निद्रामा झट्का

शुक्रबार, १४ बैशाख २०७५, ११ : ५५ शुक्रवार
निद्रामा झट्का

बालबालिका निद्रामा भएका बेला बेलाबेलामा झसङ्ग हुन्छन् । निदाएको बेला बालबालिका मात्र होइन, वयस्कसमेत झट्का महसुस गर्छन् । यस्तो झट्का लागेका बेलामा कहिलेकाहीँ निद्रा नै भङ्ग हुने सम्भावना हुन्छ । आखिर निद्रामा यस्तो झट्का किन लाग्छ त ?

सेफिल्ड विश्वविद्यालय बेलायतका प्राध्यापक टम स्टेफोर्ड लेख्छन्, ‘निद्रामा भएका बेला मस्तिष्कले कहिलेकाहीँ केही गतिविधि गर्ने गर्छ । सोही कारण निदाउँदाका बेलामा पनि हाम्रा हात र गोडा फडफडाउँछन् अथवा गहिरो निद्राका बेलामा पनि चल्मलाउने गर्छन् ।’

यस्तो चल्मलाउने गतिविधि कहिलेकाहीँ तीव्र हुन्छ र सर्वसाधारणले झट्का महसुस गर्छन् । यस्तो झट्काका कारण निदाइरहेको मानिस झसङ्ग हुन्छ र निद्रा खुल्छ । यस्तो बेलामा कोही कोही मानिस हैट् के भएछ भनी लजाउँछन् पनि ।

‘कहिलेकाहीँ मलाई पनि यस्तो हुन्छ तर मलाई यस्तो हुँदा रमाइलो लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले मलाई निद्रामा यस्तो झट्का किन लाग्छ भनेर खोज्न मन लाग्छ ।’

हुन त यस्तो झट्का किन लाग्छ भनेर अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । टमको धारणामा भने दिमागले हाम्रो शरीरलाई नियन्त्रित गर्ने जुन सङ्घर्ष गरिरहेको हुन्छ, त्यसैको परिणाम हो कि भन्ने आँकलन गरिरहेका छन् । यस्तो सङ्घर्ष जागृत अवस्था र सपनाका बीचमा हुने गर्छ ।

सपनाको संसार
सामान्यतः हामी निद्रामा हुँदा शरीर शिथिल हुन्छ । हामी गहन निद्राका बेला जुन सपना देख्छौँ त्यस बेला पनि हाम्रा मांसपेसीहरु शिथिल हुन्छन् र आराम गरिरहेका हुन्छन् । यस्तोमा आन्तरिक जोशको कुनै पनि किसिमको झल्को पाइन्न ।

निद्राका बेला बाहिरी संसारबाट तपाईं अलग्गै हुनुहुन्छ र प्रयोगहरुले के देखाएको छ भने निद्राका बेला तपाईंको परेला खुला नै छ भने पनि र तपाईंले बत्ती बाल्नुभयो भने त्यसले फ्याँक्ने प्रकाशका कारण सपनालाई कुनै किसिमको खलल पु¥याउँदैन । सपना देख्ने व्यक्ति र बाहिरी संसारका बीच पूरै ढोका बन्द भएको भने हुँदैन । 

मस्तिष्कको लडाइँ
निद्राका बेला जुन सबैभन्दा सामान्य गतिविधि हुन्छ, त्यो हो– पुतलीको हलचल । सपना देख्दै गर्दा हामीले देख्ने सपनाअनुसार आँखाको पुतली हलचल गरिरहेको हुन्छ । 

जस्तै, हामीले सपनामा फुटबल खेल हेरिरहेका हुन्छौँ र फुटबल खेलमा खेलाडीहरुले लामो–लामो पास गरिरहेका छन् भने हाम्रो आँखा बायाँदेखि दायाँ चलिरहेको हुन्छ । अर्थात्, फुटबल जता गयो, हाम्रो आँखाको पुतली पनि त्यतैत्यतै जान्छ । सुतेको मानिसको आँखामा हुने हलचल हेर्नेबित्तिकै हामीले ऊ सपनामा डुबिरहेको छ भन्ने स्पष्टै चाल पाउँछौँ ।

निद्रामा हातगोडा फडफडाउनु सामान्य कुरा हो । यस्तो अवस्था बालबालिकामा बढी देखिन्छ । उमेर बढ्दै गएपछि यो क्रम अलि कम हुन थाल्छ । हामीले ज्यादै सरल किसिमका सपना देखिरहेका छौँ भने बाहिरी मानिसलाई हामीलाई सपनाभित्र के भइरहेको छ भन्ने चाल पाउन मुस्किल हुन्छ । 

उदाहरणका लागि, सपनामा बाइक चलाइरहनु भएको छ भने तपाईंको गोडा गोलोगोलो पारी घुमाउनु हुन्न ।
तर झट्का आखिर किन हुन्छ त ? झट्काले सपनामा हुने गतिशील अवस्था र दिमागमा नियन्त्रणको प्रयास हो । शिथिल अवस्थामा रहेको शरीरलाई दिमागले जब नियन्त्रणमा लिन थाल्छ, हामी झसङ्ग हुन्छौँ, हातगोडाले झट्का महसुस गर्छन् । वैज्ञानिकहरु भने अब निद्राको अवस्थामा मस्तिष्कले तपाईंलाई नियन्त्रणमा लिन खोज्यो भन्ने कुराको सङ्केत नै झट्का लाग्नु हो भनी निष्कर्षमा पुगेका छन् ।

दुई किसिमका प्रणाली
सुत्न वा निद्रा लाग्नका लागि हाम्रो दिमागमा कुनै स्विच हुँदैन । अन दाब्यो भने भुसुक्क निदाइने र अफ दाब्यो भने निद्राबाट जागिने भन्ने स्विच मस्तिष्कमा हुँदैन । बरु यो त दुई वटा परस्पर विरोधी प्रणाली हो । यो सिस्टमले बेलाबेलामा दिमाग आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहन्छन् ।
सपना देख्दा कोही रुखबाट लड्यो भने झट्का लाग्छ । कोही सपनामा बडो सङ्कटमा परिरहेको छ भने पनि झट्का लाग्छ तर यस किसिमको घटना बडो दुर्लभ हुन्छ । अर्थात्, सधैँसधैँ हामीलाई यस्तो अनुभव हुँदैन र मस्तिष्कले बारम्बार दोहोर्याउने गतिविधिमध्येमा यो पर्दैन ।

सङ्घर्ष पनि छ
निद्रा र अनिद्राका बीचमा यस किसिमको सङ्घर्षका कारण मस्तिष्क एक किसिमको संक्रमणको अवस्थाबाट गुज्रन्छ । अनिद्राको अवस्थामा हामी बाहिरी घटनालाई पहिचान गर्न सक्छौँ जबकि सपनाको अवस्थामा मस्तिष्कले आफ्नै गतिविधिहरुले घटनालाई पर्गेल्ने प्रयास गर्छ ।

निद्राका बेलामा हाम्रा दुई किसिमका हलचलमा समरुपता हुन्छ । पुतली तीव्र गतिमा चल्नु हामी सपनामा छौँ भन्ने सङ्केत हो । झट्का लाग्नु चाहिँ जागेको अवस्थाको सङ्केत हो र अब मानिस सपनामा प्रवेश गर्न लाग्यो भन्ने सङ्केत पनि हो ।

 

Leave A Comment