‘बुहारी मान्छे, इज्जतको डर छ’

सोमबार, १० बैशाख २०७५, ०१ : ०१ भोला अधिकारी
‘बुहारी मान्छे, इज्जतको डर छ’

डान्सर : मनु थापा

डान्सबारमा नाच्न थालेको कति भयो ?
त्यस्तै पाँच वर्ष जति भयो ।
यसभन्दा अगाडि के गर्नुुहुन्थ्यो ?
म गार्मेन्टमा काम गर्थेँ । बाबु जन्मिएपछि घरमै बस्न थालेकी छु ।  अर्काको घरमा लुगा धुने काम गर्थेँ । लुगा धुँदा जाडोले हो कि के भएर हो हातमा फोका आउन थाल्यो । अनि छोडेँ । मेरो लामो कथा छ ।
कस्तो कथा छ ?
मेरो श्रीमान् फिल्म डिरेक्टर हुनुहुन्थ्यो, राजेन्द्रकुमार थापा । उहाँ  चिडियाखानाबाट अलिक पर धोबीघाट भन्ने ठाउँमा बस्नुहुन्थ्यो  । म क्रिश्चियन भएपछि त्यहाँ बस्न अफ्ठ्यारो लाग्यो । बच्चा भएपछि म त्यहाँबाट माइत आएर बस्न थालेँ, मसँगै श्रीमान् पनि आउनुभयो । मेरो श्रीमान्ले धेरै रक्सी खाने गर्नुहुन्थ्यो । आर्थिक अवस्था कमजोर भएपछि मैले मेरो श्रीमान्लाई बाहिर जानु भनेर पठाएँ । उहाँ पहिलादेखि रक्सी खाने गर्नुहुन्थ्यो । रक्सीले उहाँको फोक्सोमा दाग देखियो । दाग देखिए पनि सुकेधाराको एउटा मेनपावरबाट मलेसिया जानुभयो । मलेसिया गएपछि जंगलमा काम भयो रे ! त्यहाँ काम गर्न नसकेपछि भागेर अर्कै ठाउँमा जानुभयो र गार्डको काम पाउनु भयो । त्यहाँ काम गर्दा मलाई २/३ महिनासम्म पैसा पठाइदिनु भयो । सेलरी राम्रै थियो भन्नु हुन्थ्यो । मलाई खोकी लागिरहन्छ भन्नु हुन्थ्यो । यताबाट जाने मान्छेलाई मैले औषधि पठाइदिएँ तर उता उहाँले औषधि भेट्नु भएन छ । एकजना दाइले विदेशबाट म तपाईंको श्रीमान् लिएर आउँदैछु भन्यो । होला भनेर हिँड्दै विमानस्थल पुगेँ किनभने त्यो दिन नेपाल बन्द थियो । भरे त अवस्था नाजुक भएकाले उहाँलाई प्लेनमा अक्सिजनको कमी हुन्छ र ज्यान पनि जानसक्छ भन्ने लागेपछि प्लेन चढ्न दिएनछन् अनि घर फर्किएँ ।
अहिले श्रीमानसँग कुरा हुन्छ त ?
हुँदैन । उहाँ कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? कुनै पत्तो छैन । बिरामी नै हुनुहुन्छ कि सञ्चो हुनुहुन्छ, केही थाहा छैन ।

कतै खोजखबर गर्नु भएन त ?
खोई ? कसैले भेटेँ भन्दैेनन् !
यहाँ सुरुबाटै नाच्न थाल्नु भएको हो ?
सुरुमा म वेटरको काम गर्थें । गेस्टहरु नआउँदा साहूहरुले पनि त्यस्तो केही भन्दैैनथे । त्यस्तो बेला मलाई डान्स गर्न रमाइलो लाग्थ्यो । यता उति स्टेपहरु पनि गर्थें । यहाँ नाच्न थाल्नुको मुख्य कारण चैँ आर्थिक अवस्था नै हो । एउटा छोरो छ, उसलाई पढाउनु पर्छ । आमा हुनुहुन्छ । उहाँलाई पनि हेर्नु पर्छ ।
छोरी मान्छेलाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ त ?
डान्स बारमा नराम्रा मान्छेहरु मात्रै आउँदैैनन् । राम्रा मान्छेहरु पनि आउँछन् । पानीलाई कसैले सफा देख्छ भने कोही त्यही पानी फोहोर देख्छन् । हेर्ने मान्छेमा फरक पर्छ ।
गेस्टहरुले घुम्न जाउँ भन्छन् होला नि ?
कतिपयले डान्स हेर्न रमाइलो गर्न आएका हुन्छन् । रमाइलो गरेर जान्छन् । कोही भने सेक्ससम्बन्धी कुरा गर्न खोज्छन् । डान्स बारमा काम गर्नेहरु नराम्रा हुन्छन्  भन्ने भावना बोकेका हुन्छन् ।
डान्सबारमा काम गर्दा सासु ससुराको सपोर्ट छ कि छैन ?
आइज यतै बस् भन्नु हुन्छ । मलाई नै अप्ठ्यारो लाग्छ । यतै बसेको बानी भयो ।
डान्सबारमा नआएको भए के गर्नु हुन्थ्यो ?
मेरो फिल्म खेल्ने सपना थियो । त्यही भएर मैले उहाँसँग बिहे गरेकी थिएँ । श्रीमान्ले बनाएको फिल्म त चलेन ।  मैले रेशराज आचार्यसँग एक्टिङ सिकेकी छु । सर्टिफिकेट पनि छ । मैले टेलिफिल्ममा पनि खेल्छु भनेर धेरैलाई अनुरोध गरेँ । कतिले घुम्न जानुपर्छ भन्छन् । फलाना ठाउँ जानुपर्छ भन्छन् । त्यसो भन्न थालेपछि म अभिनयबाट पछाडि हटेँ ।
सेक्सको प्रस्ताव गरे ?
अँ, त्यस्तै प्रस्ताव राखे, त्यै भएर म उनीहरुसँग गइनँ ।
फिल्म नखेल्ने त अब ?
मलाई त्यसरी घुम्न गएर फिल्म खेल्नु छैन ।
चलेका नेताहरु कतिका आउँछन् यताहुँदी ?
खोई ? चलेकै हुँ भन्छन् । चलेका हुन् कि नचलेका हुन्, मलाई के थाहा !
कस्ता खालका गीत रोज्छन् ?
नेपाली, हिन्दी ।
गायक गायिकाहरु पनि आउलान् है ?
आउँछन् ।
घुम्न जाने अफर गर्छन् भन्ने सुनिएको छ नि ?
कुनै कुनै गायकहरुले गर्छन् । सबै त को गायकहरु हो भनेर त चिन्दिन । गायक यम बराल आउनुहुन्थ्यो । मैले उहाँलाई तपाई गाउनुहुन्छ, मलाई मोडल बनाउनुस् न भनेको त उहाँले घुम्न जाउँ भन्न थाल्नु भयो । किन भन्नु भयो मलाई थाहा छैन ।
डान्सबारमा काम गर्दाको नराम्रो पक्ष के होला ?
गेस्टहरुले पैसा लोभ देखाउँछन् अनि सेक्सका कुराहरु गर्छन् । यो नराम्रो पक्ष हो ।
तपाईं लोभिनु भएको छ कि छैन ?
छैन । डान्स गर्दा टिप्स दिए भने लिन्छु बाहिरतिर त जान्नँ । बुहारी मान्छे  इज्जतको पनि त डर हुन्छ !

Leave A Comment