाग्छ ।
४. म राम्रो र नराम्रो भन्दा
रजिना रिमालको स्वर अनि राजु सिंहको सङ्गीत रहेको यो गीत रजिना रिमाललाई चिनाउने पहिलो गीत हो । हामी सबै बन्छौँ तर वास्तविक रुपमा मान्छे चाहिँ बन्न सकेका हुन्नौँ भन्ने दर्शन यो गीतमा पाइन्छ । त्यसैले तमाम कमजोरीका बाबजुद मान्छे बन्ने यत्न गर्न आग्रह गरिएको छ यो गीतमा ।
५. माया सबैलाई
प्रभाव छेत्रीको स्वर अनि जविकको सङ्गीत रहेको यो गीत मलाई अत्यधिक मन पर्छ । गीतको भावलाई सङ्गीत र स्वरले खुलाएको छ । फेरि म्युजिक भिडियो पनि यति राम्रो बनेको छ कि त्यसको तारिफ गर्नै पर्छ ।
अरुका ५
१. देशले रगत मागे
स्वर,सङीत र शब्द स्व गोपाल योन्जनको रहेको यो गीत बलियो छ । सायद मेरो लागि अहिलेसम्म सुनेको नेपाली राष्ट्रिय गीतमा यो जत्तिको सशक्त कुनै गीत छैन । जहिले पनि यो गीत सुन्छु, मेरो जिउ सिरिङ्ग गर्छ, काँडा उठ्छ । फेरि नेपाली गीति सङ्गीतमा गोपाल योन्जन नै मेरो आदर्श भएर पनि होला, यो गीत मलाई यति प्रिय भएको ।
२. फूलैफूल मात्र पनि होइन रैछ जीवन
मधु क्षत्रीको स्वर र शब्द तथा सङ्गीत भीम विरागको रहेको यो गीत दर्शनले ओतप्रोत छ । जीवनको यथार्थ चित्रण गरेर मानिसको चरित्र पनि देखाइएको छ यसमा । किन किन मेरो आफ्नो विधा पनि जीवन दर्शन भएर नै होला,यो गीत यति मन परेको ।
३. उकाली ओरालीहरुमा
तारा देवीको स्वर, चाँदनी शाहको शब्द र नातीकाजीको सङ्गीत रहेको यो गीतको माधुर्यको म बयान गर्न सक्दिनँ । प्रेमको पराकाष्टा नाघेर यौटी प्रेमिकाले यसमा आफ्नो प्रेम दर्शाएकी छन् । सम्भवतः यसै गीतबाट चाँदनी शाहले नेपाली गीति लेखनमा आफ्नो दह्रो उपस्थिति जनाएकी थिइन् । फेरि नातीकाजीको सङ्गीत यस्तो खुलेको छ कि गीत जति सुन्दा पनि नअघाइने किसिमको बनेको छ ।
४. के छ र दिऊँ
गुलाम अलीको स्वर मवीवि शाहको शब्द र दीपक जङ्गमको सङ्गीत रहेको यो गजल जुन समयमा रेकर्ड भयो, त्यो समयमा गजलमा अलीको वर्चस्व थियो । उर्दु भाषी गायकले गीत यसरी गाएका छन् कि नेपालीमा सुन्दा त्यो झन् मधुर बनेको छ । मवीवि शाहको रचना कुनै फूलभन्दा कम सुन्दर छैन । दीपक जङ्गमको सङ्गीतले स्वर तथा शब्दलाई राम्रै पक्डेको छ ।
५.नबिर्सें तिमीलाई
अन्जु पन्तको स्वर, विपिन किरणको शब्द, महेश खड्काको सङ्गीत रहेको यस गीतले पन्तलाई वास्तविक रुपमा नेपाली सङ्गीतमा स्थापित गर्याे । गजललाई यति सहज रुपमा गाइएको छ कि प्रायःको मुखमा झुन्डिन सफल भयो । विपिन किरण र महेश खड्का दुवैको लागि पनि यो यौटा मीठो संयोग बनेर आयो । मलाई पनि मनपर्ने मध्येको गीत हो यो ।
Leave A Comment