चिठ्ठाको लोभले डुबायो: सहयोगी फन्दामा, नाइकेको पत्तो छैन

आइतबार, ०९ बैशाख २०७५, ०१ : २४ गिरिराज बाँस्कोटा
चिठ्ठाको लोभले डुबायो: सहयोगी फन्दामा, नाइकेको पत्तो छैन

भाइबर तथा इमोमा चिठ्ठा पर्यो भन्दै धेरैका मोबाइलमा फोन तथा म्यासेज आएका छन् । पहिला केही जिल्लामा देखिएको यस्तो ठगीको क्रम अधिकांश जिल्लामा पुगेको छ ।
ठगीकर्ताले लोभीमनलाई हतियार बनाउने गरेको देखिन्छ । उनीहरुले विभिन्न कम्पनी, सेलिब्रेटीका फाउन्डेसन लगायतको हवाला दिँदै २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै म्यासेज र कल गर्ने गरेका छन् । 
चिठ्ठाको आशमा कुरा बढाउँदै जाँदा फोनकर्ताले करबापतको पैसा जम्मा गर्न भन्दै प्रस्ताव राख्ने गरेका छन् । ठूलै रकम पाउने लोभमा जसले कर बापतको पैसा जम्मा गर्छ, उसले न उपहार पाउँछ न त करबापत जम्मा गरेको पैसा नै आउँछ । 
यसरी नै ठगिइन् पाँचथरको याङवरक गाउँपालिकाकी एक युवती  । हिन्दी भाषामा पटक–पटक इमोमा भएको कुराकानीका आधारमा उनले सप्तरीको महेश मण्डलका नाममा तीस हजार रुपैयाँ पठाएकी थिइन् । 
फेरि पैसा मागेपछि ठगिएको शंका लागेर उनी प्रहरीकहाँ पुगिन् । प्रहरीले मण्डललाई पक्रेर फिदिम ल्यायो । कतारमा रहेको काकाले पैसा झिकिदिनु भनेर अह्राएको मण्डलले बयान दिएको डिएसपी बामदेव गौतमले बताए । मण्डललाई ठगीको मुद्दा चलाइएको छ तर उनी सहयोगी मात्र हुन् । 
भारत लगायतका विभिन्न देशमा रहेकाहरुले ठगीको जालो फैलाएको प्रहरीको बुझाइ छ । देशका विभिन्न ठाउँमा चिठ्ठाको लोभमा ठगिनेको संख्या उल्लेख्य बढेको छ । चिठ्ठा परेको भन्दै इमो तथा भाइबरमा फोन आउने गरेका छन् ।
प्रहरी देशका विभिन्न ठाउँबाट ठगीमा संलग्नलाई पक्राउ गरेकाले नेपालमा उनीहरुको फैलिएको जालो सहजै अनुमान लगाउन सकिन्छ ।
दुई हप्ताअघि झापाकी एक महिलाले फोन गर्ने व्यक्तिलाई पैसा पठाउन लाग्दा शंका भयो । प्रहरीले ठगी भन्दै महिलालाई पैसा पठाउन रोक्यो । 
फोन आएको नम्बरमा कल गरेर विश्वास नलागेको भन्दा अरबी भाषामा लेखिएको परिचयपत्र पठाइदिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 
‘अलि अलि कमिसन दिएर तथा कागजात प्रयोग गर्नका लागि नेपालीलाई सहयोगी बनाइएको देखिन्छ । मुख्य अभियुक्त विदेशतिर हुन सक्छन्,’ कोइरालाले भने ।
उदयपुरका रामदेव चौधरीलाई पैसा पठाउन लगाएर ठगी गरेको भन्दै प्रहरीसमक्ष उजुरी आएको थियो । उजुरीका आधारमा नवलपरासीमा १९ वर्षीय नन्दन विन पक्राउ परेको इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए । 
उनका अनुसार पक्राउ परेका एजेन्ट रहेको प्रारम्भिक रूपमा खुल्न आएको छ । ४१ हजार रुपैयाँ पठाइदिएका थिए । पक्राउ परेका व्यक्तिले चार जनालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको श्रेष्ठले बताए । 
कतिपयले चिठ्ठा परेको खबरलाई वास्ता गरेको देखिँदैन । सामाजिक सञ्जालमा पनि ठगी हुन सक्ने भन्दै सामग्रीहरु पोस्ट भए पनि ठगिने क्रम जारी छ । 
ललितपुरमा पाँच लाखसम्म ठगी भएको उजुरी आएको  डिएसपी नकुल पोखरेलले बताए । ललितपुरमा चार वटा उजुरी आएको उनको भनाइ छ । 
ठूलै समूह ठगीमा सक्रिय भएको हुन सक्ने उनको भनाइ छ । नेपालमा पक्राउ पर्ने एजेन्ट मात्र हुने गरेको उनले बताए । मुख्य अभियुक्तको खोजी प्रहरीलाई टाउको दुखाइ बन्दै गएको छ । 
अहिले प्रहरीले पैसा झिक्नेको ठेगाना, सिसिटिभी फुटेज र आकस्मिक रुपमा आउने सूचनाको आधारमा ठगीका सहयोगीलाई पक्राउ गरिरहेको छ । 
उजुरीपछि आछाम घर भई काठमाडौं बस्ने वसन्त कठायत र राजेन्द्रबहादुर कठायतलाई प्रहरीले पक्राउ गरी ठगीको मुद्दा चलायो । यिनीहरु मुख्य अभियुक्त भने हैनन् । 
यिनीहरुको नाममा महिलाले पैसा पठाएकी थिइन् । यस प्रकारका चार जनाको उजुरी आएको प्रहरी इन्स्पेक्टर विजय श्रेष्ठले बताए । 

यसरी हुन्छ ठगी
इमो तथा भाइबरमा चिठ्ठा पर्यो भन्दै कल तथा म्यासेज आउँछ । बढी हिन्दी भाषाको प्रयोग हुने गरेको छ । फोनकर्ताले २५ लाख सम्म चिठ्ठा परेको भन्दै बधाई दिने गरेका छन् ।
मख्ख पर्दै उनीहरुसँग चिठ्ठाको पैसाको आसमा परेपछि ठगीको खेल सुरु हुन्छ । ठगहरुले विभिन्न बहाना बनाउने गरेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । 
विश्वासका लागि टिभी स्क्रोल देखाउने, चिठ्ठा परेको भन्दै विभिन्न डकुमेन्ट देखाउने, अरूलाई चिठ्ठाको पैसा दिएको तस्बिर देखाउने गरेको पाइएको मोरङको रंगेलीका प्रहरी इन्स्पेक्टर सञ्जीव बाबु खड्काले बताए ।
निक्कै दिमाग लगाएर ठगीको काम भइरहेको उनको भनाइ छ । पैसा झिक्न भने नेपालकै मान्छे खटाइएको छ । एक जिल्लाकोलाई ठग्न अर्को जिल्लाकोमा पैसा पठाउन लगाइएको पाइएको उनले बताए । 
देशैभरि ठगीको जालो
यस्ता घटना विभिन्न ठाउँमा छन् । प्रहरीले यसरी पक्राउ परेकाहरुलाई ठगीमा मुद्दा चलाइएको छ । प्रदेश १ मा २५ जनाविरुद्ध यस प्रकारको ठगीविरुद्ध मुद्दा चलाइएको छ ।
पाँचथर, ताप्लेजुङ, उदयपुर, सुनसरी, धनुषा, कास्की, नवलपरासी, ललितपुर, बारा, चितवन, रूपन्देहीलगायतका जिल्लामा चिठ्ठाका नाममा ठगी भएको मुद्दा चलेको छ । 
प्रविधिको दुरुपयोग गरी यस प्रकारका ठगी भएको नेपाल प्रहरी प्रवक्ता मनोज न्यौपाने बताउँछन् । सर्वसाधारणले यस्ता कुरामा सचेतता अपनाउनुपर्ने उनको भनाइ छ । यस प्रकारको ठगीमा समूह नै सक्रिय रहेको आँकलन भएको न्यौपानेले बताए । 

Leave A Comment