डा. केसी मरे भने...

शुक्रबार, ०७ साउन २०७३, ०२ : २४ विनोदविक्रम केसी , Kathmandu
डा. केसी मरे भने...

आठौँ  पटक आमरण अनशनमा बसेका छन्, एउटा क्रान्तिकारी र मानवतावादी चिकित्सक डा. गोविन्द केसी । एक्लै सत्यको लडाइँ लडिरहेका छन् । गरिब नेपाली जनताले एउटा ट्याब्लेट नपाएर ज्यान गुमाउन नपरोस् भन्ने अत्यन्त चोखो ध्येयले आफ्नो ज्यान पटक–पटक दाउमा राखिरहेका छन् । जसको व्यक्तिगत नामको कुनै अभीष्ट छैन । जसको जिन्दगीको शब्दकोशमा लालच, लालसा, लिप्सा, लोभजस्ता अश्लील शब्दहरू छैनन् । जुनसुकै दृष्टिकोण, जुनसुकै वाद, जुनसुकै सिद्धान्तले परिभाषा गरे पनि जो ‘असल व्यक्ति’ बाहेक अर्काे हुनै सक्दैन । त्यही असल व्यक्ति अहिले आठौँ पटक आमरण अनशनमा छन् । र, ठीक यतिखेर यो देशको हरेक असल मान्छे सवालको कठघरामा छ– के उसले यसरी चुपचाप बसेर डा. केसीलाई मर्न दिन पाउँछ ? असल मान्छेहरूको मौनता सबैभन्दा घातक हुन्छ भन्थे, आइरिस राजनीतिज्ञ एडमन्ड बर्क । उनी भन्थे, ‘दुष्टहरूको विजयका निम्ति एउटै चिज आवश्यक हुन्छ– असल मान्छेहरूले केही पनि नगरिदिनु ।’
राज्य डा. केसीलाई मार्न उद्यत छ । नत्र उनको यति निर्मम ढंगले उपेक्षा गरिने थिएन । राज्य यसै पनि हिंस्रक हुन्छ । अझ हरेक क्रान्तिकारी, विद्रोही र असल मान्छेको हत्या उसका निम्ति एउटा वनभोज हो, ऊ तृप्तिको एउटा डकार छोड्छ ।
डा. केसी मरे भने (भनिरहनु नपर्ला) त्यो उनको स्वाभाविक मृत्यु हुने छैन, हत्या हुनेछ । तर, हत्याको जिम्मेवार राज्य मात्र हुने छैन, यो देशका असल मान्छेहरू पनि उनको हत्याका भागी हुनेछन् ।
स्वास्थ्य क्षेत्रका यावत् बेथितिविरुद्ध ‘वान म्यान आर्मी’ शैलीमा लडिरहेका डा. केसीको भोग खान खोजिरहेका छन् उनीहरू । मदारी माफियातन्त्रको बाँदर भएको छ देश, जो भनिरहेछ– ‘चल जमुरे दिखा तमाशा लोकतन्त्र का ।’ परिवर्तन, लोकतन्त्र र गणतन्त्र चाहने छातीहरू ताकी–ताकी गोली दाग्नेहरू लोकतान्त्रिक गणतन्त्र नेपालका हर्ताकर्ता भएका छन् । मानौँ, दुशासनको हातमा समयले सुम्पिदिएको छ द्रौपदीको सारी । र, हाम्रो हुर्मत लिन कुनै कसर बाँकी राखेका छैनन् उनीहरूले । डा. केसीको लडाइँ उनीहरूविरुद्ध हो । यो हाम्रो पनि लडाइँ हुनुपथ्र्याे । हामी असल मान्छेहरू आफ्नो हिस्साको लडाइँ किन लडिरहेका छैनौँ ? अझ हामी युवाले किन लडिरहेका छैनौँ ? माओ भन्थे– ‘अन्याय देख्दा आँखामा आगो नउब्जाउने युवा युवा नै होइन ।’ हामी सामाजिक सञ्जालमा ‘आई एम विद डा. केसी’ भनिरहेका छौँ । हाम्रो ऊर्जा, हाम्रो बलिष्ठता केवल यत्ति हो त ?

डा. केसी मरे भने (यो अत्यन्त अप्रिय सम्भावनाबारे सोच्नुपर्दा मलाई खेद छ) के हुनेछ ? एउटा विद्रोह मर्नेछ, निमुखाहरूका पक्षमा उठ्ने एउटा आवाज मर्नेछ । गरिब आमाबाउका सन्तानको डाक्टर हुने सपना मर्नेछ । नेपाली जनताको सुलभ र सहज उपचार पाउने हक मर्नेछ । अनि, असल मान्छेहरूको लज्जा पनि मर्नेछ । डा. केसी मरे भने मेडिकल माफियाहरूको विजय हुनेछ । हाम्रो स्वास्थ्यको हक उनीहरूको दयाको पात्र हुनेछ ।
हामीले यथाशीघ्र केही गरेनौँ भने अनिष्ट हुन सक्छ । हामी के पर्खिरहेका छौँ ? डा. केसी मर्लान् र उनलाई पहिलो मेडिकल शहीद घोषणा गरौँला भनेर पर्खिरहेका छौँ ? सरकारविरोधी ¥याली निकालौँला भनेर प्रतीक्षा गरिरहेका छौँ ? शोकसभा गरौँला भनेर कुरिरहेका छौँ ? कि के ?

संसदीय प्रजातन्त्रको विशेषता नै मानिने सरकार परिवर्तनको खेल चलिरहेको छ । यसले जनताको जीवनमा कुनै ताŒिवक भिन्नता ल्याउने छैन । यो सिजनको खेलले बरु डा. केसीको अनशनलाई ओझेलमा पारिदिएको छ । र, असल मान्छेहरू सडकमा ओर्लिएका छैनन् । डरलाग्दो कुरो यही छ ।  
दुई वर्षअघि यतिखेरै प्यालेस्टाइनमाथि इजरायले हमला गरेको थियो । त्यतिबेला गाजाका एक दुःखी र आक्रोशित नागरिकले भनेका थिए, ‘आज राति म मरेँ भने मेरा एक–एक अंग आवश्यक परेका व्यक्तिहरूलाई दान दिनू । मेरो माझी औँला चाहिँ अरब संसारका नेताहरूलाई दिनू ।’ ठडिएको माझी औँला अभद्रता, अशिष्टता, मैथुन, अपमान आदिको प्रतीक हो । पहिलो शताब्दीतिर मेडिटरानियन संसारमा यो दुष्टको खराब नजरलाई अन्तै मोड्न प्रयोग गरिने संकेत थियो । डा. केसीको शालीन व्यक्तित्व ती गाजाका नागरिकको भन्दा सर्वथा भिन्न छ । तर, डा. केसी मरे भने यो देशका असल मान्छेहरू जिन्दगीभर आफ्नै माझी औँलाले आफैँलाई भद्दा संकेत गरिरहन बाध्य हुनेछन् ।
अब असल मान्छेहरूले डा. केसीलाई उनीहरूविरुद्ध एक्लै लड्न दिनु हुँदैन । उनीहरूसँग सबैथोक छ, सबैथोक उनीहरूकै हो । सत्ता उनीहरूकै हो, संसद् उनीहरूकै हो, प्रहरी उनीहरूकै हो, मिलिटरी उनीहरूकै हो, खानी, खनिज, वन पैदावर, अनि स्वामित्वका हरेक चिज उनीहरूकै हुन् । हरामखोरीका हरेक चिज उनीहरूकै हुन् । यो देशै उनीहरूको हो । तर, यो देशका पीडाहरू चाहिँ हाम्रा हुन् । वेदनाहरू चाहिँ हाम्रा हुन् । डा. केसी हाम्रा तिनै पीडा र वेदनाका खातिर यो लडाइँ लडिरहेका हुन् ।
उनी मरे भने ‘हामीले के गर्न सक्थ्यौँ र ? हामीसँग के थियो र ?’ भनेर आफ्नै कायरतामाथि थुकिरहँदा सायद हामी झल्यास्स हुनेछौँ– हामीसँग सडक त थियो नि ।

Leave A Comment