किन, कसरी, के ?

आइतबार, ३० बैशाख २०७५, ०५ : २४ प्रकाश जंग थापा
किन, कसरी, के ?

जो कोही व्यक्ति वा संस्था विश्वलाई नेतृत्व दिन चाहन्छ । विश्वभर आफ्नो प्रभुत्व जमाएर सधैँ उच्च हैसियतमा रहन चाहन्छ । आज संसारले चिन्ने र पछ्याउने व्यक्ति अबको केही वर्षभित्र गुमनाम हुन पुग्छन् । त्यसैगरी धुम धडका साथ स्थापना गरिएका नयाँ संस्था पाँच वर्षको पुग्न नपाउँदै बन्द हुन अवस्थामा पुग्छन् । हाम्रो सेवाका लागि हजारौं संस्था भए पनि हामी गुगल, सामसङ, एप्पलजस्ता ठूला संस्थाको मात्रै विश्वास गर्छौं । आखिर किन ? अर्को शब्दमा भन्नु पर्दा कुनै पनि व्यक्ति÷संस्था सफल–असफल हुनुको प्रमुख कारण के हो ? यसको रहस्य ब्रिटिस अमेरिकी लेखक सिमोन सिनेकले प्रत्युत्पादन गरेको ‘दि गोल्डेन सर्कल’ कन्सेप्ट वा सिद्धान्तबाट बुझ्न सकिन्छ ।

चित्र– ‘क’ मा तीन कन्सेन्ट्रिक सर्कल ÷ वृत्त (एउटै सेन्टर भएको ) देख्न सकिन्छ । भित्री वृत्तले ‘किन’ भन्ने बारेमा संकेत गर्छ । त्यसपछिका दुई वृत्तले क्रमशः ‘कसरी’ र ‘के’ भन्ने बारेमा संकेत गर्छ । यहाँ ‘किन ?’ ले  कारण वा उद्देश्य÷विश्वास जनाउँछ ।  ‘कसरी ?’ ले विधि वा तरिका जनाउँछ भने ‘के ?’ ले परिणाम जनाउँछ । सबै व्यक्ति÷संस्थालाई के गर्दै छु भन्ने सतप्रतिशत थाहा हुन्छ । कसरी गर्नुपर्छ भन्ने केहीलाई थाहा हुन्छ । किन गर्दै छु भन्ने निकै कमलाई थाहा हुन्छ । जसलाई ‘किन’ को बारेमा स्पष्ट जानकारी छ उही नै विश्वको लिडर बन्छ । अरु ‘के’ र ‘कसरी’ भन्ने बारेमा जानकार राख्नेहरु फलोअर हुन्छन् । 

मानव मस्तिष्कको क्रस सेक्सन लिने हो भने त्यसले ‘दि गोल्डन सर्कल’कै झल्को दिन्छ । बाहिरी ठूलो वृत्तलाई नियोकर्टेक्ससँग दाँज्न सकिन्छ । त्यो भागले हाम्रो तर्कसंगत, विश्लेषणात्मक विचार र भाषालाई नियन्त्रण गर्छ । बाँकी दुई वृत्तलाई हाम्रो लिम्बिक ब्रेनसँग तुलना गर्न सकिन्छ ।

यो भागले हामीमा जागृत हुने भावना, विश्वास, समर्पणजस्ता व्यवहार र निर्णय गर्ने क्षमताबारे विशेष भूमिका खेल्छ । हामीले दिने सन्देश ‘किन’ बाट सुरु भएर ‘के’ भन्नेमा टुङ्गियो भने त्यतिबेला दिमागको त्यो भाग सक्रिय हुन्छ जसले हाम्रो व्यवहार नियन्त्रण गर्छ । यति मात्र होइन, निर्णय लिन थप सहयोग पनि हुन्छ तर सन्देश ‘के’ बाट सुरु गरेर ‘किन’मा टुङ्गियो भने त्यतिबेला मानिसको त्यो दिमागी भाग सक्रिय हुँदैन जसले निर्णय लिन र व्यवहार नियन्त्रण गर्न भूमिका खेल्छ । अब सिनेकले दिएका केही उदाहरण लिऊँ ।

एप्पल विश्वको सर्वोत्कृष्ट ब्रान्डमा गनिन्छ । यो कम्पनीको मार्केटिङ म्यासेज यस प्रकारको हुने गर्छ– हामी जे गर्छौं, त्यसमा चुनौती लिन तयार छौं । अरुभन्दा फरक सोच राख्नुमा र चलिआएको टे«न्ड तोडेरै छलाङ्ग मार्न सकिन्छ भन्नेमा हामी विश्वास गर्छौं । तर ‘कसरी ?’ हामीले उत्पादन गर्ने प्रडक्टलाई उत्कृष्ट डिजाइन दिएर, प्रयोगका हिसाबले सजिलो हुनुका साथै उपभोक्ता मैत्री बनाएर यस्तो गरिरहेका छौँ । यही कामलाई निरन्तरता दिने क्रममा हामी एक उम्दा कम्प्युटर बनाउन सफल भयांै । के तपाईं हाम्रो उत्पादन किन्न चाहनु हुन्छ ? यस सन्देशमा ‘किन’ भन्ने विषयलाई सम्बोधन गरिसकेपछि मात्रै ‘कसरी’ र ‘के’ भन्ने विषयलाई खुलाइएको छ । यहाँ सन्देश भित्री वृत्तबाट बाहिरी वृत्तमा सम्प्रेषण गरिएको छ ।

यसर्थ एप्पलको हरेक उत्पादन विश्वभर रुचाइन्छ तर अरु कम्पनीको मार्केटिङ म्यासेज यस्तो हुन्छ– हामीले एउटा उम्दा कम्प्युटर बनायौं । यसको डिजाइन सुन्दर छ । प्रयोगका हिसाबले सजिलो हुनुका साथै उपभोक्तामैत्री पनि छ । के तपाईं हाम्रो उत्पादन किन्न चाहनु हुन्छ ? यहाँ सन्देश बाहिरी वृत्तदेखि भित्रीवृत्तमा प्रवाह गरिएको छ । यहाँ पहिले ‘के’ लाई खुलाइएको छ । त्यसपछि ‘कसरी’ र ‘किन’ भन्ने प्रस्ट्याइएको छ । यही कारण उपभोक्ता पे्ररित हुन सकेनन् । र, प्रडक्ट त्यति धेरै रुचाइएन ।

अर्को उदाहरण, राइट दाजुभाइले जस्तै स्यामुएल पिरपोन्ट ल्याङ्ले पनि उड्ने मेसिन बनाउने अभियानमा थिए । ल्याङ्लेलाई सोही कामका लागि बेलायती युद्ध विभागले पचास हजार डलर सहयोग गरेको थियो । ल्याङ्लेलाई पैसाको कुनै अभाव थिएन । उनको टोलीमा त्यस बेलाका सक्षम इन्जिनियर र वैज्ञानिक काम गर्थे । बजारको अवस्था पनि अनुकूल थियो । उनीसँग सफलताका लागि चाहिने सम्पूर्ण रेसिपी थियो तर राइट दाजुभाइको टिममा कसैले पनि कलेज शिक्षा लिएका थिएनन् । स्वयं राइट दाजुभाइ उति पढेलेखेका थिएनन् । उनीहरुलाई मिडियाले अपठित समूह भनी बेवास्ता गर्थे ।

यद्यपि सन् १९०३ डिसेम्बर १७ मा उनीहरुले हवाई जहाज उडाएर देखाइदिए । त्यो ऐतिहासिक क्षण कैद गर्ने कोही थिएनन् । केही दिनपछि मात्र विश्वले समाचार पायो । ल्याङ्लेसँग सारा कुरा हुँदा पनि असफल र राइट दाजुभाइसँग केही नहुँदा पनि किन सफलभए ? ल्याङ्ले उड्ने मेसिन बनाउने काममा प्रथम हुन चाहन्थे । नाम र धनको पछि लागेका थिए । उनी परिणाम चाहन्थे । उनको नेतृत्वमा काम गर्नेहरु केवल पैसाको लागि काम गर्थे ।

राइट दाजुभाइ भने उड्ने मेसिन बनाएर संसार बदल्न सकिन्छ भन्नेमा अटुट विश्वास गर्थे । उनीहरुको टिममा पैसाका लागि होइन, उद्देश्यका लागि काम गर्ने व्यक्ति थिए । अन्ततः उनीहरु सफल भए । जुन दिन ल्याङ्लेले अरु कसैले उड्ने मेसिन बनाएको खबर पाए, त्यही दिनदेखि हार माने । खोज अनुसन्धान स्थगित गरे । 

‘गज्जबको आविष्कार ! अब म त्यसमा थप सुधार ल्याउछु,’ भन्न सक्थे तर भनेनन् न त गरे नै ! उनी ‘के’ अर्थात् परिणाममुखी थिए तर राइट दाजुभाइ ‘किन’ अर्थात् उद्देश्य प्रेरित थिए । तपाईंले पनि आफ्नो काम ‘किन’का पछाडि लगाउनुस्, ‘के’का पछाडि होइन ।
 

Leave A Comment