डमरुको डन्डिबियो: खगेन्द्रको कमजोर ठ्याक

बिहिबार, २७ बैशाख २०७५, ०१ : ४४ अनिल यादव
डमरुको डन्डिबियो: खगेन्द्रको कमजोर ठ्याक

फिल्म दृष्टि  

फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा गरेको अभिनयबाट खगेन्द्र लामिछानेले खुब प्रशंसा पाए । दुवैको कारण थियो– फिल्ममा उनले गरेको जीवन्त अभिनय र लेखेको मन छुने कथा । त्यसपछि रिलिज भएको ‘धनपति’ले भने अघिल्ला दुई फिल्मको साख जोगाउन सकेन । 

अहिले फेरि खगेन्द्र पर्दामा आएका छन्, ‘डमरुको डन्डिबियो’ लिएर । डमरु आफैँ बनेका छन् र लागेका छन्– डन्डिबियोे क्रान्ति गर्न । विषयवस्तुको छनोट मौलिक र संवेदनशील छ तर फिल्म उति बलियो र मन छुने छैन । ‘डमरुको डन्डिबियो’को लेखक र अभिनेता दुवै रहेका खगेन्द्रले ‘पशुपतिप्रसाद’बाट आर्जन गरेको साख जोगाउन सकेको छैन । 

यो फिल्म लोप हुँदै गरेको डन्डिबियो खेललाई पुनः ब्युँताउने लक्ष्य बोकेर गाउँ फर्किएको डमरु (खगेन्द्र लामिछाने)को कथा हो । बिर्सिइएको डन्डिबियोलाई फेरि सम्झाउन डमरुले गर्ने संघर्ष फिल्मको मुटु हो । 

गाउँका हेडमास्टर (अनुप बराल) तथा डमरुका बुबा डमरुलाई लोकसेवाको परीक्षा दिलाएर सरकारी जागिरे बनाउन चाहन्छन् तर डमरुको रुचि भने अर्कै छ– डन्डिबियो खेललाई पुनःस्थापित गराउने । गाउँमा बस्ने उनकी प्रेमिका माला (मेनुका प्रधान) र साथी मुखिया (बुद्धि तामाङ) सुरुमा उनको यो उद्देश्यमा सहमत हुँदैनन् । तर जब उनीहरु सहयोगका लागि तयार हुन्छन्, डमरुकै बुबा योगेन्द्र (अनुप बराल) भिलेन भइदिन्छन् । कारण, डन्डिबियोप्रेमी योगेन्द्र गाउँमा कसैले डन्डिबियो खेलेको रुचाउँदैनन् । उनको ठम्याइ छ, यो खेलेर जिन्दगी उँभो लाग्दैन । 

बाबुको असहमतिपछि पनि डमरु स्कुले विद्यार्थीलाई भेला गरेर डन्डिबियोको टिम बनाउन थाल्छन् । उता हेडमास्टर बाबु विद्यार्थीलाई  कारबाही गर्न थाल्छन् । यत्तिकैमा परिस्थिति यस्तो आउँछ कि बाबु (योगेन्द्र) र छोरा (डमरु)को टिमबीच डन्डिबियो प्रतिस्पर्धा हुन्छ । डमरुको टिमले हार्छ । आफ्नै प्रेमिकाले बाबुसँग मिलेर खेल हराएको आशंका गर्दै डमरु फेरि सहर फर्किन्छ– बाबुको ‘सरकारी जागिरे’ सपना पूरा गर्न । त्यसपछि डमरुको डन्डिबियो सपना के हुन्छ ? मालासँगको प्रेम के हुन्छ ? डन्डिबियोको पुनःस्थापना कसरी हुन्छ या हुँदैन ? यस्तै प्रश्नहरुको जवाफ दिएर फिल्म सकिन्छ । 

नेपाली मौलिक खेललाई पर्दामा पस्कन खोज्नु आफैँमा एउटा सुन्दर प्रयास हो । यसको श्रेय निर्देशक छेतन गुरुङ र खगेन्द्रलाई जान्छ । विषयवस्तुकै कारण फिल्मप्रति दर्शकको संवेदना पनि पक्कै जान्छ । तर फिल्म उत्कृष्ट बनाउन यतिले मात्रै पुग्दैन । विषय उठाएपछि यसले दर्शकको भित्री संवेदनालाई पनि हुँडल्न सक्नुपर्छ । तर विडम्बना, पटकथा कमजोर भइदिँदा योे फिल्म उत्कृष्ट हुनबाट चुकेको छ । यस्तो लाग्छ, फिल्मको विषय मौलिक भए पनि पटकथा हावामा बगेको छ, भुइँ छोएको छैन । 

खेल विधाका फिल्म बनाउँदा निर्देशकसँग ठूलो चुनौती हुन्छ– दर्शकलाई बोर नलाग्नेगरी कथा भन्ने । ताकि फिल्म हेरिरहँदा दर्शकले कुनै स्टेडियममा बसेर खेल मात्रै हेरिरहेको महसुस नगरुन् । पटकथामा मिहिनेत नपुग्दा यो फिल्म यही पक्षमा चुकेको छ । 

फिल्ममा पात्रहरुबीचको द्वन्द्व र संघर्ष स्थापनामा पर्याप्त मिहिनेत देखिँदैन । खगेन्द्र र अंकित खड्काको टिमबीच हुने प्रदेशस्तरीय खेलले दर्शकमा कुनै रोमाञ्चकता छर्दैन । न त दुईमध्ये कुनै एक टिमप्रति सहानुभूति राख्नुपर्ने खास कारण नै भेटिन्छ । किनभने प्रदेश ६ र ७ नम्बरबीच खेल हुँदा दर्शकले स्वाभाविक रुपमा आ–आफ्नो प्रदेशलाई नै समर्थन गर्छन् । 

बलिउडमा बनेका खेल विधाका फिल्महरु ‘चक दे इन्डिया’, ‘दंगल’को अन्त्य रोमाञ्चक र उत्सुक हुनुमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी पनि एक कारण हुन्थ्यो । तर ‘डमरुको डन्डिबियो’को अन्त्य अन्तर्राष्ट्रिय नभएर प्रदेशस्तरीय प्रतिस्पर्धामा हुन्छ । जहाँ दर्शक कसलाई किन समर्थन गर्ने भन्नेमै अल्मलिन्छन् । 

दुई घण्टा १८ मिनेट समयवधिको यो फिल्मलाई छोट्याएर अझ कसिलो र खँदिलो बनाउन सकिन्थ्यो । ह्वाइट बोर्डमा डन्डिबियो खेल्न सिकाइएका दृश्यलाई छोट्याएको भए दर्शकले हाई काढ्ने थिएनन् । 

मौलिकपन यो फिल्मको प्रशंसनीय पक्ष हो । विषय, परिवेश र पात्रहरुले नेपालीपनको झल्को दिन्छ तर विश्वका खेल विधाका फिल्म हेर्दै आइरहेका दर्शकलाई खेलाडीको संघर्ष र खेल स्थापित गराउन प्रयोग गरिएका दृश्यहरु नौलो नलाग्न सक्छन् । 

फिल्ममा डन्डिबियो खेललाई आधुनिक तरिकाले खेलिएको छ । सायद यसअघि यति व्यावसायिक हिसाबले यो खेलबारे सोचिएको थिएन । फिल्ममा खेलका नियमहरु पढाइएका छन् । फिल्म हेर्दैै गर्दा यस्तो लाग्छ, यो सिनेमा कम र डन्डिबियोको प्रशिक्षण कक्षा ज्यादा हो । 

यो सिनेमाको एउटै अभियान– डन्डिबियोलाई खेल जगत्मा पुनःस्थापित गराउने  र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने देखिन्छ । 
यो फिल्मले दर्शकलाई डन्डिबियोको सम्झना ताजा त गराउँछ तर खेल्न छाडेकालाई अब खेल्न थाल्नुपर्छ भन्ने भावना उत्प्रेरित पक्कै गराउँदैन । पहिलो हाफको तुलनामा दोस्रो हाफ झन् खस्किएको महसुस हुन्छ ।

फिल्मले पात्रमार्फत् पुनःस्थापनाको लक्ष्य त लिएको छ तर सफल भएको महसुस गराउँदैन । किनभने एउटा प्रदेशस्तरीय प्रतिस्पर्धा हुँदैमा डन्डिबियो पुनस्र्थापना भयो भन्नेमा दर्शक कन्भिन्स हुने ठाउँ छैन ।   

फिल्ममा कसैले बढी कमाल गरेका छन् भने त्यो सिनेमाटोग्राफर हरि हुमागाईंले नै हो । पात्र र परिवेशलाई कथाको मर्मअनुसार उनले क्यामेरामा निकै कलात्मक ढंगले खिचेका छन् ।  एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर पनि फिल्मको विधाअनुसार लयमै छ । पटकथा फितलो हुँदाहुँदै पनि प्रस्तुतिमा निर्देशकले अथक् प्रयास गरेको फिल्ममा झल्किन्छ ।  

फिल्ममा अधिकांश कलाकारको काम राम्रै छ तर मुख्य पात्रको भूमिका निभाएका खगेन्द्र लामिछाने आफ्ना पुराना फिल्मभन्दा फरक देखिन सकेका छैनन् । उनलाई ‘टुल्के’ ‘पशुपतिप्रसाद’ र ‘धनपति’का रुपमा हेरिसकेका दर्शकले  ‘डमरु’का रुपमा देख्दा अभिनयमा खासै परिवर्तन पाउँदैनन् । नयाँ पात्रमा काम गर्दा पुरानोको झल्को आउनु कलाकारको सफलता होइन । त्यसैले लेखनमा मात्रै होइन अभिनयबारे पनि खगेन्द्रले अब सोच्नुपर्छ । 

फिल्ममा बुद्धि तामाङको अभिनय तारिफयोग्य छ । दर्शक त हसाउँछन् नै, फिल्मैपिच्छे आफूलाई परिष्कृत गर्दै लगिरहेको महसुस पनि गराउँछन् । अनुप बराल पात्रअनुसार स्वाभाविक छन् । अनुपको सहकर्मीका रुपमा आशान्त शर्मा फिट छन् । मेनुका प्रधान, अंकित खड्का, लक्ष्मी बर्देवाको अभिनय पनि पात्र सुहाउँदो छ । 

समग्रमा यो फिल्मले अहिलेसम्म ओलम्पिकमा नखेलिएको डन्डिबियो त खेल्यो तर फिक्का ! ‘धनपति’बाट निराश दर्शकका लागि खगेन्द्र पुनः  डन्डिबियोको मैदानमा त उत्रिए तर सक्दो ठ्याक लाउन चुके । खेल्ने मिहिनेत पुगेन । ‘स्पोर्ट्स् ड्रामा’का पारखीलाई फिल्मले इन्गेज त गराउला तर उत्कृष्ट फिल्मको स्वाद पक्कै दिँदैन । 
 

Leave A Comment