बद्री पंगेनीका प्रिय १० सुर

सोमबार, १० बैशाख २०७५, ०१ : ५१ शुक्रवार
बद्री पंगेनीका प्रिय १० सुर

बद्री पंगेनी लोक संगीतको क्षेत्रमा निकै परिचित गायक हुन् । उनका थुप्रै गीत लोकप्रिय छन् । उनले शुक्रवारमार्फत आफूलाई मनपर्ने आफ्ना पाँच र अरूका पाँच सुरका कारण यसरी खुलाए ।
आफ्ना पाँच
लाउ चेली सिन्दुर लाउ

यो गीतले हाम्रो नेपाली समाजमा रहेको कुसंस्कारको विरोध गरेको छ । श्रीमान्को मृत्युपछि महिलाले रातो रङको कपडा लगाउन नहुने भन्नु नै महिला र पुरुषबीचको विभेदको पराकाष्टा हो । यो गीत मैले चितवनको स्टेज कार्यक्रममा गएको बेला, एकजना आमाले तँलाई विधुइलाई पनि रातो ला भन्छन् भनेर लौरै लौराले पिट्नुभएको थियो । त्यस्तै दाङमा यही गीतका कारण मलाई विधुवा महिला दिदीबहिनीले सम्मानका साथै रातो पनि लगाउनुभएको थियो । त्यहि भएर मलाई यो गीत एकदमै मनपर्छ ।
अझै नि गणतन्त्र आ’को छैन है
जति परिवर्तनका लागि लडे पनि, विभिन्न तन्त्रका नाम परिवर्तन भए पनि, व्यवस्थामा परिवर्तन आए पनि व्यवहारमा परिवर्तन भएको छैन । त्यसैले यो गीत अझै केही वर्ष गाइरहनुपर्छ जस्तो । त्यस्तै २०६२÷६३ मा पूर्व राजा ज्ञानेन्द्र गद्दीमै छँदा यो गीत गाएकाले पनि मलाई यो गीत प्रिय लाग्छ ।
ससुरालीमा
यो रोमान्टिक गीत हो । पहिले क्यासेटकै जमानामा यो गीत धेरै बिक्री भएको थियो । यसले साली र भेनाबीचको सम्बन्धलाई नराम्रो तरिकाले लिनु हुँदैन भन्ने सन्देश दिन्छ ।
मन थिएन जोगी बन्नलाई
हरेकको परिवारमा ठाकठुक पर्छ, असहमति हुन्छ । गरिब परिवारमा विवाह गरेर गएकी केटीलाई श्रीमान्ले जतिसुकै माया गरे पनि थोरै अभावका कारण पोइल जाँदा कति मन रोला त्यो पुरुषको भन्ने भावलाई मैले अनुभूत गरेर यो गीत लेखेको हो । यसले आम गरिब परिवारको सम्बोधन गरेको छ, त्यसैले मेरो फेवरेट गीतमध्ये यो पनि पर्छ ।
दाइने आँखा फर्फरायो
यो गीत मेरो आफ्नै घरको गीत हो । मेरो बुबा धेरै रक्सी पिउनुहुन्थ्यो । यसमा एक लाइनै छ, घरकै पिरले रोइरन्छ मेरो मन, बाउले रक्सी छोडे कि खाँदैछन् । यो गीत सुनेर बुबाले रक्सी खान कम गर्नुभएको थियो । त्यसैले यो गीतले मेरो जीवनमा प्रत्यक्ष भूमिका खेलेकोले मनपर्छ ।

अरूका पाँच
बग्दैबग्दै जाउ

यो गीत मन पर्नुको पहिलो कारण त जीवन शर्मा मेरा गुरु हुनुहुन्छ । उहाँ जहाँ, जुन ठाउँमा पुग्नुहुन्छ, त्यही ठाउँमा गीत लेखेर गाउन सक्नुहुन्छ । ‘बग्दै बग्दै जाउ’ भन्ने गीत पनि युनिक लाग्छ । यो गीतलाई जीवन शर्माबाहेक अरूले न्याय दिन पनि सक्दैन जस्तो लाग्छ । मेरो फेवरेट गीत हो यो ।
बिग्रियो चाल पनि
यो गीत सुन्दा अरूले जे जस्तो कुरा गरे पनि माया प्रेम भन्ने कुरो त्यस्तै त रहेछ नि भन्ने फिल गराउँछ । यसको हरेक शब्दको अर्थ बुझ्न सकियो भने मानिसको प्रेमलाई हेर्ने नजर नै परिवर्तन गराइदिन्छ ।
आँसु पुछ्दैछु
मलाई कुनै ठाउँमा बियोग जनराको गीतमा दोहोरी खेल्न प¥यो भने पहिलो रोजाइमा पर्ने गीत नै आँसु पुछ्दैछु भन्ने नै हो । शिव हमालको उत्कृष्ट बियोगान्त गीत जस्तो लाग्छ यो, र बियोग भन्नेबित्तिकै यही गीत क्लिक भइहाल्छ ।
म तिम्रो शहर छोडी टाढा जाँदैछु
आधुनिक गीतमा मलाई सबैभन्दा बढी मनपर्ने गीत हो यो । हुन त म प्रदीपराज पाण्डेलाई प्रत्यक्षरूपमा चिन्दिन तर उहाँको यो गीतका कारण वान साइड लभ जस्तै परेको छ ।
जाउ बाबु नभन्नु आमा
मेरो करियर सुरु गरेको गीत हो यो । मेरा गुरु भगवान् भण्डारी सानै छँदा जुन कुनै कार्यक्रममा पनि सँगै लिएर जानुहुन्थ्यो र म यो गीत गाउथेँ । जब म १०/१२ वर्षको फुच्चे मैले जाउ बाबु नभन्नु आमा भन्थेँ, गीत सुनेर बसेका आमाहरु भक्कानिएर रुन्थे ।

Leave A Comment