परिचयकी ‘चिल्लो पात’

आइतबार, २३ बैशाख २०७५, ०५ : २३ भोला अधिकारी
परिचयकी ‘चिल्लो पात’

सानै उमेरमा टेलिसिरियलमार्फत् चर्चामा रहेकी कलाकार हुन्, जस्मिन खड्का । अहिले प्रसारण भइरहेको टेलिसिरियल ‘परिचय’मा सभ्यता पात्रको भूमिकामा देखिन्छिन् उनी । भर्खर कलेज पढ्दै गरेका युवाको भूमिकामा देखिने उनको अभिनय दर्शकले रुचाइरहेका छन् ।

‘परिचय’ सिरियलले उनको परिचय बदलिदिएको छ । उनको वास्तविक नाम जस्मिनबाट भन्दा पनि सभ्यताको नामले धेरैले चिन्छन् । टिनएनको राम्रो प्रतिनिधित्व गरेकी उनको काँचको पर्दासँगको साइनो गाँसिएको भने १० वर्ष भइसक्यो ।टेलिभिजनमा उनको प्रवेश बाल कलाकारको रुपमा प्रवेश भएको थियो ।

टेलिफिल्म ‘परिचय’मै उनी सरिता लामिछानेकी नन्दको छोरीको भूमिकामा थिइन् तर त्यो बेलाका नियमित दर्शकले अहिले उनलाई खुट्ट्याउन मुस्किल पर्छ । बीचमा बन्द भएर पुनः प्रशारण सुरु भएलगत्तै उनी फरक भूमिकामा देखिइन् ‘परिचय’मा । अहिले उनी सरिताको बहिनीको भुमिकामा छिन् । 

‘परिचय’बाहेक उनले ‘यातना’ सिरियलमा समेत अभिनय गरेकी थिइन् । बाल कलाकार भएर खेलेको ‘परिचय’को प्रसारण बन्द हुनेबित्तिकै उनी अध्ययनमा ध्यान केन्द्रित हुन थालिन् । ‘परिचय’ पुनः नेपाल टेलिभिजनमा फर्किएसँगै उनी पनि फर्किइन् पर्दामा । 

‘यातना’मा उनी दीपाश्री निरौलाकी छोरीको भूमिकामा देखिएकी थिइन् तर उनलाई त्यत्ति याद छैन रे त्यो बेलाको क्षण । ‘सानै थिएँ, त्यो बेला कस्तो अभिनय गरेँ थाहै भएन,’ उनले भनिन्, ‘परिचयमा मैले गरेको अभिनय त्यो सयमको भन्दा अलिक फरक छ ।’

‘परिचय’मा युवा उमेरको प्रतिनिधित्व गरेकी उनको भूमिका जिद्दी स्वभावको छ । उमेर अनुसारको क्यारेक्टरमा उनी फिट देखिएकीले नै चाँडै दर्शकको नोटिसमा पर्न सफल भएकी हुन् । सिरियलमा निभाएको भूमिकाबारे दर्शकले ‘सभ्यता यस्तो उस्तो’ भनेर गाली गरेको पनि सुनेकी छिन् रे ! ‘कति साह्रो छुच्ची, यसलाई निकाल्नुपर्छ’ भन्नेसम्मको आलोचना सुनेकी उनी भने यस्ता टिप्पणीमा मक्ख छिन् ।

‘म वास्तविक जीवनमा त्यस्तो छुच्ची छैन, अभिनयमा मात्रै पात्रअनुसार त्यस्तो देखिएकी हुँ,’ उनले शुक्रवारकर्मीसँग भनिन्, ‘यस्तो प्रतिक्रिया पाउँदा खुसी लाग्दोरहेछ, आफ्नो काम सफल भएछजस्तो लाग्छ । उहाँहरुको मनमा मैले गरेको अभिनय गढेछ भन्ने लागिरहेको छ ।’

अहिले स्नातक पहिलो वर्ष पढ्दै गरेकी जस्मिन भविष्यमा नायिका भन्दा पनि गायिकाका रुपमा परिचय बनाउने रहर छ । ‘मलाई गाउनमा रुचि छ र एउटा सफल गायिका बन्ने सपना छ,’ उनी भन्छिन् । ‘गीत गाउन खुब मन लाग्छ, मिहिनेत पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘नायिका बन्ने रहर नभएको हैन तर पहिला पढाई सिध्याउँछ, त्यसपछि गायन र अभिनयमा केन्द्रित हुन्छु ।’ 
 

Leave A Comment